६ वैशाख २०८१ बिहीबार
राजनीति

देउवाकाे चेतावनीः उपनिर्वाचनमा अन्तर्घात भए असह्य र अक्षम्य हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने चेतावनी दिएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार दुधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेतर्फ नेता कार्यकर्तालाई सचेत गराए। 

उनले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए। आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा दिँदै उनले जनमत काङ्ग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिए। 

कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को विमोचन गरे। पार्टीका जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा पनि विकासका नाममा डोजर आतङ्क चलाइएको बताउँदै जनप्रतिनिधि जग्गा दलाल र भूमाफियासँग मिलेर धनी बन्ने अभियानमा लागेको आरोप लगाए। 

उपसभापति हरि नेपाल, सचिव निशान ढुङ्गेल, नेता मदनकृष्ण श्रेष्ठ, केदार खड्का, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमलीलगायतले आसन्न उपनिर्वाचनमा जित काङ्ग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ता जनतासँग घुलमिल हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ११ कार्तिक २०७६ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App