७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

डिसेम्बर १२ मा बेलायतमा आमनिर्वाचन

संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’ मा सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसन।

लन्डन – युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) को विषयमा लामो रस्काकस्सीबीच बेलायत निर्वाचनमा होमिने भएको छ। डिसेम्बर १२ मा बेलायतमा आम निर्वाचन हुने छ।

संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’ले समयअगावै आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेसँगै आम निर्वाचन हुने पक्का भएको बिबिसीले जनाएको छ।

बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आम निर्वाचन हुन लागेको हो। प्रधानमन्त्री जोनसनले संसद्मा पेश गरेको निर्वाचनसम्बन्धी विधेयकको पक्षमा चार सय ३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसदले मतदान गरेका थिए।

बेलायतको संसदीय अभ्यासअन्तर्गत अब माथिल्लो सदन ‘हाउस अफ लर्ड्स’ले उक्त विधेयक पारित गरे समयअगावै निर्वाचन गर्नेबारेको कानुन बन्नेछ र देश निर्वाचनमा होमिने छ। माथिल्लो सदनले विधेयक पारित गरेसँगै निर्वाचन प्रचारका लागि दलहरुसँग पाँच साताको समय बाँकी रहने बताइएको छ।

प्रधानमन्त्री जोनसनले संसद्मा पेश गरेको निर्वाचनसम्बन्धी विधेयकको पक्षमा चार सय ३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसदले मतदान गरेका थिए।

समयअगावै निर्वाचन गर्नेबारेको विधेयक संसद्मा प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री जोनसनले युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)बारे ‘निर्णय लिने अवसर’ जनतालाई दिइनुपर्ने बताएका थिए।

निर्वाचनसँगै ब्रेक्जिट सम्झौताका लागि जनताले आफूलाई नयाँ जनादेश दिने र संसद्मा जारी गतिरोध अन्त्य हुने विश्वास प्रधानमन्त्री जोनसनले व्यक्त गरेका थिए। संसद्मा उत्पन्न गतिरोधका कारण नै ब्रेक्जिट जनवरी ३१ सम्मका लागि लम्बिएको छ। प्रधानमन्त्री जोनसनले ब्रेक्जिट प्रक्रियालाई निष्कर्षमा पु¥याउनका निम्ति सिंगो देश एकसाथ उभिन आवश्यक रहेको समेत संसद्मा बताएका थिए।

यसैबीच ब्रेक्जिटको विषयलाई लिएर पार्टीबाट विद्रोह गरी निस्केका २१ मध्ये १० जना कन्जरभेटिभ सांसदलाई पनि उनले पुनः पार्टीभित्र फर्काएका छन्। पार्टीमा फर्किएसँगै उनीहरुपनि सत्तारुढ कन्जरभेटिभ दलका उम्मेदवारका रूपमा चुनावमा उठ्न पाउने छन्। ‘मुलुकलाई रुपान्तरण गर्न र निहित स्वार्थलाई पन्छाउनका निम्ति यो निर्वाचन एउटा पुस्ताले पाउने एउटा अवसरजस्तै हो,’ समयअगावै निर्वाचन गराउने विधेयक संसद्बाट पारित भएपछि प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रतिक्रिया दिँदै भनेका छन्।

उनले ‘अहिलेसम्म मुलुकले नदेखेको परिवर्तन ल्याउनका निम्ति आफ्नो पार्टीले एकदमै महत्वाकांक्षी र फरक किसिमको चुनावी अभियान चलाउने’ पनि सञ्चारकर्मीसँग बताएका छन्। विपक्षी दलका नेता कोर्बिनले यस्तो प्रतिक्रिया दिए पनि मंगलबारको महŒवपूर्ण मतदान प्रक्रियामा एक सयभन्दा बढी लेबर सांसदले सहभागिता जनाएका थिएनन् वा निर्वाचन प्रक्रियाबाट आफूहरुलाई अलग राखेका थिए भने सहभागीमध्ये ११ जनाले प्रधानमन्त्री जोनसनले ल्याएको विधेयकको विपक्षमा मतदान गरेका थिए। कोर्बिनसहित एक सय २७ जना लेबर सांसदले भने समयअगावै निर्वाचन गराउने विधेयकको पक्षमा मतदान गरेका थिए।

लिबरल डेमोक्र्याट्स र एसएनपीले यसै साताको सुरुवातमा समयअगावैको निर्वाचनमा आफूहरुको समर्थन हुने संकेत दिएका थिए। उनीहरुले ब्रेक्जिट रोक्नका लागि सबैभन्दा महŒवपूर्ण र सार्थक माध्यम नै निर्वाचन हुने जिकिर गरेका थिए। विपक्षी लेबर पार्टीका नेता कोर्बिनले सोमबार मात्रै समयअगावै निर्वाचन गर्ने विचारलाई समर्थन गर्ने बताएका थिए। त्यसअघि उनी निर्वाचनको विपक्षमा उभिँदै आएका थिए। उनले बे्रक्जिटका लागि तीन महिना ढिला गर्ने युरोपेली संघको निर्णयले बिना कुनै सम्झौता युरोपेली संघ छोड्ने प्रधानमन्त्री जोनसनको सम्झौतालाई बल पुग्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प हुने जिकिर गरेका थिए।

लिबरल डेमोक्र्याट्स नेता जो स्विनसनले देशको पछिल्लो अवस्थालाई हेर्ने हो भने न त जोनसन न नै कोर्बिन प्रधानमन्त्रीको योग्य रहेकाले आफ्नो दलले अर्कोे सरकारको नेतृत्व गर्नसक्नेमा कुनै दुई मत नरहेको बताएकी छन्। ‘देशको अर्को प्रधानमन्त्रीको उम्मेदवारका रूपमा म उभिँदै छु र वर्तमान राजनीतिक अवस्थालाई हेर्ने हो भने यो सम्भव पनि छ,’ उनले स्काई न्युजसँग बताइन्।

इच्छाविपरीत युरोपेली संघबाट स्कटल्यान्डलाई बाहिर निकाल्ने खेल रोक्नका लागि आफ्नो दल एकदम प्रतिबद्ध रहेको र यसका लागि जेसुकै गर्न पनि तयार रहेको एसएनपी दलकी क्रिस्टी ब्ल्याकम्यानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ब्रेक्जिट पार्टीका नेता निगेल फरागले समयअगावै निर्वाचन गराउने निर्णयको स्वागत गर्दै लामो समयदेखिको गत्यावरोध अन्त्य भएकोमा खुसी व्यक्त गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘बे्रक्जिट सफल हुने मौका मिलेको छ।’

समयअगावै निर्वाचन गराउनका लागि प्रधानमन्त्री जोनसनले तीन पटक प्रयास गरेका थिए तर तीन पटक नै उनी असफल भएका थिए। तर यसपटक भने संसद्मा भएको ६ घण्टा लामो बहसपछि उनी समयअगावै निर्वाचन गराउने आफ्नो योजनालाई संसद्बाट पारित गराउन सफल भएका छन्। यद्यपि संसदीय बहसको अन्तिमतिर कन्जरभेटिभ र लेबर पार्टीका सांसद्बीच डिसेम्बर १२ को दिनमा निर्वाचन गराउने विषयलाई लिएर भने चर्काचर्की भएको थियो। लेबर दलले भने त्यो बेला विद्यार्थीको परीक्षा हुने हुनाले उनीहरु सहभागी हुन नपाउने विषयलाई उठाएको थियो। योसँगै पछिल्लो चाँच वर्षमा बेलायतमा पाँचौ पटक निर्वाचन हुन लागेको हो।

प्रकाशित: १४ कार्तिक २०७६ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App