काठमाडाैँ – प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालबाट गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित ६ जना अदालत पुगेका छन्।महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउपरेका २५ जनामध्ये ६ जना प्रहरीविरुद्ध अदालत पुगेका हुन् ।
महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीकाले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ गरेकामध्ये ६ जना जुवाडेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको बताए।
उनका अनुसार रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, ठेकदार पवनकुमार गुप्ता, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा रहेका छन् । उनले भने,'प्रहरीले उनीहरुलाई सोमबार दिउँसो सर्वोच्च अदालत उपस्थित गराउँदैछ।'
प्रहरीले उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।
प्रकाशित: ११ कार्तिक २०७६ ०७:३७ सोमबार