७ वैशाख २०८१ शुक्रबार
खेल

प्रतिभालाई डायमन्डको सम्मान

काठमाडौं- राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीलाई शुक्रबार न्यु डायमन्ड एकेडेमी स्कुलले सम्मान गरेको छ। १५ वर्षीया स्पाइकर प्रतिभा डायमन्डकी विद्यार्थी हुन्। विदेशी क्लबबाट खेलेर उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जितेकोमा एकेडेमीले सम्मान गरेको हो।

एकेडेमीको तर्फबाट सांसदश्याम श्रेष्ठ, विद्यालयका प्रिन्सिपल एवं प्रशिक्षक कुमार राई, संस्थापक सुनकेशरी माली लगायतले प्रतिभालाई दोसल्ला ओढाएका थिए। विद्यालयले प्रतिभालाई २५ हजार, सांसद श्रेष्ठले १५ हजार, अरुण श्रेष्ठले ५ हजार रुपैयाँ प्रदान गरे।

प्रतिभाले एक साताअघि माल्दिभ्समा भएको दुई राष्ट्रिय स्तरको प्रतियोगिता खेल्दै व्यक्तिगततर्फ पाँच अवार्ड जितेकी थिइन्। त्यस्तै उनले मिस्किमागु इमेन जी ग्लुहुन क्लबलाई माल्दिभ्स राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि जिताइन्।

त्यसअघि राष्ट्रिय क्लब लिग च्याम्पियनसिपमा प्रतिभा खेलेको क्लब मिस्किमागुले दोस्रो स्थान पाएको थियो। क्लब उपविजेता बन्दा प्रतिभाले तीन खेलमा क्विन अफ दी म्याचको अवार्ड जितेकी थिइन्।प्रतियोगितामा प्रतिभा विदेश खेलाडीतर्फ सर्वोत्कृष्ट भइन्।

माल्दिभ्समा भएका दुई प्रतियोगितामा एउटा क्लबले दुई विदेशी खेलाडी राख्ने पाउने प्रावधान थियो। त्यसमा प्रतिभासँगै राष्ट्रिय टोलीकी कोपिला उप्रेतीले मिस्किमागुबाट क्लब लिग खेलेकी थिइन्। प्रतिभाले भने मिस्किमागुबाट राष्ट्रिय च्याम्पियनसिप पनि खेल्ने अवसर पाएकी थिइन्। मिस्किमागुले फाइनलमा माल्दिभ्स पुलिसलाइ हराउँदै उपाधि जित्दा प्रतिभा प्लेयर अफ दी सिरिजबाट पुरस्कृत भएकी थिइन्।

शुक्रबार प्रतिभालाई सम्मान गर्दै सांसदश्रेष्ठले न्यु डायमन्ड भलिबल एकेडेमीको भौतिक पूर्वाधार विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए।

'प्रतिभाहरू महलबाट मात्रै जन्मदैनन्। टिनको छानो भएका विद्यालयबाट पनि जन्मन्छन्। त्यो प्रतिभा र डायमन्डले पुष्टि गरेको छ। प्रतिभाले विदेशमा पाएको सफलता सानो होइन। यसले नेपालको प्रतिष्ठाबढाएको छ,'सांसद श्रेष्ठले भने, 'भविष्यमा प्रतिभाजस्तै थुप्रै प्रतिभा उत्पादनमा म सहयोग गर्नेछु। विद्यालयले छानोसहितको भलिबल खेल्ने कोर्ट बनाउन खोजेको रहेछ। त्यसमा हामी सबैले सहयोग गर्नेछौं।'

प्रशिक्षक राईले प्रतिभालाई नेपाली भलिबलको असाधारण खेलाडीको संज्ञा दिए। उनले भने, 'प्रतिभा एउटा क्षमतावान खेलाडी हुन्। उनले डायमन्डको सफलतामा साथ दिइरहेकी छिन्। हामीसँग उनीजस्ता प्रतिभा हरेक वर्ष जन्मन्छन्। तर उनीहरूलाई जोगाउनु हाम्रा लागि चुनौती हो।'

प्रतिभाले आफ्नै विद्यालयबाट सम्मानित हुँदा एकदमै खुसी लागेको बताइन्। उनले भनिन, 'आफूले पढेको विद्यालय र गुरुले सम्मान गर्दा खुसी छु। माल्दिभ्समा मैले आफूले खेलेको क्लबलाई जिताउने लक्ष्य लिएको थिएँ। त्यसमा सक्दो आफूले मेहनत गर्दै साथीलाई सहगोग गरेँ। केही सफलता प्राप्त भयो। तर मैले अझै भलिबलमा धेरै सुधार्नुछ।'

प्रकाशित: १८ मंसिर २०७३ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App