७ वैशाख २०८१ शुक्रबार
समाज

जुवाखालबाट तीन करोड ५१ लाख बरामद

काठमाडौं – तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल भएको हो।

प्रहरीका अनुसार काठमाडौंबाट रकम ३ करोड ३० लाख १२ हजार, भक्तपुरबाट ३८ रकम ९ लाख ९७ हजार र ११ लाख ३० हजार रूपैयाँसहित ६ सय जनालाई पक्राउ गरिएको छ। मोटो रकमसहित जुवातास खेल्नेमाथि मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। उनका अनुसार धेरैजसो ठाउँमा प्रहरी नै पुगेर रंगेहात प्रक्राउ गरेको थियो। ‘चाडबाडको बेला लुकीछिपी तास खेल्नेको संख्या बढेकोले विकृति जगाउने माध्यम नै ‘जुवातास’ बनेको प्रहरीको आकलन छ। रमझमलाई सभ्य र सुसंस्कृत बनाउने तयारीसँगै सुरक्षा व्यवस्थामा कडाई गरे तापनि यो वर्ष जुवातास खेल्नेको संख्या बढेको ज्ञवालीले बताए।

‘दसैं तिहारमा जुवातासजस्ता नकारात्मक गतिविधि बढ्न थालेका छन्, यसले समाजलाई राम्रो गर्दैन, त्यसकारण यस्ता गतिविधिमा संलग्नमाथि कानुन अनुसार कारबाही हुन्छ, यसपटक तिहारमा पटका कम पड्किए पनि जुवाखालबाट धेरै व्यक्ति पक्राउ परे,’ उनले भने। उनका अनुसार काठमाडौंबाट २ सय २३ जना, भक्तपुरबाट ३८ जना र ललितपुरबाट ३ सय हाराहारी व्यक्ति पक्राउ परेका छन्। उनीहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट कानुनी कारबाही प्रक्रिया अघि बढेको छ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईका अनुसार विभिन्न ठाउँमा भएका जुवाखालबाट बरामद गरिएको रकम राजस्वको रूपमा संकलन हुन्छ। जुवाखालमा संलग्न धेरैजसो व्यक्तिमाथि मुद्दा चलेको र केहीलाई म्याद थप्ने तयारी भएको उनको भनाई छ। ‘९ बजेपछि पटका र अन्य गतिविधि बन्द गर्नुपर्ने भए पनि त्यसको परिपालना भएन,’ उनले भने, ‘त्यसकारण धेरैमाथि कारबाही भयो, अझै पनि निगरानी बढाएका छौं।’

उनका अनुसार यस वर्ष नाचगान, पटका पड्काएर र जुवातास खेलेर छिमेकीलाई असर पारेको भन्दै प्रहरीमा ३ सयभन्दा बढी उजुरी परेका छन्। उजुरीका आधारमा केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ।

ललितपुरमा ‘बाह्रैमास’ जुवाखाल
दसैं तिहारको बीचमा ललितपुरका विभिन्न स्थानबाट मोटो रकमसहित सय जनाभन्दा बढी व्यक्तिलाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको छ। अरुबेला लुकिछिपी जुवा खेल्दै आएका युवा चाडबाडमा पक्राउ परेको प्रहरीको भनाई छ। असोज १७ गते ललितपुरबाट समातिएका ११ जना जुवाडे असोज १८ गते साधारण तारेखमा छाडेको थियो। मुद्दाको अन्तिम किनारा नलाग्दै राजनीतिक दलका नेताको दबाबमा जुवाडेलाई प्रहरीले छोडेको थियो। कात्तिक ११ गते महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाको नेतृत्वको टोलीले ठेचोस्थित एक घरबाट बेलुका ४ जना जुवाडेलाई नगदसहित नियन्त्रणमा लियो। ललितपुरलाई ‘इजी–जोन’ को रूपमा तास खेल्न प्रयोग गर्न थालेको प्रहरीको भनाई छ। भित्री बस्तीमा लुकीछिपी जुवातास खेल्नेको संख्या धेरै भेटियो,’ महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले भने, ‘हामीले विशेष सुराकीको आधारमा ‘बाह्रमासे’ जुवाडेलाई पक्राउ गरेका छौं, उनीहरूमाथि कानुनी कारबाही अघि बढेको छ।’ उनका अनुसार चाडबाडको बेलामा सुरक्षित ठाउँ खोजेर जुवातास खेल्ने परम्परा बढेको छ। यसैलाई आधार मानेर भित्री बस्तीमा प्रहरीले अनुगमनसमेत थालेको छ। ललितपुरमा एक महिनामा मात्रै एक सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।

मिश्रका अनुसार बागडोलमा एक घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५६ हजारसहित असोज २० गते प्रहरीले पक्राउ गरियो। बागडोल बस्ने वर्ष ४५ को अमृत बस्नेत, वर्ष ४३ को बच्चुराम बस्नेत, वर्ष ४४ को ईश्वर बस्नेत, वर्ष २९ को भाइकृष्ण बस्नेत र वर्ष २२ को साजन बस्नेत असोज २३ गते जनही १५/१५ हजार धरौटी छुटेका छन्।

झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेस्टुरेन्टमा ११ जनालाई जुवातास खेलिरहेको अवस्थामा २ लाख ६५ हजार रूपैयाँसहित असोज १७ गते बिहान प्रहरीले पक्राउ ग-यो। पक्राउ पर्नेमा विष्णु तिमल्सिना, कुमार लामा, मिनराज पहरी, भिक्टर केसी, लबराज लिम्बु, अच्युत महर्जन, राजेश महर्जन, विजय सिलावाल, विनोद गिरी, बिर्जु जोशी र कुमार सिलवाल छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले जुवाडेलाई ७ दिनको म्याद थपि आवश्यक अनुसन्धान गर्न आदेश दिए पनि राजनीतिक दलका नेताको दबाबमा साधारण तारिखमा छाडिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गैरकानुनी र अनैतिक काम गर्नेलाई राजनीतिक आड भएका कारण यस्ता क्रियाकलाप बढेको बताए। उनका अनुसार नख्खुस्थित प्याराडाईज ड्राईभिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई नगद ५९ हजार ९ सय ७५ रुपैयाँसहित असोज ८ गते पक्राउ गरिएको थियो। गोदावरी नगरपालिका–९ छम्पीस्थित एक खाली टहरामा ९ जनालाई पनि पक्राउ गरिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको भुसालको भनाई छ। ‘ललितपुरको दक्षिणी साइटमा बढी जुवाखाल भेटिएको छ,’ उनले भने, ‘धापाखेलमा पनि डाउनटाउन अपार्टमेन्टबाट ८ लाख रकमसहित ८ जना पक्राउ परेका छन्। उनीहरूमाथि हामीले कानुनी कारबाही थालेका छौं।’

महानगरीय प्रहरी वृत्त चापागाउँका अनुसार दसैं तिहारको बीचमा जुवातास खेल्नेको संख्या बढेको छ। मोटो रकमसहित विभिन्न स्थानबाट १५ जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। दसैं तिहारको बीचमा १५ लाखभन्दा बढी रकमसहित जुवाखालबाट व्यक्ति पक्राउ परेको वृत्तका प्रमुख रामकृष्ण सापकोटाले जानकारी दिए। उनका अनुसार रिसोर्ट, होटल, चिया पसल, अपाटमेन्टलगायत ठाउँलाई जुवा खेल्नको लागि प्रयोग भएको भेटिएको छ। ‘ललितपुरमा भिआइपीसहितको टोली त्यसरी जुवाखालबाट पक्राउ परेका छन्, हामीले कडाईका साथ निगरानी बढाएका कारण धेरै ठाउँबाट जुवा खेल्ने व्यक्तिलाई समातेका छौं,’ उनले भने। उनका अनुसार प्रहरी प्रभाग लेलेका प्रमुख प्रहरी नायब निरीक्षक (सई) देवानन्दन यादवले जुवातास खेल्नेमाथि संरक्षण गरेकोले यादवलाई कारबाही समेत गरिएको छ। उनी अहिले परिसर तानिएका छन्।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App