coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बग्दादी मारिएकोबारे इस्लामिक स्टेट मौन

दमास्कस – अमेरिकी कारबाहीमा आफ्ना सर्वोच्च नेता मारिएको विषयमा इस्लामिक स्टेट (आइएस) समर्थक मौन बसेका छन्। केही दिनअघि मात्रै इस्लामिक स्टेट (आइएस) का सर्वोच्च नेता अबु बकर अल–बग्दादी आफ्नो सैन्य कारबाही मारिएको अमेरिकाले दाबी गरेको थियो।

आइतबार बग्दादी मारिएको घोषणा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनीसँगै उनका कैयौं समर्थक पनि मारिएको दाबी गरेका थिए।

सुन्नी लडाकु समूह आइएसले भने यस विषयमा हालसम्म केही नबताएको भए पनि उसले आफ्नो कमान्ड संरचनाको लागि नयाँ नेतृत्वको खोजी गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। बग्दादी मारिएको विषयमा इस्लामिक स्टेटको आधिकारिक टेलिग्राम च्यानलमा कुनै आधिकारिक विज्ञप्ति वा श्रद्धाञ्जली राखिएको छैन।

अमेरिकी सेनाको विशेष सैन्य कारबाहीका क्रममा उत्तरपश्चिमी सिरियामा बग्दादी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार घोषणा गरेका थिए। आइएसको आधिकारिक समाचार एजेन्सी अमाक न्युज एजेन्सी टेलिग्रामले बग्दादी मारिएको विषयमा उल्लेख नगरे पनि सदाझैं उसले आफ्ना गतिविधि भने सञ्चालन गरिरहेको छ। उसले ट्रम्पको घोषणापछि मात्रै पनि सिरिया, इजिप्ट, अफगानिस्तान र इराकमा ३० भन्दा बढी सफल आक्रमण भएको भन्दै आफ्ना लडाकुको प्रशंसा गरेका पोस्ट सो समाचार एजेन्सीको आधिकारिक वेबसाइटमा राखे पनि बग्दादीको विषयमा भने केही उल्लेख गरेको छैन।

त्यसैगरी सन् २०११ मा अल कायदा प्रमुख ओसामा बिन लादेन र अन्य लडाकु नेता मारिएको बेलामा भन्दा कम मात्रामा मात्रै जिहादी समर्थकले सामाजिक सञ्जालमा बहस गरेका छन्। प्रमुख नै अमेरिकी कारबाहीमा मारिएको विषयले संगठनको संरचना र लडाकु सदस्यमा नकारात्मक सन्देश प्रवाह हुनसक्ने तर्फ सचेत हुँदै इस्लामिक स्टेटले बग्दादीको बारेमा केही नबोलेको हुनसक्ने केही विश्लेषकहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

उनीहरुले बग्दादीको उत्तराधिकारीको टुंगो नलागेसम्म यस विषयमा नबोल्न सक्ने पनि ती विश्लेषकहरुले बताएका छन्। ‘प्रमुख नेतृत्व नै मारिएपछि इस्लामिक स्टेटभित्र अहिले भयावहको अवस्था हुनसक्छ किनभने सो समूहको प्रमुख नेता नै मारिएका छन् र मुख्य कागजात पनि ध्वस्त गरिएका छन्,’ लडाकु समूहबारे इराक विज्ञ हिसाम अल–हासिमीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

‘बग्दादी मारिएको घोषणा गर्नुपूर्व उनीहरु उत्तराधिकारीको विषयमा सहमत हुन चाहन्छन्,’ यस विषयमा सो समूह विभाजित भएको हुनसक्ने अनुमान गर्दै उनले बताए। इस्लामिक स्टेट हाल बग्दादीको नेतृत्वमा घोषणा भएको क्यालिफेट ध्वस्त भएको अवस्थामा रहेका कारण पनि सो मनोबल बढाउने र अनि मात्रै नयाँ नेतृत्व चयन गर्नेतर्फ उन्मुख भएको हुनसक्ने अनुमान गरिएको छ।

बग्दादीको नेतृत्वमा इराक, सिरिया र लिबियाका केही भूभाग समेटेर क्यालिफेट घोषणा गरिएको थियो। अमेरिकी नेतृत्वको आक्रमणका कारण सो क्षेत्र सन् २०१७ मा ध्वस्त नगरिएसम्म इस्लामिक स्टेटले क्यालिफेट सञ्चालन गरेको थियो।
आइतबार बग्दादी मारिएको घोषणा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनीसँगै उनका कैयौं समर्थक पनि मारिएको दाबी गरेका थिए। मंगलबार मात्रै पनि उनले एउटा ट्विट गर्दै बग्दादीका सम्भावित उत्तराधिकारी पनि उनीसँगै अमेरिकी विशेष कारबाहीमा मारिएको बताएका थिए। उनले ती व्यक्ति को थियो भन्नेबारेमा भने प्रष्ट खुलाएनन्। तर अमेरिकाको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले मंगलबार बताएअनुसार सो व्यक्ति अबु अल–हसन अल–मुजाहिर भएको बताइएको छ। मुजाहिर आइएसका उच्च पदाधिकारी र प्रवक्तासमेत थिए। मुजाहिर भने अमेरिकी सेनाको छुट्टै कारबाहीमा मारिएको दाबी ह्वाइट हाउसको छ।

प्रकाशित: १४ कार्तिक २०७६ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App