coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनाङ र आर्मीको उपाधि होड

इटहरी- फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ। विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी क्लबबीच बारम्बार उपाधिमा प्रतिस्पर्धा हुँदै आएको छ। यी दुईबीच यसपालि सुनसरीको दुहबीमा जारी मनमोहन स्मृति दुहबी गोल्डकप फुटबल प्रतियोगितामा शनिबार फाइनल प्रतिस्पर्धा हुँदैछ। दुवैले आफूलाई उपाधि हकदार दाबी गरेका छन्।

दुवैको फाइनल यात्रासम्मको प्रदर्शन हेर्दा प्रतिस्पर्धा संघर्षमय हुने निश्चित छ। तर, अहिलेसम्म संख्याका आधारमा बढी पटक आर्मीलाई जितेकाले मनाङ उपाधि आफ्नो पक्षमा ढुक्क छ। आर्मीको तुलनामा मनाङबाट अफ्रिकन खेलाडीसहित युवा स्ट्राइकर विमल घर्तीमगर र अरु खेलाडीबीच तालमेल मिलेको छ। मनाङका खेलाडी  आत्मविश्वासी खेल खेल्छन्।

त्यसो त विभागीय टोली आर्मीका खेलाडी पनि कमजोर छैनन्। मैदानमा लामो समय अडिएर खेल्न सक्नु आर्मीको विशेषता हो। स्ट्राइकर नवयुग श्रेष्ठ, गोलरक्षक विकेश कुथु र भरत खवास टोलीका अनुभवी खम्बा हुन्।

मनाङ सेमिफाइनलमा रमपम झापा–११ लाई २–१ ले हराउँदै उपाधिसामु पुगेको हो। पहिलो खेलमा भने मनाङले आयोजक एलेभन एरोज दुहबीलाई २–१ ले हराएको थियो।

उता सेमिफाइनलमा ५–२ ले भुटानको बीआरसी क्लबलाई हराएको आर्मीले पहिलो खेलमा काठमाडौंको चर्च ब्वाइज युनाइटेेडलाई २–१ ले रोकेको थियो।

मनाङका प्रशिक्षक हेमन्त आलेमगरले फाइनलमा फरक रणनीतिमा खेलाडी उतार्ने बताए। 'यसअघिभन्दा फरक रणनीति अपनाएर खेलाडी मैदानमा उतार्ने छौं,' उनले भने, 'आवश्यकताअनुसार खेल भइरहँदा पनि रणनीति परिवर्तन गरिनेछ।'

उनी आर्मीविरुद्ध खेल जित्नेमा बढी आशावादी छन्। 'अब भाग्यले आर्मीलाई साथ दियो भने अलग हो,' उनले भने, 'नत्र त जसरी पनि हामीले नै जित्नुपर्ने हो।'

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने आफ्नो पूर्व क्लबविरुद्ध छुट्टै रणनीति नअंगाल्ने बताएका छन्। उनले भने, 'जुन शैलीमा अहिलेसम्म खेल खेलियो, त्यही शैलीमा फाइनल पनि खेल्ने छौं। मनाङ सशक्त टिमम हो तर उपाधि जित्ने दुवैको ५०–५० को अवसर छ।' 

एलेभन एरोज क्लब दुहवी र मनमोहन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिता विजेता र उपविजेता टोलीले क्रमशः ३ लाख १ हजार १ सय ११ र १ लाख ५० हजार नगद पुरस्कार जित्ने छन्।

प्रकाशित: १८ मंसिर २०७३ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App