८ वैशाख २०८१ शनिबार
समाज

सीसी क्यामेराको निगरानीमा शुक्लागण्डकीका बजार

सीसी क्यामेरा कन्ट्रोल रुममा बसेका प्रहरी। विनोद/नागरिक

दुलेगौँडा– शुक्लागण्डकी नगरपालिकाको बजार र राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ। करिब २१ लाख रुपैयाँ खर्चिएर यहाँका १९  स्थानमा क्यामेरा जडान गरिएको सुचना प्रविधी शाखा प्रमुख त्रिचोलन लम्सालले जानकारी दिए। 

शुक्लागण्डकीमा पर्ने पृथ्वीराजमार्गको कोत्रेदेखी शेराटारसम्मका सडक तथा बजार क्षेत्रका विभिन्न स्थानहरुमा क्यामेरा जडान गरी निगरानी थालिएको उनले बताए। नगरपालिकाले उद्योग वाणिज्य संघ दुलेगौँडा र खैरेनीटार बजार इकाइसँग समन्वय गरेर १० स्थानमा क्यामेरा जडान गरेको छ।

शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी लगायतका स्थानमा क्यामेरा राखिएको लम्सालले बताए।  उनका अनुसार १२ लाख ६० हजार रुपैयाँमा उच्चस्तरिय क्यामेरा जडान गरिएको हो।

नगरपालिकाको वडा नम्बर ८ ले तीन स्थानमा दुई लाख रुपैयाँ खर्चिएर क्यामेरा जडान गरेको छ।  सहरोन्मुख वडाको वडा कार्यालय, गणेश टोल तथा हिमालीटोलको बिच भागमा र  संवेदनशिल स्थान सेती नदीको पुलमा क्यामेरा जडान छ। 

यहाँको प्रमुख व्यापारीक केन्द्र दुलेगौँडा बजार पर्ने वडा नम्बर ४ का वन्केवाचोक, हेल्थपोष्टचोक र भित्री बजारमा तीन वटा क्यामेरा जडान गरेको वडाअध्यक्ष शिव कुमार श्रेष्ठले बताए। क्यामेरा जडानमा वडाले एक लाख २५ हजार रुपैयाँ लगानी गरेको उनले जानकारी दिए। यस्तै सुर्य नेपाल प्रालीले इलाका प्रहरी कार्यलय परिसरमा तीन वटा क्यामेरा राखिदिएको छ। 


राजमार्गमा हुने सडक दुर्घटना न्युनिकरण र अपराधिक क्रियाकलाप निरुत्साहित गर्न सीसी क्यामेरा जडान गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । लम्साल भन्छन्, ‘शान्ति सुरक्षामा क्यामेरा प्रभावकारी देखिएको छ, अन्य स्थानमा क्यामेरा थपिदैछ।’ क्यामेराको मर्मत सम्भारमा चुनौती रहेको उनले जनाए।

क्यामराको कन्ट्रोल इलाका प्रहरी कार्यालय बेलचौताराले गरेको छ। प्रहरीले २४ घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशिल क्षेत्रको निगरानी गरेको छ। 

क्यामेरा जडानपछि सडक दुर्घटनामा कमी आएको इलाका प्रहरी कार्यालय  बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज गिरीले बताए। क्यामेराका कारण दुलेगौँडाको एक सुन पसलबाट चोरी भएको गहना फिर्ता गराउन सफल भएको उनले सुनाए।

पटप चोरी गर्ने व्यक्तिलाई समेत प्रकाउ गरिएको छ। ‘बजारमा सीसी क्यामेरा राखेपछि आपराधिक गतिविधिमा उल्लेख्य कमी आएको छ’ उनी भन्छन्, ‘कन्ट्रोल रुमबाट हामीले निगरानी गरिरहेका छौँ। चोकचोकमा सीसी क्यामेरा भएकाले अपराधिक मानसिकता भएकाहरु सचेत बनेका छन्।’ 

 

 

प्रकाशित: १४ कार्तिक २०७६ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App