८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा, कांग्रेस र नेमकिपा मुख्य प्रतिस्पर्धी

भक्तपुर – एक महिनापछि मंसिर १४ गते हुने उपनिर्वाचनसँंगै भक्तपुर पनि तातेको छ। उपनिर्वाचनका क्रममा भक्तपुर क्षेत्र नं १ प्रदेश क (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा पनि निर्वाचन हुने भएपछि पूरै जिल्ला नै तातेको हो।

जिल्लास्तरीय नेताहरू तिहारअघि नै तिहारले भन्दा पनि उपनिर्वाचनले तातेका थिए। निर्वाचनको मिति नजिकिएसँंगै सर्वसाधारण पनि कुन पार्टीबाट कोको उम्मेदबार बन्ला र कसले बाजी मार्ला भन्ने गफमा व्यस्त हुन थालेका छन्। निर्वाचन नजिकिएसँंगै धेरै सर्वसाधारणको चासो पनि यसैमा केन्द्रित हुन थालेको छ।

अगाडिको निर्वाचनमा जस्तै यस क्षेत्रमा तीनवटा राजनीतिक दलबीच नै कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। सतारूढ दल नेकपा, नेपाली कांंग्रेस र भक्तपुरमा पकड जमाउँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बीच नै कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। तर पनि यी तीनै दलले यसपटकको निर्वाचनको परिणाम आ–आफनो पक्षमा आउने दाबी गर्न थालेका छन्।

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा सत्तारूढ नेकपाका उम्मेदवार हरिशरण लामिछाने निवार्चित भएका थिए। लामिछानेले १२ हजार सात सय ८९ मत ल्याएर विजयी हात पार्दा कांग्रेसका उम्मेदवार जीवन खत्रीले नौ हजार नौसय ७७ मतका साथ निकटम प्रतिस्पर्धी भएका थिए। निर्वाचनमा नेमकिपाका निरज लवजूले सात हजार ११ मत पाएर तेश्रो स्थान सुरक्षित गरेका थिए। उक्त निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका देवीप्रसाद ढकालले सात सय ८४, विवेकशीलका कालीचरण कार्कीले सात सय ८३, राप्रपाका मुकुन्द कार्कीले चार सय ८५ र नयाँ शक्तिका सानुप्रसाद बनले ७८ मत पाएका थिए।

उक्त निर्वाचनमा विजयी हासिल गरेका लामिछानेको हृदयघातका कारण मृत्यु भएपछि अहिले यो स्थानमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको लागि कार्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन तोकिएको छ। उपनिर्वाचन नजिकिएसँंगै नेकपा र नेपाली कांग्रेसबाट उम्मेदबारी दाबी गर्ने उम्मेदवारको लर्काे नै देखिएको छ। अझ विशेष गरी अगाडि यो स्थानबाट विजयी हासिल गरेको नेकपाबाट उपनिर्वाचनमा उम्मेदवार हुन चाहनेको संख्या अत्याधिक रूपमा देखिएका छन्। नेकपाबाट १६ जना र कांंग्रेसबाट १० जना आकांक्षी देखिएका छन्। नेमकिपाले भने अन्तिम समयमा आएर विपक्षी पार्टीका उम्मेदवार हेरेर मात्रै आफनो उम्मेदबारी सार्वजनिक गर्ने गर्दै आएको छ।

नेकपाबाट स्व. हरिशरणकी श्रीमती निर्मलासँगै मोहनवीर श्रेष्ठ, डीपी ढकाल, रमेश बुढाथोकी, शम्भु दाहाल, दामोदर दंगाल, रामबहादुर श्रेष्ठ, रवि खड्का, ईश्वर खड्का, राष्ट्रशमशेर थापा, सावित्री थापा, सुचित्रा श्रेष्ठ, राजु अधिकारी, राजु सुवेदी, कृष्णराम गेलाल र रामभक्त खत्रीले टिकटका लागि दाबी गरेका छन्। कांग्रेसबाट पनि कृष्णलाल भँडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, विनोदप्रकाश कायस्थ, रूपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोजकुमार थापा, हरिप्रसाद नेपाल र सुभद्रा काफ्ले उम्मेदवारका दाबेदार रहेका छन्। कांग्रेस जिल्ला कार्यसमितिले यी दस नै जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ भने नेकपाले उम्मेदवारको दाबी गर्नेहरू अत्याधिक रहेकाले सबै नाम केन्द्रमा नपठाई यसलाई फेरि छलफल गरी तीनजनामा सिमित गरी मात्रै केन्द्रमा पठाउने जनाएको छ। यसका लागि जिल्ला कमिटीको बैठक बसेर सहमतिमा तीनजनाको मात्रै नाम सिफारिस गरेर पठाउने बताइएको छ।

नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले टिकटको लागि धेरै आकांक्षी देखिएकाले पार्टीले निर्णय गरिनसकेको जानकारी दिए। उम्मेदवारका दाबेदार धेरै अघि सरेपछि देउजासहित चारजना जिल्ला नेतालाई तीनजनाको नाम सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। यसमा अध्यक्ष देउजासहित जिल्ला इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य दिलीप प्रजापति, जिल्ला सहइन्चार्ज एवं चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्र र पार्टी जिल्ला सचिव डीपी ढकाल रहेका छन्।

पहिले नेकपाले जितेको र अहिले नेकपा सत्तामा पनि भएकाले पुनः जित्ने सम्भावनाले उम्मेदवारी दाबी गर्नेको संख्या बढेको बताइन्छ। त्यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत नेकपाकै उम्मेदवारी जितेका छन्। यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांंग्रेस र नेपाल मजदुर किसान पार्टीले केही वडामा वडाध्यक्ष जितेका थिए।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App