७ वैशाख २०८१ शुक्रबार
अर्थ

१० अर्बको सुन व्यापार

काठमाडाैं – हमाल जेम्स एन्ड ज्वेलर्स न्युरोडकी सञ्चालिका दाना हमाल तिहारको माहोल सुरु भएदेखि नै ब्यस्त छिन्। तीज र दसैंको बेला सुनको मूल्य बढेर व्यापार ठप्पजस्तै थियो। तर, झिलिमिलीको पर्व तिहारको माहोल सुरु भएसँगै व्यापारमा पनि उत्साह र उमंग थपिएको छ। ‘नेपालीको मुख्य चाड तीज र दसैंमा सुनको मूल्य अत्याधिक बढेर व्यापार ठप्पजस्तै भयो,’ उनले भनिन्, ‘अहिले तिहार लागेसँगै सुनचाँदीको व्यापारमा केही उत्साह थपिएको छ।’

सञ्चालिका हमालका अनुसार अन्य सामान्य दिनको तुलनामा तिहारको रमझम सुरु भएसँगै व्यापार पनि ह्वातै बढ्दै आएको बताइन्। ‘अरु बेला तीन–चार तोला मात्रै सुनको व्यापार हुन्थ्यो,’ उनले भनिन्, ‘तिहारको महोल सुरु भएसँगै ६–१० तोलासम्मको व्यापार हुँदै आइरहेको छ।’ तिहारको बेला धनीकी देवी लक्ष्मीको पूजापाठ गर्दा सुनचाँदी हिरा, मणिलगायत आवश्यक पर्ने भएकाले पनि खरिद गर्नेको संख्या वृद्धि भएको उनको भनाइ छ। उनको मात्रै अहिले देशभर नै सुनचाँदी, हिरा, मणि र अन्य पित्तल र तामालगायतको व्यापार बढ्दै आइरहेको छ।

ग्राहकले पनि तिहारकै अवसर पारेर सुनचाँदी खरिद गर्ने परम्परा रहँदै आइरहेको छ। कोटेश्वरका मदिरा सुवेदीले तिहारमा केही गरगहना जोड्ने योजनामा रहेको सुनाइन्। ‘धनवन्तरीको अवसर पाएर केही न केही गरगहना किन्दै आइरहेकी छु,’ उनले भनिन्, ‘तिहारको अवसरमा गरगहना किनेको खण्डमा धन लाभ हुने विश्वासकै आधारमा किन्दै आएका छौं।’ उनका अनुसार पछिल्लो समय धनवन्तरी तथा लक्ष्मी पूजाको दिनमा गरगहना खरिद गर्ने परम्परा बढ्दै आएको बताइन्।

अहिले सुवेदी मात्रै होइनन्, नयाँ बानेश्वरकी रमिता शाक्य पनि तिहारको अवसरमा आफ्नो गच्छेअनुसार सुन, तामा तथा पित्तलका सरसमान किनमेल गर्ने योजना बनाएको बताउँछिन्। ‘अहिले पनि थोरै मात्रामा भए पनि सुनचाँदी किनमेल गर्ने तयारी गरिरहेकी छु,’ उनले भनिन्, ‘केही फलिफाप हुन्छ भन्ने परम्परागत मान्यतालाई अनुसरण गर्दै खरिद गर्न लागेकी हुँ।’ अहिले राजधानी काठमाडौंमा मात्रै नभएर काठमाडौं बाहिरका मुख्य सहरमा पनि सुनचाँदी, हिरामणि तामापित्तल लगायत पसलमा अत्याधिक मात्रामा भीडभाड देखिन्छ।

हमाल जेम्स एन्ड ज्वेलर्सका सञ्चालिका हमालले तिहारको अरु दिनभन्दा पनि धनवन्तरी अर्थात काग तिहारको दिन अत्याधिक मात्रामा बिक्री हुने बताइन्। ‘यहाँ धवन्तरी र लक्ष्मी पूजाको दिनमा अत्याधिक मात्रमा व्यापार हुँदै आइरहेको छ,’ उनले भनिन्, ‘कतिपय ग्राहक त लक्ष्मी पूजाकै दिनमा किनमेल गर्न भन्दै आउने गर्छन्।’ तिहार नजिकिँदै जाँदा दसंैं,तिहारमा सुस्ताएको सुनचाँदी बजारमा केही उल्जार आउन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

‘तोलाको ७० हजार नाघेपछि सुनचाँदी बजार ठप्पजस्तै भएको थियो,’ उनले भने, ‘अहिले तिहारको रमझम सुरु भएसँगै सुनचाँदीको बजारमा गुल्जार आउन थालेको छ।’ निवर्तमान अध्यक्ष शाक्यले पछिल्लो समय सुनचाँदीको व्यापार छिटपुट रुपमा बढ्दै आइरहेको बताउँछन्। ‘तिहारको माहोल अगाडि दैनिक १०–१५ केजी सुनको व्यापार हुँदै आएको थियो,’ उनले भने, ‘अहिले दैनिक २० देखि २५ केजी सुनको व्यापार हुँदै आइरहेको छ।’
निवर्तमान अध्यक्ष शाक्यले गत वर्षको तुलनामा अहिले सुनको व्यापार कम भएको गुनासो गरे। ‘गत वर्षको तुलनामा यस वर्ष अत्याधिक मात्रामा सुनको मूल्य बढ्यो। जसका कारण ग्राहकले मन फुकाएर सुनचाँदी खरिद गर्न सकेका छैनन्।’ गत वर्ष तिहारको सिजनमा औषत प्रतिदिन ५० देखि ६० केजीसम्म सुनको व्यापार हुन्थ्यो। अहिले त मुस्किलले प्रतिदिन ४० केजी पुग्न पनि गाह्रो छ। ‘अहिले अत्यावश्यक काम नपरिकन सुन खरिद गर्ने वातावरण छैन,’ उनले भने, ‘पुरानै गरगहना साटफेर गरेर काम चलाउने प्रवृत्ति बढेको छ।’ अहिले एक तोला सुनको मूल्य ७० हजार चार सय रुपैयाँ रहेको छ।

प्रतितोला चाँदीको मूल्य आठ सय ५० रुपैयाँ रहेको छ। पछिल्लो समय डलरको मूल्य वृद्धि भएसँगै सुनको मूल्य अत्याधिक मात्रामा बढेको हो। अहिलेको बजार भाउअनुसार एक केजी सुनका लागि ६० लाख रुपैयाँ पर्दछ। महासंघका अनुसार तिहारको अवसरमा सरदर ४० केजी सुनको व्यापार हुँदा २४ करोड रुपैयाँ बराबरको व्यापार हुन्छ। निवर्तमान अध्यक्ष शाक्यले यस वर्ष तिहारमा १० अर्ब बराबरको कारोबार हुने दाबी गरे। ‘गत वर्ष तिहारमा ५० अर्बभन्दा धेरै व्यापार भएको थियो,’ उनले भने, ‘यस वर्ष गत वर्षको तुलनामा सुनको मूल्य बढेकाले गत वर्षको तुलनामा धेरै गिरावट हुने अनुमान गरिएको छ।’ अध्यक्ष शाक्यले तिहारका बेला चाँदीको व्यापार पनि अत्याधिक मात्रामा हुने बताउँछन्। ‘सुनको किनमेल पनि हैसियतअनुसार नै हुने गर्छ,’ उनले भने, ‘आर्थिक हैसियत राम्रो हुनेको रोजाइमा सुनचाँदी हुने गर्छ। अन्यको भने तामा तथा पित्तल मुख्य रोजाइमा पर्छ।’

उनका अनुसार तिहारको अवसरमा दैनिक एक हजार केजीभन्दा धेरै चाँदीको व्यापार हुँदै आइरहेको छ। वर्षभरिमा एक खर्बभन्दा धेरै सुनचाँदीको व्यापार हुने गर्छ। अहिले सुनचाँदीको व्यापार मात्रै होइन् भाडाको व्यापार गर्ने व्यवसायीलाई समेत भ्याइनभ्याई छ। कोटेश्वरका भाडा व्यापारी रञ्जन श्रेष्ठलाई अहिले सास फेर्ने फुर्सदसमेत छैन। तिहारका अवसरमा तामा तथा पित्तलका सामान खरिद गर्ने ग्राहकको संख्या बढेसँगै उनलाई फुर्सद नभएको हो। ‘अरु बेला पसल मात्रै रुघेर बस्थ्यौं,’ उनले भने, ‘हाम्रो व्यापार हुने मौसम भनेकै तिहार हो।’ उनका अनुसार तिहारको सिजन सुरु भएसँगै व्यापार ह्वातै बढ्दै आइरहेको छ। ‘अधिकांशले लक्ष्मी पूजाकै दिन तामा, पित्तलका सरसमान जोड्ने चलन छ,’ उनले भने, ‘धनिकी देवी लक्ष्मीलाई प्रशन्न तथा खुसी पार्नकै लागि पनि तामा पित्तलका सरसामान किनमेल गर्ने परम्परा रहँदै आइरहेको छ।’

राष्ट्र बैंकले २२ वटा वाणिज्य बैंकलाई सुन आयात गर्न अनुमति दिँदै आइरहेको छ। नेपाल बैंकर्स संघमार्फत कोटा वितरण गरेर आर्थिक वर्ष ०७४/७५ मा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँको सुन आयात भएको थियो। आव ०७३÷७४ को तुलनामा तीन अर्ब ९३ करोडभन्दा बढीको सुन आयात भएको थियो। यो तथ्यांकले हरेक वर्ष बजारमा सुनको माग बढ्दै गएको पुष्टी हुन्छ। गत आवमा सात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको नेपाल बैंकर्स संघले जनाएको छ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले दसैंपछि सुनचाँदीको व्यापार बढेको बताए। ‘दसैंअघिसम्म सात सय केजी सुन स्टक थियो,’ उनले भने, ‘अहिले स्टक सुनको मात्रा तीन सय केजीजति छ। दसैंपछि सुनको व्यापार केही मात्रामा बढ्दै आइरहेको छ।’ शर्माले विगतको तुलनामा यस वर्ष सुनचाँदीको व्यापारमा गिरावाट आएको बताउँछन्। ‘गत वर्षको तिहारमा सुन खोसाखोस हुन्थ्यो,’ उनले भने, ‘पछिल्लो समय सुस्ताएको बजार केही गुल्जार देखिएको छ।’

प्रकाशित: ११ कार्तिक २०७६ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App