coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भगवानको नाम लिँदै सडक यात्रा गर्दै

धनगढी– डडेलधुरा (भीमदत्त) राजमार्गको भासुभिर सडकखण्ड हुँदै यात्रा गर्ने कतिपयले भगवानको नाम लिने गरेका भेटिन्छन्। यो सडक खण्डको भौगोलिक अवस्था डरलाग्दो र ठूलो चट्टानी भिर भएर यात्रा गर्नुपर्दा दुर्घटना नहोस् भनेर यात्रुले भगवानको नाम लिने गरेका हुन्।

यात्रा गर्दा तलतिर हेर्ने कतिपय व्यक्ति डरलाग्दो भिर देख्दा डराउने र रिँगटासमेत लाग्ने भएकाले यात्रा पनि त्रासदीपूर्ण हुने गरेको स्थानीयवासी अमरबहादुर मगरले बताए।

'भिर भनेर डर माने पनि यही बाटो भएर यात्रा गर्नैपर्छ', उनले भने, 'दुर्घटना नहोस् भनेर यो सडक खण्डमा पुग्दा जो कोही पनि भगवानको नाम लिने गर्छन्।' चुरे पहाडमा ठूला चट्टान काटेर निर्माण गरिएको कैलाली जिल्लाको भासुभिर सडकखण्ड धनगढी–डडेलधुरा राजमार्गको सबैभन्दा उचाइको सडक हो। झण्डै एक हजार ९०० मिटरको उचाइको पहाडी भू–भागमा यो सडक निर्माण गरिएको छ।

निर्माणको समयमा यो सडक खण्डमा भएका दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिको स्मृतिमा शालिक निर्माण गरिएको छ। चालकले सतर्कतापूर्वक गाडी हाँक्ने गरेका कारण पछिल्ला वर्षमा यहाँ ठूलो दुर्घटना भने भएको छैन। यति अग्लो भागमा सडक निर्माण किन गर्नुपरेको होला, डोटी जाँदै गरेका भेटिएका मदन पसेलाले भने, 'डरलाग्दो भिरका कारण यात्रा त्रासदीपूर्ण हुने गरेको छ।' सुदूरपश्चिमको पहाडी जिल्ला जाने एक मात्र यो राजमार्ग निर्माण झण्डै पाँच दशकअघि सुरु भएको हो। लामो समयसम्म कच्ची रहेको भीमदत्त राजमार्ग दुईदशकअघि कालोपत्र गरिएको थियो।

अवकाशप्राप्त इञ्जिनीयर महेन्द्र पन्त यो राजमार्गको भासुभिर सडकखण्ड निकै अप्ठ्यारो भू–बनोट रहेको ठाउँमा निर्माण गरिएको र त्यसबेला मजदूरले कमरमा डोरी बाँधेर सडकको ट्रयाक खन्नुपरेको स्मरण गराए। 'सडकमा पानी जमिरहने र माथिबाट निरन्तर ढुङ्गा खस्नेक्रम वर्षौंसम्म नरोकिँदा यो भागको सडक आरसिसी गरेर पक्की बनाइएको छ', पन्तले भने, 'सडकको पहरातिरको भागमा सुरक्षाका लागि प्यारापिट निर्माण गरेर पहिलेकोभन्दा केही सहज बनाइएको छ।'

कञ्चनपुर सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्रबहादुर अधिकारी वर्षायाममा यो सडकखण्डमा बेलाबखत ढुङ्गा र पहिरो खस्ने गरेकाले कहिलेकाहीँ जोखिम पनि हुने गरेको बताए। सडकको तल हेर्दा रिँगटा लाग्ने भिर भए पनि सडकको सतह पहिलेभन्दा सुधार भएको उनले जानकारी दिए।

चालू वर्षमा आवश्यक देखिएका ठाउँमा सडक सुरक्षाका लागि ‘क्रास बेरियर‘(स्टिलको बार) लगाउने योजना रहेको इञ्जिनीयर अधिकारीले बताए। यसका लागि चालू वर्षमा झण्डै ३५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।

प्रकाशित: १४ कार्तिक २०७६ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App