coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुन ८ महिनाकै सस्तो

काठमाडौं- पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायता कै सस्तो भएको छ। बिहीबारका लागि तोकिएको छापावाल सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो। मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर बिहीबार ५४ हजार रुपैयाँमा झरेको छ। यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। '५४ हजार रुपैयाँ मूल्य ८–९ महिनायताको सबभन्दा कम हो,' शाक्यले भने, 'यसअघि चैतमा सुनको मूल्य कम अंकमा झरेको थियो।'

२०७२ चैत २२ र २३ गते छापावाल सुन प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा करोबार भएको महासंघको तथ्यांकमा उल्लेख छ। गत साउनमा भने १० महिनाकै सबैभन्दा धेरै ५९ हजार ५ सय रुपैयाँसम्ममा कारोबार भएको थियो।

मूल्यमा उतावचढाव भइरहेकाले ग्राहक पनि अलमलमा रहेको शाक्यको भनाइ छ। 'मूल्य घटबढले ग्राहकलाई अलमलमा पारेको छ,' शाक्यले भने, 'यसपालि दिनको ३० किलोभन्दा धेरै बिक्री हुन सकेको छैन।'

अमेरिकी डलर मजबुत र भारु कमजोर बन्दै जाँदा सुनको मूल्य घट्दै गएको शाक्यले बताए। 'अहिले अमेरिकी डलर मजबुत छ। सेयर बजारमा पनि सुधार देखिएको छ,' शाक्यले भने, 'यसले गर्दा सुनको भाउ घटेको हो।'

अमेरिका, युरोपमा डलर मजबुत बन्दै गएको छ भने संसारको दोस्रो ठूलो सुन बजार रहेको भारतमा भने भारु कमजोर हँुदै गएको छ। विवाहको मौसममा मोदी सरकारले १ हजार र ५ सयका भारु नोट नचल्ने घोषणा गरेसँग भारु कमजोर भएको छ। भारतमा नोट अभाव हँुदा आर्थिक गतिविधि कम भएको, विवाहको मौसम भए पनि सुन किनबेच नहुँदा मूल्य कम हँुदै गएको हो। 

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेकाले सेयर कारोबार मजबुत बन्दै गएको शाक्यको भनाइ छ। त्यस्तै, राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि विश्वले अनुमान गरेभन्दा ठिक उल्टो डलर बलियो बन्दै गएको शाक्य बताउँछन्। 'ट्रम्पले चुनावपछिको भाषणमा सबैलाई समेटेर लैजाने भन्न थालेपछि डलर बलियो बनेको छ,' शाक्यले भने, 'यसले पनि सुनको भाउ कमजोर हुन गएको हो।'

सुनको भाउ निरन्तर घट्दै गएकाले नेपाली उपभोक्ता अझै घट्ने आसमा पर्खेर बसेको शाक्य बताउँछन्। 'भाउ घटिरहेकाले उपभोक्ता पर्ख र हेरको मनस्थितिमा रहेको देखिन्छ,' शाक्यले भने, 'यसले गर्दा पनि सिजनमा जति सुन बिक्री हुनुपर्ने हो, त्यस अनुसार भएको छैन।'

पहिलेको तथ्यांकमा मंसिरमा प्रतिदिन ४० देखि ५० किलो सुन बिक्री हुनुपर्नेमा अहिले प्रतिदिन ३० किलोमात्र माग भइरहेको उनको भनाइ छ। मंसिरमा सुनको माग उच्च हुन्छ। पुसमा केही सुस्ताएर माघ फागुनमा माग फेरि उच्च हुने गर्छ।

पोहोर साल विनाशकारी भूकम्पका कारण सिजनमा पनि सुनको कारोबार राम्रो हुन सकेको थिएन। यस वर्ष भने तिहारमा पोहोर सालभन्दा २५ प्रतिशत बढी किनबेच भएको शाक्यको भनाइ छ। अन्य, व्यवसायीले पनि यसपालि सुन–चाँदीको कारोबार राम्रो भएको बताएका छन्।

प्रकाशित: १७ मंसिर २०७३ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App