coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

राजकुमारले जिते मुस्ताङ रेस

काठमाडौं- राजकुमार श्रेष्ठ मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसमा च्याम्पियन भएका छन्। मुस्ताङमा पहिलोपटक भएको साहसिक प्रतियोगिताको उपाधि जित्ने क्रममा राजकुमारले निर्धारित दुरी १४ घन्टा ५४ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए। सात चरणमा गरी सकिएको प्रतियोगिताको दौड दुरी २ सय २० किलोमिटर राखिएको थियो।

यसैगरी प्रतियोगितामा बुद्धिबहादुर तामाङ दोस्रो र मानबहादुर थापामगर तेस्रो भएका छन्।

च्याम्पियन राजकुमारले १ लाख २५ हजार, दोस्रो भएका बुद्धिबहादुरले ७५ हजार र तेस्रो भएका मानबहादुरले ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए।

शुक्रबार प्रतियोगिताको फाइनल चरण हुनुअघि राजकुमारले १३ घन्टा ६ मिनेट ४७ सेकेन्डले अग्रता लिइरहेका थिए। अन्तिम एवं फाइनल चरणमा मनाङको मार्फादेखि तातोपानीसम्म ५० किलोमिटर दूरी राजकुमारले १ घन्टा ४८ मिनेट १० सेकेन्डमा पार गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए।

राजकुमारलाई पछ्याउँदै दोस्रो भएका बुद्धिबहादुरले १६ घन्टा ३३ मिनेट ४० सेकेन्ड र मानबहादुरले १७ घन्टा २२ मिनेट ५२ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए। चौथो स्थानमा रहेका राजेन्द्र चेम्जोङले १९ घन्टा ५ मिनेट ०९ सेकेन्ड लगाए भने प्रतियोगिताकै कान्छो सहभागी १६ वर्षे प्रचित थापामगरले २० घन्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गर्दै पाँचौं स्थान हासिल गरे।

विदेशीतर्फको प्रतिस्पर्धामा बेलायतकी इजाबेल बोइडले २४ घन्टा ६ मिनेट ३० सेकेन्डमा दूरी पूरा गरिन्। नेपाली महिलातर्फ उत्कृष्ट प्रदर्शन गर्ने क्रममा आर्मीकी पुष्पा भण्डारीले ३१ घन्टा २९ मिनेट ५० सेकेन्डमा रेस पूरा गरेकी थिइन्।    

पहिलोपटक आयोजित रेस कागबेनीबाट सुरु भएको थियो।

रेसको पहिलो दिन १३.२ किलोमिटर, दोस्रो दिन मुक्तिनाथबाट ४०७० मिटरको ग्याला पास हुँदै २२ किमीको दुरी पार गरेर चेलेमा सकिएको थियो।

तेस्रो दिन चेलेबाट घमीसम्मको ३६ किमि थियो। त्यसमा रेसका सहभागीले ३८६० मिटरको यमदला पास, ३९०० मिटरको स्याङबोचे पास र ४०१० मिटरको नेला पास पार गर्दै ३६५० मिटरको उचाईं रहेको घमी पुगेका थिए। चौथो दिन  घमीबाट ३९०० मिटरको लोला पास हुँदै २६ किमि दुरीमा रहेको उपल्लो मुस्ताङको राजधानी लोमाङथाङ पुगेको थियो।

पाँचौं दिन लोमाङथाङबाट टाँगे र छैटौं दिन टाँगेबाट मार्फासम्मको दूरी पूरा भएको छ। पाँचौ र छैटौं दिनको यात्रा प्रतियोगिताकै अति नै कठिन चरणमध्ये एक थियो। ३३५० मिटरमा अवस्थित टाँगेसम्म ३२.३ किमि र टाँगेबाट मार्फासम्म ४८.३ किमी रहेको थियो। छैटौं चरणको टाँगेबाट  ४२०० मिटरमा रहेको पाहला पाससम्म करिब ३ किमि दूरी प्रतियोगीले साइकल बोकेर पार गरेका थिए। सातांै दिन मार्फादेखि म्याग्दीको तातोपानी रुट तय गरिएको थियो।

सुरुआती चरणमा मिहिनेत गरेका कारण अन्त्यतिर रेसमा सहज हँुदै गएको विजेता राजकुमारले बताए। उनले भने, …हाइअल्टिच्युटमा साइकल कुदाउन सजिलो छैन। उपल्लो मुस्ताङको दृश्य हेर्दै साइकल कुदाउन पाउँदा खुसी लाग्यो।'  

एडभेन्चर स्पोर्टस नेपालको आयोजना गरेको प्रतियोगितामा सात नेपालीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा महिलातर्फ दुई खेलाडीले भाग लिएका थिए।

प्रतियोगिताका व्यवस्थापक शिखर पाण्डेले सहभागी सबैलाई धन्यवाद दिँदै मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसले नेपालमा माउन्टेनबाइक र  साहसिक खेल पयर्टन विकासमा योगदान पुर्‍याउने बताएका छन्।

प्रकाशित: १७ मंसिर २०७३ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App