७ वैशाख २०८१ शुक्रबार
खेल

रोकिएन हारको शृङ्खला

काठमाडौं- नेपालले एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटमा बिहीबार लगातार चौथो हार बेहोरेको छ। नेपाली टोली आयोजक थाइल्यान्डसँग ८ विकेटले पराजित भयो।यसअघि नेपाली टोली पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले पराजित भएको थियो।

ब्याटिङमा कमजोर देखिएपछि नेपालले प्रतियोगिताका कुनै पनि खेलमा गतिलोस्कोर बनाउन सकेको छैन। नेपालले प्रस्तुत गरेको लक्ष्यप्रतिद्वन्द्वीहरूले सहजै पार गरेका छन्।

बिहीबार नेपालले आयोजकसामु ६४ रनको लक्ष्य छाडेको थियो। त्यसलाई थाइल्यान्डले १६ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

जारी प्रतियोगितामानेपाली टोली पहिलोपल्ट पूरा ओभर टिक्ने अभियानमा रह्यो। टस जितेर ब्याटिङ गरेको नेपालले सुधारोन्मुख स्कोर बनाउने प्रयास गरेको थियो। आयोजक थाइल्यान्डविरुद्ध बनाएको रन प्रतियोगितामा नेपालको ठूलो स्कोर हो।

यसअघि ५० भन्दा माथि रन बनाउन नसकेको नेपालले चौथो खेलमा ६३ रन बनायो। तर प्रतियोगितामैनिराशजनक पक्ष भनेको एउटा खेलाडीबाहेक अरुले थाई टोलीविरुद्ध पनि दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

अन्तिम बलअघि अलआउट भएको नेपालका लागि ज्योति पाण्डेले १६ रन बनाइन्। जुन नेपाली इनिङमा व्यक्तिगत उच्च स्कोर थियो। ओपनर उनले २६ बलमा २ चौका हान्दै उक्त स्कोर बनाएकी हुन्। ज्योतिले श्रीलंकाविरुद्ध टोली २३ रनमा अलआउट हुँदा पनि १६ रन जोडेकी थिइन्। ज्योति बाहेक नेपाली इनिङमा दोस्रो ठूलो स्कोर अतिरिक्त ११ रन थियो।

ज्योतिले आठौं ओभरसम्म खेल्दै नेपालको सुरुआतलाई सुखद बनाउने प्रयास गरिन्। तर उनी पहिलो विकेटको रुपमा सोर्नारिन टिप्पोचको बलमा नतया बुचाथमबाट क्याचआउट भइन्। उनी आउट हुँदा टोलीको खातामा ३० रन थियो। जुन प्रतियोगितामा नेपालले पहिलो विकेट गुमाउँदा बनाएको उच्च स्कोर हो। पहिलो विकेटसँगै नेपालले लगातार विकेट गुमाएको थियो।

नवौं ओभरमा इन्दु बर्मा र दसौं ओभरमा सीता रानामगर आउट हुँदा नेपाल तीन ३१/३को स्थितिमा थियो। सीताले ९ र इन्दु १ रन बनाएर आउट भए। नेरी थापाले ७ रकप्तान रुबिना क्षेत्रीले ८ रन बनाए। रुबिनाले एक चौका पनि हानिन्। रश्मी चौलागार्इं (१), काजल श्रेष्ठ (२), सीता मगर (४), करुणा भण्डारी (२), संगीता राई (२) सस्तैमा आउट हुँदा सवनम राई (०) अविजित थिइन्।

थाइल्यान्डबाट बलिङ गरेका सबैले विकेट लिएका थिए। त्यसमा टिप्पोच र सुलेपर्न लाओमीले २–२ विकेट लिए।

जवाफमा ओपनर सिरिनत्रा साइङसाकारटले अविजित २७ र नाटाकन चान्तमले २४ रनको योगदान गरेपछि थाइल्यान्डले १६ ओभरमा विजय लक्ष्य भेटेको थियो। नाटाकनलाई १२औं ओभरमा नेरी थापाले आउट गर्दा थाइल्यान्डले ४६ रन बनाइसकेको थियो।

नेपालको तर्फबाट सीता मगरले २ विकेट लिइन्। ३ ओभरमा सीताले १३ रन खर्चेकी थिइन्।

हारसँगै थाइल्यान्डविरुद्धको खेलमा नेपाल लगातार पराजित हुने क्रम बढिरहेको छ। प्रतियोगिताअघि खेलिएको अभ्यास खेलमा पनि नेपाल थाइल्यान्डसँग १९ रनले पराजित भएको थियो।

गत महिना बैंककमै सम्पन्न विश्वकप छनोट क्रिकेटमा नेपाललाई थाइल्यान्डले दुईपटक खेल्दा तीन विकेट र एक विकेटले पराजित गरेको थियो।

एसिया कपमा विश्व क्रिकेटका शक्तिशाली राष्ट्रभारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले खेलिरहेका छन्।

बिहीबारै अर्को खेलमा साबिक विजेता भारतीय टोली श्रीलंकालाई ५२ रनले हराउँदै शीर्ष स्थान यथावत छ। भारतले खेलेका सबै चार खेल जित्दै ८ अंकजोडेको छ। दोस्रो स्थानको पाकिस्तानसँग ६ अंक छ। श्रीलंका र बंगलादेशसँग समान ४ तथा थाइल्यान्डसँग २ अंक छ।

आयोजक थाइल्यान्ड र नेपाल बाहेक सबै देश टेस्ट खेल्ने टोली हुन्।

बिहीबारसम्मनेपाल र थाइल्यान्डले एउटा खेल पनि जितेका थिएनन्। थाइल्यान्डले नेपाललाई हराउँदै २ अंक जोडेको हो। नेपालको भने प्रतियोगितामा एक खेल पनि नजित्नेसम्भावना बढेको छ। नेपालले अन्तिम खेलमा साबिक विजेता भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १७ मंसिर २०७३ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App