१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोकली झरना महोत्सव हुने

फाइल फोटो

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्रधन गर्ने उद्देश्यले ओखलढु्ङ्गाको पर्यटकीय क्षेत्र पोकली झरना परिसरमा ‘पोकली झरना महोत्सव’ हुने भएको छ।

पोकली झरनाको प्रवर्द्रधन गरी आन्तरिक तथा विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसाथ पोकली झरनासेवा समाजले यही कात्तिक १६ र १७ गते महोत्सव आयोजना गर्न लागेको हो। 

झरनाको सौन्दर्य र महत्वलाई विश्वस्तरमा चिनाउन तथा पर्यटन वर्षलाई केन्द्रित गरी प्रभावकारी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यसाथ महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

भ्रमण वर्षका दौरानमा सो झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसाथ महोत्सव गर्न लागिएको समाजका अध्यक्ष मिलन विष्टले बताए। 

सरकारले पोकली झरनालाई एक सय गन्तव्यको सूचीमा राखेर प्रवद्र्धन गरिरहेको छ। सङ्घीय सरकारले २५ लाख रुपैयाँ, प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र गाउँपालिकाबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद यज्ञराज सुनुवारले पनि आफ्नो सांसद विकास कोषमार्फत  ५० लाख विनियोजन गरेका छन्।उल्लेखित बजेट पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गर्नेगरी पोकलीको विस्तुत गुरुयोजना तयार हुदैँ गरेको जनाइएको छ।

वृत्तचित्र निर्माण, ‘फन पार्क’, झरना आसपासमा सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ वटा घरबास कार्यक्रम ‘होमस्टे’ बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन भइरहेको समाजका महासचिव शम्भु बरालले जानकारी दिए। 

रानीवनको काखमा रहेको पोकली झरनाको संरक्षणका लागि झरनाको शिर माथितिर सिरानमा एक हजार करोड लिटर क्षमताको ‘ड्याम’ निर्माण गर्ने योजना रहेको समाजले जनाएको छ। बर्खामा प्रशस्त पानी भए पनि हिउँदको समयमा पोकली झरनाको पानी कम हुदाँ सौन्दर्य घट्न नदिनका लागि पानी सञ्चित गर्न लागिएको हो।

समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइको सो झरना १३० मिटर उचाइको छ। कर्णाली प्रदेशको कालिकोटस्थित १४८ मिटर उचाइको पचल झरना नेपालको पहिलो उचाइको र पोकली दोस्रो झरना मानिन्छ। 

राजधानी काठमाडौँबाट १८३ किलोमिटर दुरीमा रहेको पोकली झरनासम्म यातायातको पहुँच छ। काठमाडाँैबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुदैँ झरनास्थल पुग्न सकिन्छ। त्यहाँ बसोवासका लागि होमस्टेको पनि व्यवस्था रहेको बताइन्छ। 

महोत्सवका अवसरमा राष्ट्रियदेखि स्थानीय कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। शेर्पा, तामाङ, गुरुङ, सुनुवार,मगरलगायत समुदायको स्थानीय झाँकी प्रदर्शन गरिनेछ। रासस

प्रकाशित: १४ कार्तिक २०७६ १०:०३ बिहीबार

पोकली महोत्सव