८ वैशाख २०८१ शनिबार
समाज

देउसीको रकमबाट विपत पिडितलाई सहयाेग

जाजरकोट- तिहारमा देउसी भैली खेलेर यहाँका युवाहरुले संकलन गरेको रकम प्राकृतिक प्रकोपबाट पिडितलाई प्रदान गर्ने भएका छन्। जाजरकोट युवा क्रिकेट क्लवमा आवद्ध युवाहरुले भैली खेलेर जम्मा भएको १० हजार रुपैया जाजरकोटका प्राकृतिक प्रकोप पिडितका लागि दिने भएका हुन्।

युवाहरुले संकलन गरेको ३२ हजार ३ सय ६० रुपैयाँबाट १० हजार रुपैयाँ प्राकृतिक प्रकोप पिडितका लागि जिल्ला विपत कोषमा जम्मा गरिदिने जाजरकोट युवा क्रिकेट क्लव (जेवाइसीसी)का अध्यक्ष अनिशकुमार कार्कीले बताए। उनले आफुहरुले सफा र हरियालीयुक्त जाजरकोट निर्माणको आफनो अभियान अन्तरगत खेलिएको देउसी भैलीबाट संकलित रकम विपत कोषमा जम्मा गर्न लागेको बताए। अन्य रकम क्लब सञ्चालनका सामाग्री खरिद गर्न प्रयोग गरिने पनि उनले बताए।

जिल्ला सदरमुकाम खलंगामा युवा तथा बालबालिकाहरुलाई विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिमा लाग्न प्रेरित गरिरहेको कार्कीले बताए। जाजरकोट युवा क्रिक्रेट क्लबले जाजरकोटका बजार र बस्तीहरुलाई सफा र हरियालीयुक्त बनाउन गत वर्षदेखि सो अभियान सञ्चालन गरेको छ। खेलकुद, सरसफाई, लोक साँस्कृतिक गतिविधिहरु, बौद्धिक क्रियाकलापहरुमा क्लबमा आबद्ध युवा तथा बालबालिकाहरुले सक्रियता देखाइरहेका छन्।

विद्यालय, टोलबस्ती र बजारको सफाई तथा चेतनामुलक गतिविधिहरुमा युवा तथा स्कुले बालबालिकाहरुको सहभागिता गराउने जेवाइसीसीका क्रियाकलापकाहरुको कारण स्थानीयहरुले प्रशंसा गर्ने गरेका छन्। सृजना, अनुशासन र सामाजिक सोचमा युवा तथा बालबालिकाहरुलाई परिचालन गर्ने जाजरकोट युवा क्रिकेट क्लबका युवाहरुलाई सबैले साथ, हौसला र प्रेरणा दिनुपर्ने असलशासनकर्मी बालकुमार शर्मा बताउँछन्।

कुलतमा लाग्न सक्ने युवाहरुलाई सामाजिक गतिविधिमा सहभागि बनाएर असल बाटो हिड्न सहयोग गर्ने जेवाइसीसीका असल र रचनात्मक क्रियाकलापमा स्थानीय सरकार, सर्वसाधारण र अन्य सरोकारवालाहरुले साथ दिनु जरुरी रहेको उनले बताए।

 

प्रकाशित: १३ कार्तिक २०७६ ११:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App