coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले आइतबार उम्मेदवार छान्ने

काठमाडौं – नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारको टुंगो आइतबार मात्र लगाउने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार पार्टी पदाधिकारीको बैठकले आइतबार मात्र उम्मेदवारको टुंगो लगाउने समझदारी गरेको हो।

पार्टी उम्मेदवार टुंगो लगाउने म्यान्डेटका लागि शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको कांग्रेसले आइतबार पदाधिकारी बैठक बसेर नाम तय गर्ने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। ‘शुक्रबारको बैठकबाट पदाधिकारीले उम्मेदवार टुंगो लगाउने म्यान्डेट लिनेछौं,’ महतले भने, ‘त्यसपछि आइतबार नेताहरूको बैठक बसेर उम्मेदवार टुंगो लगाउनेछौं।’

सभापति निवासमा बिहीबारको बैठकमा उपनिर्वाचन हुने ठाउँमा पार्टीको अहिलेको अवस्थाका विषयमा छलफल भएको थियो। पार्टीले राष्ट्रिय जागरण अभियानका क्रममा खटिएका केन्द्रीय प्रतिनिधिसँग नेताहरूले चुनाव हुने स्थानको जानकारी लिएका थिए। सभापति देउवा उपत्यकाबाहिर कार्यक्रममा जाने भएकाले आइतबार मात्र पदाधिकारी बैठक बस्ने नेताहरूबीच सहमति भएको छ। समझदारी नहुँदा पुनः विवाद हुनसक्ने भन्दै बिहीबार पदाधिकारीबीच छलफल भएको थियो।

तिहारअघि नै उम्मेदवार तय गर्न कात्तिक ७ गते केन्द्रीय समिति बोलाए पनि सभापति देउवा र असन्तुष्ट पक्ष विभागको संख्या बढाउने विषयमा विवाद हुँदा बैठक कात्तिक १४ गते बस्नेगरी स्थगित गरिएको थियो। सभापति देउवाले केन्द्रीय समितिबाट पार्टीका विभाग थप गर्ने तयारी गरेपछि असन्तुष्ट पक्षले आपत्ति जनाउँदै बैठक बहिस्कार गर्ने बताएका थिए। कांग्रेसको संशोधित विधानले २८ विभागको व्यवस्था गरेपनि सभापति देउवाले पुरानै व्यवस्थाअनुसार ४२ विभाग बनाउने पक्षमा उभिएका थिए भने असन्तुष्ट पक्ष त्यसविरुद्धमा उभिएपछि विवाद भएको थियो।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App