८ वैशाख २०८१ शनिबार
अन्य

बालबालिकालाई हाइकिङ

भाइबहिनी हो, अहिले हामी सबैमा हिँड्ने बानी कम भएको छ। प्रायः सबै मोबाइल फोन र इन्टरनेटमै व्यस्त हुन्छन्। बढ्दो शहरीकरण, व्यस्त र आधुनिक जीवन शैलीले गर्दा पनि हिँड्ने बानीमा कमी आएको हो। जता जानु परे पनि सवारी साधनमा यात्रा गर्ने बानी विकास भएको छ। केही वर्ष अघिसम्म बालबालिका बाहिर खेल्ने र कुद्ने गर्थे। रमाउँथे। यसरी खेलकुद गर्दा शरीरको व्यायाम भई स्वस्थ हुन्थे। अचेलका बालबालिका एउटै कोठामा घन्टौं विद्युतीय उपकरणमा रमाउँछ। यसले गर्दा शारीरिक व्यायामको कमी हुनुका साथै प्रकृति र यसको नियमबारे ज्ञान कम भएको छ।

भाइबहिनीहरू हो !  प्रकृति हाम्रो ज्ञानको भण्डार हो अनि खुल्ला पुस्तक पनि। जो यसको नजिक पुग्छ उसले ज्ञान पाउँछ। प्रकृतिलाई बुझ्न यसको नजिक जानुपर्छ  तर अचेल हामी अधिकांश प्रकृतिबाट टाढा छौं ।  यसको सौन्दर्य र नियमबाट वञ्चित छौ। हामी प्रकृतिका सन्तान हौं। हामी जति प्रकृतिको नजिक पुग्छौं त्यत्तिकै जीवन सरल र स्वस्थ हुन्छ। त्यही प्रकृति बुझ्ने एउटा माध्यम हाइकिङ हो। हाइकिङ अर्थात् पदयात्रा गर्दा शरीरको व्यायाम हुन्छ।

हाम्रो शरीर जति चलायमान रह्यो त्यतिकै शरीरको व्यायाम हुन्छ। हाम्रा हात र खुट्टा काम गरेर खान  र हिँड्नलाई हो। यसो हेरौं त,  कुनै पनि जनावरले पनि बसीबसी खान पाउँदैनन्। जंगलका जनावर सिकार खोज्न दौडन्छन्। घाँस खाने जनावर भोजनका लागि जंगल पस्छन्। त्यसैले हामी पनि स्वस्थ रहन प्रकृतिले दिएका हाम्रा हातखुट्टालाई चलायमान राख्नुपर्छ। पहिलापहिला हाम्रा पुर्खा खानाको लागि सिकार गर्थे। जसले गर्दा उनीहरूको शारीरिक व्यायाम हुन्थ्यो। उनीहरू बलिया हुन्थे। आज हामीमा शारीरिक व्यायाम कम भएको छ। शरीर बलियो र स्वस्थ राख्न हरेकले व्यायाम अथवा हिँड्डुल गर्नुपर्छ। साना  हुन् या ठूला मान्छे सबैले दिनमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टा हिँड्ने वा व्यायाम गर्ने गर्नुपर्छ।

हाइकिङको अर्थ हो–हिँड्नु। ‘हाइ’ भनेको उचाइ र ‘किङ’ भनेको राजा। उचाइको राजा अर्थात् उचाइमा हिँडेर स्वास्थ्य लाभ गर्नुलाई हाइकिङ भनेर बुझ्न सकिन्छ। स्वस्थ रहन हामीले दिनमा कम्तीमा ४५ मिनेट हिँड्नु पर्छ भने महिनामा एक पटक हाइकिङ गर्नुपर्छ।

हाइकिङ एउट राम्रो व्यायाम हो। हाइकिङको अर्थ हो–हिँड्नु। अंग्रेजीमा ‘हाइ’ भनेको उचाइ र ‘किङ’ भनेको राजा। उचाइको राजा अर्थात् उचाइमा हिँडेर स्वास्थ्य लाभ गर्नुलाई हाइकिङ भनिन्छ। स्वच्छ वातावरण भएका गाउँघरतिर हिँड्डुल गर्नुलाई अंग्रेजीमा हाइकिङ र नेपालीमा पदयात्रा भनिन्छ। बिहान १ घण्टा हिँड्नुलाई भने ‘मर्निङ वाक’ भनिन्छ।

बालबालिकालाई हाइकिङ लाभदायक हुन्छ। बालबालिका सिक्नमा जागरूक हुन्छन्। नयाँ ठाउँ र नयाँ परिवेशमा पुग्दा धेरै कुरा सिक्छन्। रमाउँछन्। हाइकिङबाट स्वास्थ्य त राम्रो हुन्छ नै धेरै किसिमको ज्ञान पनि पाइन्छ।

ललितपुरमा रहेको प्रकृतिप्रेमी समूहले हरेक महिनाको चौथो शनिबार काठमाडौं वरपर हाइकिङ गराउँदै आएको छ। समूहको पदयात्रामा बालबालिका औधी रमाउँछन्। उनीहरू हरिया जंगल, खेतमा बाख्रा चरिरहेको दृश्य, लहलह झुलेका बाली र हरियालीमा रमाउँछन्।

स्वच्छ हावापानी भएको ठाउँमा पुग्दा बालबालिका सिर्जनशील बन्छन्। त्यसैले अभिभावक र शिक्षकले आफ्ना बालबालिकाहरूलाई हिँड्न प्रेरित गर्नुपर्छ। विद्यालयले पनि विद्यार्थीलाई महिनाको एक पटक हाइकिङ गराई गाउँलेपन बुझाउनुपर्छ। त्यसैले हिँड्ने बानी बसालौं । स्वस्थ बनौं।

कति  हिँड्ने– ८ वर्षदेखिका बालबालिकालाई हाइकिङ गराउन सकिन्छ तर बालबालिका धेरै समय हिँड्न सक्दैनन्। ८ देखि १२ किमि अर्थात् तीनदेखि चार घन्टासम्म हिँडाउन सकिन्छ। लगातार हिँडाइ राख्नु हुँदैन। ठाउँठाउँमा आराम गराउँदै, गएको ठाउँको परिचय दिँदै र रमाइलो गराउँदै हिँडाउनु पर्छ।

कसरी हिँड्ने– सुरुमै छिटोछिटो हिँड्नु हुँदैन। त्यसरी हिँड्दा श्वास फुलेर गाह्रो हुन्छ। त्यसैले विस्तारै मध्यम गतिमा हिँडाउने। उकालोमा हतार नगर्ने। उकालोमा हतारहतार हिँडेमा छातीमा अप्ठेरो भई  श्वास फुल्छ। ठाउँठाउँमा आराम गर्दै पानी ब्रेक गर्दै हिँड्ने। त्यसै गरी ओरालो झर्दा शरीरको सबै भार घुँडामा पर्ने भएकाले घुँडालाई असर नपर्ने गरी झर्नुपर्छ। शरीरमा समस्या भएकाले ध्यान दिएर हिँड्ने। अनि गर्मी भयो भनेर चिसोमा एकैचोटि लुगा फुकाल्नु हुँदैन।

के खाने– स्वास्थ्यका लागि हिँड्ने भएकाले सकेसम्म ‘जंकफुड’ र भारी खाना नखाने, नखुवाउने। यस्तो खानाले शरीर भारी भई हिँड्न गारो हुन्छ। स्वास्थवद्र्धक खाना जस्तै मकै, चिउरा, फलफूल खाने। अमिलो, चिल्लो, पिरो भएका चिप्स, पाउँ खाँदा एसिडिटि बढेर टाउको दुख्ने र वाकवाकी लाग्ने समस्या हुन्छ।

पानी कसरी पिउने– घाममा हिँड्दा मात्र होइन, अरू बेलामा पनि पानी नियमित पिउनु पर्छ।  घाममा हिँड्दा त शरीरबाट पसिना धेरै बग्छ। त्यसैले समयसमयमा पानी खुवाउनुपर्छ। पानी आधादेखि एक घन्टा फरकमा खुवाउने। एकै पटक धेरै पानी पिउनु हुँदैन। एक पटकमा करिब २०० एमएल मात्र खुवाउने। पानी र ठोस आहार खाने समयको अन्तर कम्तीमा आधा घन्टा हुनुपर्छ। यसो गर्दा डिहाइड्रेसन हुँदैन। टाउको दुख्दैन। ध्यान दिनु पर्ने कुरा, गर्मी भयो भनेर एकै पटक चिसो पानी धेरै पिउनु हुँदैन।

ध्यान दिऔं – सकेसम्म प्रदूषणरहित गोरेटोमा हिँड्ने। नसके कम गाडी चल्ने ठाउँमा हिँड्ने। हिँड्दा सजिलो लुगा र जुत्ता लगाउने। पछाडि भिर्ने ब्यागमा दुई लिटर पानी बोक्ने। ट्रेकिङ लौरो, क्यामेरा, नोट बुक, कम्पास र कलम बोक्ने। मौसमअनुसार छाता, बर्सादी, घाम छेक्ने क्याप र सनग्लास बोक्ने। साथै प्राथमिक उपचार सामाग्री सिटामोल, घाउमा राख्ने टेप, ब्यान्डेज, सियो, धागो आदि बोक्ने। जथाभावी खाएर जथाभावी नहिँड्ने, त्यसले स्वास्थ्यलाई लाभ गर्दैन।

समूहमा हाइकिङ गर्ने। जंगलमा एक्लै हिँड्नु हुँदैन। शिक्षक या अभिभावक जसलाई त्यो रुटबारे ज्ञान छ उहाँहरूसँगै हिँड्ने। हिँड्दा अरूलाई बाधा पर्ने गरी नकराउने। प्लास्टिक वा कागज आदि फोहोर जथाभावी नफाल्ने। झारपातमा विषालु किरा हुन सक्छन, त्यता हात नलगाउने। अर्को कुरा गाउँमा सकेको सहयोग गर्दै हिँड्ने। समय ख्याल गरेर हिँड्ने।

हाइकिङका फाइदा
१) शहरको धुवाँ, धुलो र कोलाहलबाट बाहिर निस्केर गाउँ डुल्न पाइन्छ। मन र शरीर चङ्गा हुन्छ। स्वच्छ हावामा सास फेर्न पाइन्छ। हिँड्दा खुट्टाका जोर्नीको कसरत भई शरीर बलियो बन्छ।  खुम्चिएका नसा तन्किन्छन्। शरीरबाट पसिना निस्कन्छ। पसिनाबाट शरीर भित्रका फोहोर तत्व बाहिर निस्कन्छ  अनि शरीरमा ताजापन आउँछ।

२) स्वच्छ वातावरण भएका जंगलमा हिँड्दा शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँछ। श्वासप्रश्वास  राम्रो भई शरीर हल्का हुन्छ। स्वास्थ्य राम्रो हुन्छ। स्वच्छ हावा र सफा ठाउँमा हिँड्दा मन पनि सफा हुन्छ। स्मरण शक्ति बढ्छ। शरीरमा स्फूर्ति बढ्छ। बौद्धिक विकास हुन्छ।

३) बालबालिकाले हिँड्दा नयाँ कुरा सिक्न सक्छन् र देशलाई नजिकबाट चिन्छन्। स्वच्छ वातावरण भएका गाउँघरमा हिँड्दा ग्रामीण परिवेश बुझ्न पाइन्छ। स्थानीय कलासंस्कृति बुझ्न सहयोग पुग्छ।

४) हिँड्दा प्रकृतिसँग नजिकिन्छ। जति प्रकृतिसँग नजिकियो त्यति नै सरल र स्वस्थ बन्न सहयोग पुग्छ। हाइकिङले प्रकृति र संस्कृति चिन्न मद्दत पुग्छ। हामी नेपाली प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सौन्दर्यले धनी छौं। ती कुरा हाइकिङमा अनुभव गर्न पाइन्छ।

५) बालबालिकाले किताबमा पढेका कुरा घुमघाममा देख्न पाउँछन्। स्वच्छ ठाउँमा पुग्दा दिमाग स्वच्छ हुन्छ। सिर्जनात्मक बन्छन्। बालबालिका आफैंमा जिज्ञासु हुन्छन्। घुमफिरमा धेरै कुरा जान्न सक्छन्। पढेका कुराहरूको व्यवहारिक ज्ञान सिक्न सकिन्छ।

६) हाइकिङमा नयाँ साथी बनाउन पाइन्छ। नयाँ विषय, नयाँ परिवेश र नयाँ साथीसँग घुलमिल हुँदा ज्ञान बढ्छ।

७)हिँड्दा देशको इतिहास बुझ्न सकिन्छ। मन्दिर, जंगल खोलानाला, हिमाल, डाँडाकाँडा, परम्परागत घर, खेतबाली र किसानको मेहेनत देखिन्छ। सबैले बेलैमा आफ्नो मातृभूमि चिन्नुपर्छ। मातृभूमि चिने मात्र देशप्रति माया बढ्छ। देशका लागि केही गरौं भन्ने भावना जाग्छ।
यसरी हिँड्दा आन्तरिक पर्यटन विकास हुन्छ। आपसमा सद्भाव बढ्छ।

प्रकाशित: ११ कार्तिक २०७६ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App