७ वैशाख २०८१ शुक्रबार
अन्य

‘रियल लाइफमा सिम्पल छु’

पुष्प खड्का फिल्म क्षेत्रमा चिनेको अनुहार हो । म्युजिक भिडियो हुँदै उनी अभिनयमा लागेका हुन् । तुलसी घिमिरेले निर्देशन गरेको ‘दर्पण छायाँ २’बाट उनले रजतपटमा डेब्यु गरेका हुन् । पछिल्लो समय नवल नेपालले निर्देशन गरेको ‘मंगलम’बाट उनको अभिनयको चर्चा चुलिएको थियो । उनले अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहसँग ‘मारुनी’मा अभिनय गरेका छन् । फेसनका बारेमा उनै पुष्पसँग परिवारकर्मी रीना मोक्तानले गरेको कुराकानीः

आराम हुनुहुन्छ ?
आरामै छु (मुसुक्क मुस्कुराउँदै) ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
मेरो मारुनी फिल्म हलमा प्रदर्शनरत छ । त्यसैको फिडब्याक आइरहेको छ । दर्शकले मन पराइरहनु भएको छ । फिल्मको माउथ पब्लिसिटी राम्रो भयो । भनौं न फिल्ममै व्यस्त । मारुनीको ह्याङ सकिएको छैन ।

तपाईंको विचारमा फेसन भनेको के हो ?
फेसन एउटा ट्रेन्ड हो जस्तो लाग्छ । जस्तो अहिले समयअनुसार भाइरल भन्ने कुरा हुन्छ नि, फेसन पनि त्यही हो जस्तो लाग्छ । किनभने एउटा समय हुन्छ त्यही समय अनुसारको ट्रेन्ड हो भन्ने लाग्छ । फेसन एउटा पहिचान पनि हो । जसले ठाउँ, वातावरण र कारण प्रस्तुत गर्छ । फेसनले ठाउँलाई, दिनचर्यालाई चिनाउँछ । जस्तो कुनै अफिस जाँदा कस्तो ड्रेस लगाउने, पार्टीमा के लगाउने त्यसमा भरपर्छ फेसन । फेसनमा आफ्नो मन सन्तुष्टी पनि हुनु पर्‍यो । के लगाउँदा मेरो शरीरमा सुट हुन्छ । कतिपय समय व्यक्तिहरु नसुहाउँदो पहिरन पहिरिरहेका हुन्छन् । जब त्यो ट्रेन्ड बन्छ अनि सबैले त्यो लगाउँछ अनि त्यही चिज राम्रो लाग्न थाल्छ ।

तपाईं कत्तिको फेसननेवल हुनुहुन्छ ?
स्क्रिनमा म एकदमै फेसनेबल छु । तर रियल लाइफमा भने सिम्पल छु ।

फेसन कन्सेस चाहिँ कत्तिको हुनुहुन्छ ?
सबै ठाउँमा युनिक देखिनुपर्छ जस्तो लाग्छ । नर्मल लाइफमा होस् या रिल लाइफमा । तर, बाहिर देख्दा मैले लगाएको ड्रेस हत्तपत्त अरुले नलगाएको होस् । मेरो फेसन अरुले फलो गरोस् भन्ने हुन्छ । तर सबै फेसनको पछाडि दौड्ने एउटा ट्रेण्ड छ । मोडलिङ र ल्याम्प त फेसननेवल भनेको क्षेत्र हो । तर साधारण व्यक्तिले भने आफूले सुहाएको पहिरन पहिरेको राम्रो ।

फेसनमा जोडिँदाको अनुभव ?
जब म मोडलिङ लाइनमा आएँ त्यसताका म फेसनसँग जोडिएँ । त्यो भन्दाअघि त म साधारण हुन नै रुचाउँथे । अहिले पनि साधारण नै हुन मनपर्छ । जब रियल लाइफमा गइन्छ अलिकति फेसनेबल नै चाहिन्छ भन्ने भयो । मोडलिङ छिर्दा सुरुवातमा त आफूलाई मनपर्ने नै पहिरन पहिरन्थेँ । तर अहिले भने डिजाइनरको अण्डरमा काम गर्छु । किनकि उहाँहरु त त्यस विषयमा जानकार हुनुहुन्छ नि त । त्यसैले यो आवश्यक छ अहिले ।

तपाईंको फेसनलाई तपाईंका फ्यानले कत्तिको फलो गरेका छन् ?
अँ, त्यो भने जब मेरो त्यो ‘पिलायो साथीले’ भन्ने म्युजिक भिडियो एकदमै हिट भएको थियो नि । त्यो भिडियोमा मैले लगाएको रातो चेक सर्ट धेरैले लगाएको देखेको थिएँ । त्यो रातो चेक सर्टको त धेरै नै ट्रोल पनि बनेको थियो । यो रातो चेक सर्ट भन्नासाथ ‘पिलायो साथीले’ भन्ने गीतको याद आउँछ भनेर ट्रोलहरु बनेको थियो । त्यो सर्ट भने मैले जुन पसलबाट किनेको थिएँ त्यहाँ पनि पछि कति ग्राहक खोज्न पुगेका थिए रे । अहिले भने केहीले फलो गर्नुहुन्छ ।

नेपालको फेसनको ट्रेन्ड कस्तो छ ?
अहिले हामी देश विदेशबाट एकदम प्रभावित भइरहेका छौं (सोच्दै) । जस्तै नेपालको आफ्नो फेसन के छ, नेपालबाट उत्पादन भएको अग्र्यानिक वस्तुलाई महत्व दिइरहेका छैनौं । अब नेपालभित्र बनेको त्यस्तो वस्तुलाई उपभोग गरेर (लगाएर) विदेशीलाई अझै आकर्षित बनाउन सकिरहेका छैनौं हामी । तर हामी नेपाली भने विदेशीको ड्रेसलाई (फेसन) फलो गरिरहेका हुन्छौं । तर, हामीले हाम्रो फेसनमा भने उनीहरुलाई फलो गराउन सक्नुपर्छ । हाम्रो आफ्नै ढाकाका पहिरन, फ्याब्रिक अनि जुट छ । ती कुराको पनि फेसन विकास होस् भन्ने लाग्छ । ताकि त्यो विश्वभर फैलिओस् ।

तपाईंको कस्तो खालको फेसन रुचाउनुहुन्छ ?
मलाई क्याजुअल ड्रेस मन पर्छ । त्यो बलिउडको रणवीर सिंह अति नै फेसननेवल देखिन्छ । तर, त्यतिसम्मको त होइन तर रिल लाइफमा काम गर्दा फेसननेवल लुक्स भने आओस् भन्ने लाग्छ ।  

फेसन भन्ने बित्तिकै के कुरा नछुटाइ लगानुहुन्छ ?
घडी (हातमा देखाउँदै) । पहिला त घाँटीमा लकेट पनि नछुटाइ लगाउँथेँ । अहिले भने घडी प्रायः छुटाउँदिनँ । मलाई एकदम मनपर्छ घडी ।

तपाईंको दराजमा केको कलेक्सन भेट्न सकिन्छ ?
दराजमा कपडा अनि किताबहरु, एउटा बक्समा पर्फ्युम अनि क्रिमहरु छ । त्यस्तै घडीहरु । दराजभित्रको एउटा गोप्य बक्समा भने चेक, पैसाहरु छ ।

मन पर्ने रङ कुन हो ?
कालो अनि सेतो ।  

फेसन भन्ने बित्तिकै हामी लगाउने पहिरनलाई बुझ्छौं । तपाईंलाई के लाग्छ ?
मेरो विचारमा फेसन भनेको समयअनुसारको ट्रेन्ड हो । एक समयमा चलनचल्तीमा आएको चिज नै फेसन हो । पहिला खुला पाइन्ट फेसनमा थियो, अहिले भने चुज पाइन्ट फेसनमा छ । यो पनि एउटा ट्रेन्ड हो । एक समय रेमण्डको चस्मा प्रचलनमा थियो । त्यसैले फेसन स्थिर हुँदैन । बदलिइरहन्छ जस्तो लाग्छ ।

विशेष र आम मानिसको फेसनमा फरक हुन्छ कि हुँदैन ?
फरक हुन्छ । उनीहरुको फेसन उस्तै हुँदैन । कोही चुज पाइन्ट लगाउँछन् कोही लगाउँदैनन् । मान्छेअनुसार फरक हुन्छ ।

अहिले नेपालमा कस्तो फेसन चलेको छ ?
पुरुषहरुको फेसन कोरियनतिर नै ढल्केको छ । सुटहरु  चेक नै चलिरहेको छ । चस्माको पनि फेसन छ । नर्मली केटाहरुको भेस्ट हुन्छ पाइन्ट हुन्छ । तर महिलाहरुको ड्रेस त कहिले कताबाट त कहिले कताबाट काटेर युनिक बनाइदिएको हुन्छ । तर, धेरैजसोले केटी मान्छेले गाउन, कुर्ता अनि साडी नै लगाएको मन पराउँछन् । 

तपाईंले आवश्यक सामान कता किन्नुहुन्छ ?
म सडकदेखि दरबारमार्गसम्मको जे मन पर्‍यो त्यही किन्छु । सडकमा त गइरहँदिन तर कसैलाई पठाएरै भए पनि किन्छु । कहिलेकाहीँ सुटिङमा केही युनिक कुरा आवश्यक पर्‍यो अरुलाई सडकतिर नै पठाउँछु । किनकि एकचोटी लगाएपछि अर्कोपटक लगाउन पनि मिल्दैन । त्यसैले सस्तो किन्छु अनि नयाँ नयाँ किन्छु ।

फेसनमा अपडेट हुँदा शरीरको स्याहार सुसारमा कत्तिको ध्यान दिनहुन्छ ?
अहिले शरीरका लागि ध्यान दिइरहेको छ । यो भन्दा अघि ‘मंगलम’ फिल्म गर्दा त्यस्तै हो ‘मारुनी’मा भने मैले शारीरिक रुपमा पनि परिवर्तन ल्याएको छु, जिम गएर । एक्टिङ र डान्स गर्न सजिलो छ तर जिम गर्न गाह्रो छ ।

किनमेलमा कत्तिको रुचि छ ?
एकदमै ।  

किनमेल गर्न मनपर्ने कुरा ?
मलाई भेस्ट र सर्ट नै किन्न मन पर्छ ।

सपिङमा अल्छी लाग्छ ?
सपिङ गर्दा मलाई एकदमै रमाइलो लाग्छ । अरुको सपिङमा जाँदा भने अल्छी लाग्छ ।

प्रकाशित: १२ कार्तिक २०७६ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App