४ वैशाख २०८१ मंगलबार
अर्थ

चितवन निकुञ्ज घुम्ने स्वदेशी बढे

चितवन- भूकम्पपछि थलिएको चितवनको पर्यटन पुरानो अवस्थामा फर्कन नसके पनि स्वदेशी पर्यटकको आवागमन उत्साहप्रद देखिएको छ। स्वदेशी पर्यटकको संख्यालाई मात्रै आधार मान्ने हो भने चितवनको पर्यटन सामान्य अवस्थामा नै फर्केको छ। तर पर्यटकको कुल संख्या अझै पनि आधाभन्दा कम छ।

कात्तिक चितवन निकुञ्ज घुम्न सबैभन्दा धेरै पर्यटक आउने महिना हो। भूकम्पअघिको सामान्य अवस्थामा २०७१ कात्तिकमा २५ हजार ७ सय ८१ पर्यटकले चितवन निकुञ्ज अवलोकन गरेका थिए। भूकम्पपछि गत वर्षकात्तिकमा यो संख्या ८ हजार ७ सय ५३ मात्रै थियो। यो वर्षकात्तिकमा१८ हजार ३१ पर्यटकले निकुञ्ज घुमेका छन्।

भूकम्पअघि र पछिको पर्यटक संख्यामा असमानता भेटिए पनि स्वदेशीको संख्या लगभग समान हुन थालेको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट प्राप्त विवरण अनुसार ०७१ कात्तिकमा यो निकुञ्ज घुम्ने पर्यटकमध्ये स्वदेशी ४ हजार ४ सय ६९ थिए। यो वर्ष कात्तिकमा पनि स्वदेशी पर्यटकको संख्या ४ हजार २ सय ७६ रहको छ।

यो वर्षसाउनमा हजारभन्दा कम रहेको स्वदेशी पर्यटकको संख्या असोजमा दुई हजार नाघेको थियो। कात्तिकमा यो संख्या दोब्बर भएको हो। सामान्य अवस्थामा सबैभन्दा धेरै पर्यटक आउने महिना कात्तिक भए पनि नेपाली धेरै आउने पुस हो। स्वदेशी आउने क्रम सुधारोन्मुख देखिएकाले पर्यटक संख्या अब राम्रै हुने होटल व्यवसायीको आशा छ।

'निकुञ्ज प्रवेश गर्नेको तथ्यांकले स्वदेशी पर्यटक सामान्य अवस्थामा पुगेको देखिन्छ। यो खुसीको कुरा हो। विदेशी पर्यटक बढाउन अझै गाह्रो भएको देखिन्छ,' क्षेत्रीय होटल संघ सौराहा, चितवन च्याप्टरका अध्यक्ष सुमन घिमिरेले भने। ०७१ कात्तिकमा नेपालीबाहेक सार्कका २ हजार ५ सय २४  र अन्य विदेशी १८ हजार ७ सय ७८ जना आएका थिए।

यो वर्षकात्तिकमा सार्क देशका १२ सय ८९ र अन्य विदेशी १० हजार ७ सय २१ जना आएको चितवन निकुञ्ज मुख्यालयले जानकारी दिएको छ। दसैं, तिहार र जाडोको छुट्टीमा नेपालीहरु धेरै घुम्ने पर्यटन व्यवसायी बताउँछन्। त्यसैले असोज, कात्तिक र पुसमा स्वदेशीको संख्या धेरै हुने गरेकोअध्यक्ष घिमिरेले बताए।

चार महिनामा ३८ हजार

चितवन राष्ट्रिय निकुञ्ज यो आर्थिक वर्षको चार महिनामा ३८ हजार ६ सय ४ पर्यटकले घुमेका छन्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराबाट प्राप्त विवरण अनुसार यो आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म २७ हजार ५ सय ४६ विदेशी, ८ हजार १ सय २० नेपाली र सार्क क्षेत्रका २ हजार ९ सय ३८ ले निकुञ्ज घुमेका छन्।

'यो चार महिनामा निकुञ्जले ६ करोड ११ लाख ६ हजार ४ सय ६० रुपैयाँ राजस्व संकलन गरेको छ,' चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीको जिम्मेवारी वहन गरिरहेका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र मधेस आन्दोलन तथा नाकाबन्दीले नराम्ररी थला परेको पर्यटनमा सुस्त गतिको सुधार देखिएको छ।

भूकम्प नगएको बेलामा २०७१ साउनदेखि कात्तिकसम्ममा ७४ हजार १ सय २८ जनाले निकुञ्ज घुमेका थिए।भूकम्पपछि २०७२ साउनदेखि कात्तिकसम्मको यो संख्या १८ हजार १ सय ३८ थियो।

सामान्य अवस्थाको भन्दा यो आर्थिक वर्षचार महिनामा लगभग आधा कम पर्यटक चितवन निकुञ्ज घुम्न आएका आएका छन्। तर, गत वर्षको तुलनामा यो वर्ष केही सन्तोषजनक अवस्था छ।गत वर्षसाउनदेखि कात्तिकसम्मको भन्दा यो वर्षको सोही अवधिमा चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या दोब्बर हो।

व्यवसायीहरु उल्लेख्य सुधार नभए पनि क्रमिक सुधार देखिएको भन्दै आशावादी बनेका छन्। चितवन निकुञ्ज आसपासमा डेढ सय पर्यटकीय होटल तथा रिसोर्ट छन्। पर्यटक आवागमन कम हुँदा व्यापार व्यवसाय प्रभावित भएको छ।

पछिल्लो समय नारायणगढ मुग्लिन सडकका कारण पनि पर्यटक आवागमन प्रभावित हुने गरेको व्यवसायीहरुको अनुभव छ। सडक विस्तारको काम सुरु भएका कारण ३६ किलोमिटर दुरी पार गर्न अहिले घन्टौं लाग्ने गर्छ।

चितवन निकुञ्ज देशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो। काठमाडौं र पोखरापछि सबैभन्दा धेरै पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन्। निकुञ्जभित्र दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघ लगायत वन्यजन्तु हेर्न देश, विदेशबाट पर्यटकआउँछन्। हात्ती वा जीप चढेर वा पैदलै हिँडेर उनीहरु निकुञ्ज र यहाँ रहेका जिवजन्तु, चरा र जलचर हेर्ने गर्छन्।

राप्ती नदीमा डुंगा चढेर दुर्लभ घडियाल तथा मगर गोही हेर्न पनि पर्यटकले निकै रुचाउने गरेका छन्। निकुञ्ज आसपासका थारु, दराई, बोटेहरुको रहनसहन, संस्कार, संस्कृति र जीवनशैली अवलोकन पनि गर्न पाइन्छ। थारु नाँच यहाँको मुख्य पर्यटकीय गतिविधिमा पर्छ।

प्रकाशित: १७ मंसिर २०७३ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App