७ वैशाख २०८१ शुक्रबार
कला

‘तिहारै आयो लौ झिलिमिली’

यादव खरेल, गीतकार

हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको,
हे औँशी बारो गाई तिहारो भैलो,
तिहारै आयो लौ झिलीमिली...।

यो नेपाली चलचित्र स्वर्गको गीत हो। यसले तिहारको बयान गर्छ, गाथा गाउँछ, हिन्दू धर्मावलम्बीको परम्परा र प्रचलन, संस्कार र संस्कृति बोल्छ। देउसी–भैलो विशेषतः हिन्दूहरूको संस्कृति हो। तिहारमा लक्ष्मी अर्थात् धनकी देवीलाई भित्र्याउन गाईको गोबरले घर पोतेर शुद्ध बनाइन्छ। लक्ष्मी आउने बाटो बनाइन्छ र लक्ष्मीको पूजा गरिन्छ। घरका दैलो र झ्यालमा स–साना दियोमा बत्ती बालिन्छ। यही समयमा महिलाले भैलो माग्ने चलन छ। यसरी तिहारको वातारण सिर्जना हुन्छ। घरबेटीले नाङ्लोमा फलफूल, चामल लगायत भेटी दिएपछि उनीहरूले आशिष दिएर जाने चलन छ।

तिहारै आयो लौ झिलीमिली
ए सुन हजुर भैलिनी आँगन
मनको आँखा उघारी हेर
ए सुन हजुर लक्ष्मी आइन् आँगन।

चलचित्रको गीत भएकाले यसमा दुई अर्थ छन्। एकातिर लक्ष्मी नै आइरहेको कुरा छ। अर्कोतिर, यसमा नायिका र नायकको अन्तर्सम्बन्ध छ। चलचित्र अनुसार यसमा नायक शिव श्रेष्ठलाई नायिका गौरी मल्लले आफू आएको संकेत दिन्छिन्।

तिहारमा देउसीभैलो खेल्नु हिन्दू धर्मावलम्बीको परम्परा हो। पहिले महिलाले देउसी खेल्दैनथे, भैलो मात्र खेल्थे। अहिले त्यस्तो छैन। देउसी खेल्ने राति मात्र आउँथे। अहिले साँझै नपरी महिला–पुरुष मिसिएर आउँछन्।

झ्यालैमा बत्ती दैलोमा बत्ती
ए सुन हजुर जोरबत्ती पालैमा
लक्षिन पसुन् यो घरभित्र
ए सुन हजुर लौ नयाँ सालैमा।।

यो शुभकामना वा आशिष हो। यसले उन्नति, प्रगति र समृद्धिको कामना बोल्छ। नयाँ साल शब्दले नयाँ दिन र फेरिएको समयको पनि संकेत गर्छ।

सिनेमाको कथासँगै नेपाली संस्कृतिलाई मिश्रण गरेर लेखिएको गीत हो यो। यसले सिनेमाको कुरालाई जोडेको छ। यसले अलिकति गुनासो र मायामा घुर्की पनि देखाइएको छ।

सिनेमाको कथाले यहाँ के भन्छ भने, नायिका गौरी मल्ल नायक शिव श्रेष्ठलाई भेट्न आएकी हुन्छिन्। त्यहाँ नायक देखा पर्दैनन्। नायकले अनुहार नै नदेखाएपछि नायिकाले ‘हिँड है साथी फर्की जाउँ’ भनेर घुर्काउँछिन्।

टाढाका हामी धाएर आयौँ, हाम्रो त घर हो गैरी गाउँ,
मनका धनी रैनछन् यहाँ, हिँड है साथी फर्की जाउँ।।    

गीतले संस्कृतिसँगै दुःखसुख देश, काल र परिस्थिति पनि भन्छ। पहिले धन कमाउन लाहुर जाने, बेलायती वा भारतीय सेनामा भर्ती हुने चलन थियो। उनीहरूले चाडबाडमा पनि घर फर्कन पाउँदैनथे। त्यस्तो बेला घर–परिवारलाई नरमाइलो लाग्थ्यो। प्रेमी–प्रेमिका, पति–पत्नीलाई बिछोडिन मन लाग्दैनथ्यो। त्यसैले यहाँ नायिकाले नायकलाई लाहुर नजान आग्रह गरेकी छे–
मेरो हजुर नजाउ लाहुर
नेपालमा पाइन्छ जागिर।।

चलचित्र र गीत
२०४९ सालतिर, निर्देशक शम्भु प्रधानले आग्रह गरे, ‘दाइ, स्वर्ग चलचित्रका लागि गीत लेखिदिनु-यो।’ हाम्रो संस्कृति झल्कने गरी मैले लेखेँ, यो गीत नेपाली माझ निकै लोकप्रिय भयो।

मान्छेको पहिचान भनेकै उसको संस्कृति र संस्कार हो। हाम्रो देशमा हिन्दूहरूको बाहुल्य छ। आफ्नो संस्कृति झल्किएकाले नै अधिकांशले यसलाई मन पराए।

यो गीत लेखेको २७ वर्ष भइसक्यो। अझै पनि तिहारमा मकहाँ आउने स–साना भाइबहिनीले यही बजाएर नाच्छन्। उनीहरू कतिलाई यो गीत मैले लेखेको भन्ने थाहा छैन।

अचेल त रेडियोले पनि यो गीत कसले लेखेको भन्छ कि भन्दैन, थाहा छैन। जेहोस्, तिहारका बेला धेरैतिर यो गीत बजेको सुन्छु, खुसी लाग्छ।

आदिकवि भानुभक्त सिनेमा बनाउने क्रममा दार्जिलिङ घुम्न गएको थिएँ। त्यहाँ पनि ठाउँठाउँमा यो गीत बजेको सुनेँ।

हरेक वर्षको तिहारले यहीँ गीतको सम्झना गराउँछ। हरेक ठाउँमा यहीँ गीत बज्न थाल्छन्। यो गीतले तिहारको भाव बोकेको छ। जबसम्म श्रोताले गीतलाई स्विकार्नुहुन्छ, माया गर्नुहुन्छ तबसम्म गीत चल्छ।

यो गीत कसरी, कस्तो अवस्थामा लेखेँ भन्ने सम्झना छैन। सिनेमाका लागि गीत लेखनको तरिका के हो भने, गीतको बारेमा निर्देशकसँग छलफल गर्नुपर्छ। कथा, पात्र र परिवेश मिल्ने किसिमले लेख्नुपर्छ। निर्देशकले यी सबैको बारेमा बुझाएपछि मात्र गीत लेख्ने हो। मैले यो गीत शम्भु भाइले भने अनुसार लेखेको हुँ। लेख्नुअघि उनलाई सिनेमाको कथा भन भनेको थिएँ। उनले कथाको परिवेश बुझाए। सबै कुराको चित्त बुझेपछि मैले उनलाई गीत लेखेर दिएँ। गीत लेखिसकेपछि पनि फेरि निर्देशकसँग बसेर कुराकानी हुन्छ। उसको कथासँग नमिल्ने भयो भने त्यसलाई बदल्दिनुपर्ने हुन्छ। गीत कथाको पात्रसँग मिल्नुपर्छ। सबै कुरा मिलेपछि त्यो गीतलाई कसले संगीत भर्ने र गीतका लागि कसको स्वर सुहाउँछ भन्ने बारेमा सल्लाह हुन्छ।

मैले ४० भन्दा बढी चलचित्रमा गीत लेखेको छु, सबै गीत उत्तिकै चल्दैनन्। केही गीत कैयौँ वर्ष र दशकसम्म चल्छ। ५० वर्षअगाडि लेखेको ‘यस्तो पनि हुँदो रैछ’ बोलको गीत अहिलेसम्म श्रोताहरूले मनपराएको देखिन्छ। केही गीत ६ महिना, वर्ष दिन चलेर हराउँछन्। त्यसकारण कुन गीत लामो समय बाँच्छ भन्न गाह्रो छ। यति भन्न सकिन्छ, गीतले मान्छेलाई छुनुपर्छ, मान्छेको जीवन–व्यवहार र संस्कार–संस्कृति हुनुपर्छ, त्यो गीत चल्छ।

गीत तीन शब्द, संगीत र गायनको त्रिवेणी हो। यी तीन चिजको राम्रो मेल भयो भने गीत लामो समय चल्छ। अहिले गीतको साहित्यिक र सिर्जनात्मकतालाई भन्दा बढी बजारलाई महत्व दिन थालिएको देखिन्छ। पहिले गीत सुनिन्थ्यो, अहिले सुनिँदैन मात्रै हेरिन्छ पनि। भिजुअल भएन भने गीत सम्प्रेषण हुँदैन। अहिले कसरी गीतलाई चर्चित बनाउने भन्नेमा मात्र ध्यान गएको देखिन्छ। गीतलाई चर्चित बनाउने नाममा विकृति पनि आएका छन्, उच्शृङ्खल शब्दको पनि प्रयोग भएको देखिएको छ।

गीतले जीवन, जगत् र प्रकृतिसँग साइनो राख्छ। त्यसमा मायाप्रीति, संस्कृति, सुखदुःख आएको हुन्छ नै। संस्कृति हाम्रो जीवनको एउटा अभिन्न अंग हो। संस्कृतिसँग जोडिएका मेरा धेरै गीत छन्। मैले आफूले भोगेको, बुझेको जीवनलाई गीतमा उतार्ने हो। आफू पहाडमा जन्मिएको हुनाले पहाडी संस्कृति मेरा गीतमा आएका छन्।
(नागरिककर्मी ज्योति श्रेष्ठले वरिष्ठ गीतकार खरेलसँग गरेको कुराकानीमा आधारित।)

प्रकाशित: ११ कार्तिक २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App