८ वैशाख २०८१ शनिबार
खेल

नेपालको टुंगियो जितविहीन यात्रा

काठमाडौं- भारत एसिसी वुमेन्स ट्वान्टी–२० एसिया कप क्रिकेटको फाइनल पुग्दा नेपाल भने सबै खेल हार्दै प्रतियोगिताबाट बिदा भएको छ। खेलेका सबै ५ खेल जितेपछि साबिक विजेता भारत उपाधि रक्षाको नजिक पुगेको हो। थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको शुक्रबार एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भारतले २० ओभरमा ५ विकेट गुमाई १ सय २० रन जोडेको थियो।

जवाफमा नेपाली टोली १६.३ ओभरमा २१ रनमै अलआउट भयो। जुन नेपालको अहिलेसम्मकै कमजोर प्रदर्शन हो। जारी प्रतियोगितामै नेपालले श्रीलंकाविरुद्ध बनाएको २३ रनमात्र दोस्रो कम स्कोर थियो।

एसिया कप क्रिकेटमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। त्यसपछि नेपाली टोली लगातार श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन रआयोजक थाइल्यान्डले ८ विकेटले पराजित भएको थियो। प्रतियोगिताको पुछार रहेको नेपालले कुनै पनि खेलमा आशालाग्दो प्रदर्शन दिन सकेन।

शुक्रबार भारतविरुद्ध राष्ट्रिय टोलीकी पूर्व कप्तान नेरी थापा, नीरा राजोपाध्याय, शोभा आले, संगीता राई, सरस्वती कुमारी(अविजित) लेखाता खोल्न सकेनन्। नेरीले १२ बल सामना गरेकी थिइन्।

ओपनरद्वय ज्योति पाण्डे २ र सीता रानामगर १ रनमा आउट भए।ज्योतिले यसअघिदुई खेलमा समान १६ रन बनाएकी थिइन्। उनले १३ बल सामना गरिन्। कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले २–२ रन बटुले। रोशनी बोहराले एक रन जोडिन्। रुबिनाले १६ र करुणाले १२ बल खेलेका थिए।भारतविरुद्ध इन्दु बर्मालाई प्रशिक्षक राजु बस्न्यातले उतारेनन्। सरिता मगरले बनाएको ६ रन नै व्यक्तिगततर्फ ठूलो स्कोर थियो। उनले २१ बल सामना गरिन्। नेपाली इनिङको अतिरिक्त ७ रन नै ठूलो स्कोर हो।

भारतीय बलर पूनम यादवले ३, अनुजा पाटिल र एस मेघनाले २–२, शिखा पाण्डे, मन्सी जोशी र एकता विष्टले १–१ विकेट लिएका थिए।

भारतीय ओपनर एस मेघनालाई रुबिनाले तेस्रो ओभरमा बोल्ड गरेर राम्रो सुरुआत गर्ने संकेत देखाएकी थिइन्।तर अर्की ओपनर भेलासवामी भनिथाले २१ रन बनाउँदैसुरुआती ब्याटिङबलियो बनाएकी थिइन्। तीन चौका प्रहार गरेकी भनिथालाई पाँचौं ओभरमा रुबिनाको बलमा नेरीले क्याचआउट गरिन्। खेलकी प्लेयर अफ दी म्याच शिखा पाण्डेले अविजित ३९ रन बनाउँदै भारतीय टोलीको स्कोर बढाइन्। उनलाई साथ दिएकी कप्तान हरमनप्रित कौरले अविजित १४ रन बनाइन्। छैटौंविकेटका लागि उनीहरूले अविजित ५१ रनको साझेदारी गरेका थिए।

नेपालकी रुबिनाले २, सीता र करुणाले समान १ विकेट लिए। प्रतियोगितामा एउटा टेस्ट राष्ट्रलाई हराउने लक्ष्य नेपालको लक्ष्य अधुरै रह्यो। प्रतियोगिताअघि प्रशिक्षक बस्न्त्यातले कम्तीमा एउटा टेस्ट खेल्ने टोलीलाई हराउने प्रतिवद्धता जनाएका थिए।

प्रतियोगिताको फाइनलमा भारतसँग खेल्ने टोलीको भने टुंगो लागेको छैन। शनिबार श्रीलंका र बंगलादेशले खेल्दैछन्। अर्को खेलमा पाकिस्तानको भेट घरेलु टोली थाइल्यान्डसँग हुनेछ।

पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। ३ खेल जितेको पाकिस्तान ६ अंकसहित दोस्रो स्थानमा छ। श्रीलंका र बंगलादेशसँग समान ४ अंक छ। पाकिस्तानले थाइल्यान्डलाई हराए फाइनलमा भारतसँग भेट हुनेछ। पाकिस्तान पराजित भए श्रीलंका र बंगलादेशबीचको विजेता फाइनल पुग्नेछ।

प्रकाशित: १८ मंसिर २०७३ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App