८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश १ को नाम पुसभित्र टुंग्याउने तयारी

दमक– प्रदेश नम्बर १ ले पुस महिनाभित्र प्रदेशको नाम टुंग्याउने भएको छ। त्यसका लागि गृहकार्य शुरु गरिएको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सबैको प्रस्तावलाई स्वीकार गर्दै सबैलाई मान्य हुने गरि नाम राख्ने तयारी थालिएको बताए। 

कार्कीले गृहनगर गौरादहमा पत्रकार सम्मेलन गर्दै सबैको भावनाको कदर हुने गरि नामाकंनको तयारी भएको बताए। ‘पुसमा शुरु हुने हिउँदे अधिबेशनले प्रदेशको नामाकरण गर्ने छ’, उनले भने, ‘सबैको भावना समेट्नका लागि समेत गृहकार्य भइरहेको छ।’ सत्तापक्ष सांसदबीच नै नामाकंनमा विवाद भएपछि प्रदेशले यसअघि राजधानी मात्रै तोकेको थियो। राजधानी तोक्दा समेत अन्य भुगोल मिलाउनका लागि बिराट क्षेत्र भनिए पनि मुख्य अंग कार्यापालिका, व्यवस्थापिका र न्यायपालिका विराटनगरमै रहने उनले उल्लेख गरे। 

‘कहिलेकाहीँ विराटनगरमै रहेको संसद भवनमा पुग्न समयमा सकिँदैन र समय लम्बाउनुपर्छ’, उनले भने, ‘अब इटहरी, गोठगाउँ या धनकुटामा त सम्भव हुँदैन।’ सबै अंग नजिकै भए कार्यसम्पादनमा समेत सहजता आउने उनले उल्लेख गरे। प्रदेश सरकारले यो अवधिमा ४२ वटा कानुन निर्माण सकेको बताउँदै उनले भने, ‘आउँदो अधिवेशनसम्म कार्यसम्पादनका लागि आवश्यक सबै कानुन निर्माण सक्ने छौं।’ 

मन्त्री कार्कीले प्रदेश सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको स्वीकार गर्दै भने, ‘हामी नयाँ अभ्यासमा छौ, अघिल्लो बर्षभन्दा यसबर्ष केही सुधार गर्यो, अब अझै सुधार गरेर लैजान्छौं। विकास बजेट अघिल्लो बर्ष खर्च हुन नसकेको उल्लेख गर्दै उनले यस बर्ष ४२ अर्ब बजेट रहेको बताए। प्रदेश गौरवका योजनाका रुपमा विराटनगर किमाथांका सडकको ट्याक दु्रत गतिमा काम भइरहेको मन्त्री कार्कीले उल्लेख गरे।  

प्रकाशित: १३ कार्तिक २०७६ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App