coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आम्दानीको अवसर बन्दै छठ

आफ्ना छोराका साथ बाँसबाट विभिन्न सामग्री बनाउन व्यस्त सप्तरीको तिलाठी कोइलाडी–७ मंसापुरकी फुलोदेवी मरिक। तस्बिर : जितेन्द्रकुमार/नागरिक

राजविराज – सप्तरीको तिलाठी कोइलाडी–२ लौनियाँका राजकुमार मरिक (डोम) को परिवारलाई अचेल भ्याइनभ्याइ छ। ६ जनाको परिवार पछिल्लो एक महिनादेखि दिनरात काममा जुटिरहँदा पनि मागबमोजिम सामग्री तयार गर्न नसकेको उनी बताउँछन्। ‘छठ पर्वका लागि ठूलो संख्यामा नाङ्लो, ढकिया, कोनियालगायत सामग्रीको माग छ,’ बिहीबार बिहान आफ्नो घरअगाडि काम गर्दै गर्दा भेटिएका उनले भने, ‘शुक्रबार साँझसम्म जसरी भए पनि सबै ग्राहकलाई चाहिएजति सामग्री पु-याउनुपर्ने हुन्छ।’

तिलाठी, बेल्ही, लौनियाँ, सरकारपुरलगायत नजिकका बस्तीहरूमा आफ्ना एक सयजति ग्राहकलाई अझै बाँसका सामान उपलब्ध गराउन बाँकी रहेको राजकुमारसँगै काम गरिरहेकी उनकी आमा मंगली मरिकले सुनाइन्। ‘बिहान २ बजेदेखि नै काम थाल्छौं,’ उनले भनिन्, ‘छोरा, बुहारी, नाति, नातिनी सबै मिलेर काम गरिरहेका छौं। बिहीबार रातभर जागेर भए पनि सबै समान बनाउनुपर्ने हुन्छ।’ आठ दिनअघि गाउँकै एक किसानबाट २५ वटा बाँस किनेर ल्याएको उनले बताइन्। राजकुमार मात्रै नभई यस क्षेत्रमा बसोबास गर्ने प्रायः डोमको अचेल व्यस्तता बढेको छ। छठ पर्वका लागि बाँसका सामग्रीको माग बढेकै कारण उनीहरूलाई भ्याइनभ्याइ भएको हो।

तिलाठी कोइलाडी–७ मंसापुरका असर्फी मरिक छठका बेला आफूहरूको रोजगार बेसरी चल्ने गरेको बताउँछन्। ‘यतिबेला त हाम्रो निकै चल्ती हुन्छ,’ उनले भने, ‘हाम्रो रोजगार बाह्रै महिना चल्दैन, मुख्य सिजनचाहिँ छठ पर्व नै हो।’ यतिबेला प्रत्येक डोम परिवारले पाँचदेखि २५ हजार रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ। एउटा कोनियाँ डेढ सयदेखि दुई सय रुपैयाँसम्ममा बिक्ने गर्छ भने ढकियाका लागि हाल दुई सय ५० देखि चार सयसम्म तिर्नुपर्ने अवस्था रहेको स्थानीय अरुणकुमार मण्डल बताउँछन्। त्यस्तै नाङ्लोको मूल्य हाल दुई सयदेखि चार सय रुपैयाँसम्म रहेको छ।

हुनेखानेका लागि रमाइलो मात्रै होइन, अति विपन्न तथा पिछडिएकाका लागि रोजगारसमेत लिएर आउने गरेको हुँदा छठको महŒव अझै बढेको मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डल बताउँछन्। यो पर्व अति पिछडिएका डोम, चमारलगायत जाति हुन् वा कुमाले, मालीजस्ता विपन्न सबैका लागि रोजगार र आम्दानी गर्ने बाटो बनेको उनको भनाइ छ। डोमजस्तै कुमालेका लागि पनि छठ ठूलो व्यापारिक अवसर हो। सप्तरीको हनुमाननगरका ४५ वर्षीय रामचन्द्र पण्डितले भने, ‘खेतबाट माटो ल्याउने, माटाका कच्चा भाँडाहरू आगोमा पकाउने र भाँडो पूर्ण रूपमा तयार भएपछि त्यसलाई बजार ल्याएर बेच्ने, पछिल्लो महिना दिनयता हाम्रा लागि नियमित दिनचर्या नै यही हो।’

कुमालेले बनाउने हात्ती, घैला, दीपलगायत सामग्रीबिना छठ पूजा सम्भव हुँदैन। हाल बजारमा सयदेखि दुई सय ५० रुपैयाँसम्म घैला, हात्तीलगायत सामग्री बिक्री हुने गरेको अर्का युवा कुमाले रामचन्द्र पण्डितले जानकारी गराए। तर वर्षको एक सिजन मात्रै कमाइ हुने गरेका कारण आफूहरूको पेसा नै संकटमा परेको उनको गुनासो छ। रोजगार, आम्दानी र हर्षोल्लासका निम्ति मात्रै नभई तराई क्षेत्रमा बसोबास गर्ने मैथिल मधेसी समुदायमा कथित छुवाछूत प्रथा कायमै रहेका बेला छठ पर्वले सामाजिक सद्भाव र जातीय विविधताको सन्देशसमेत प्रवाह गर्ने गरेको राजविराजस्थित वैष्णवी काली मन्दिरका मूल पुजारी पण्डित राजीव झा बताउँछन्।

डोमले बनाएको बाँसका सामग्री, कुमालेले बनाउने माटोका सामानहरू, चमारले बजाउने बाजा, मालीले ल्याएको फूल तथा विभिन्न सामग्रीको अपरिहार्यतालाई छठ पर्वले दिने सामाजिक सद्भाव तथा जातीय विविधताको सन्देशका रूपमा ग्रहण गर्न सकिए यसबाट पक्कै पनि कथित जातीय विभेद र छुवाछूत अन्त्य गर्न सकिने पण्डित झाको भनाइ छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App