८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं – नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ। जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी टुंगो लगाउन पदाधिकारी तहमा छलफल गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको जानकारी उनले दिए। बैठकमा समसामयिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ। पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले कात्तिक शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए। यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारको नामावली सिफारिस भई प्राप्त नभएको भन्दै कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित गरिएको थियो। ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।रासस

प्रकाशित: १४ कार्तिक २०७६ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App