७ वैशाख २०८१ शुक्रबार
समाज

काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव

काठमाडौं- काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ। अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए।

छानाका लागि काठको समस्या भएको र त्यसका लागि १२ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा व्यवस्था गरिदिन सरकारसँग माग गरिएको छ।  निर्माणअन्तर्गत अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ। 'अहिले मुख्य चार वटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ', समितिका अध्यक्ष शाक्यले भने। अब समयमा नै काठको व्यवस्था भए यसअघिको भन्दा तीव्ररुपमा काम हुने जनाइएको छ। निर्माणका लागि अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेका छन्।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो। गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत रूपमा यस सम्पदाको पुनःनिर्माण सुरु भएको हो। तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ।  

गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो। प्रयोग गरिएका चार थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ।

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ।

चार वर्षभित्र निर्माण कार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ। नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ। थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ। रासस

प्रकाशित: १४ कार्तिक २०७६ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App