coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बन्ने भयो 'दुस्साहस'

काठमाडौं- गलत सामाजिक प्रवृत्तिमा रमाउने र अपराध गर्न दुस्साहस गर्नेलार्ई कानुनी कठघरमा उभ्याइनुपर्छ भन्ने मर्मका साथ नयाँ नेपाली फिल्म 'दुस्साहस' बन्ने भएको छ। फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको बिहीबार काठमाडौंमा मुहूर्त गरियो।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका नेता देव गुरुङले फिल्मको क्ल्यापबोर्ड उचालेर 'दुस्साहस'को मुहूर्त सम्पन्न गरे।

'खराब योजना, प्रवृत्ति र अपराधको सहारामा समाजलाई नियन्त्रण गर्न खोज्नु दुस्साहस हो,' निर्माता तथा निर्देशक दिनेश लिङ्देलले भने, 'यसखाले प्रवृत्तिको अन्त्य सही रुपमा र कानुन अनुसार गर्नुपर्छ, यही सन्देश नै दुस्साहसले दिन्छ।'

फिल्ममा रुपा राना, उदय सुब्बा, सोम लामा, अजय खड्का, निशा पोमु, प्रिजन श्रेष्ठ, प्रदीप योङहाङ, कल्याण राई, विवेक बेघा, महेन्द्रकुमार राई लगायतका कलाकारले अभिनय गर्ने जनाइएको छ। राजु किरातीको द्वन्द्व, विकास चौधरीको संगीत तथा ज्ञानु राईको छायांकन रहने फिल्मको छायांकन आगामी सोमबार सुरु हुने समेत निर्माण टोलीले बताएको छ।

कार्यक्रममा यसअघि सम्पन्न भएको लिङ्देन फिल्म अवार्ड सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। सम्मान पाउनेमा शैलेन्द्र थेबे, कल्याण राई, विमल श्रेष्ठ, अनुप लिङ्देन, रामकुमार लिङदेन, दीपक लिङदेन लगायत थिए।

कार्यक्रमका प्रमुख अतिथि नेता देव गुरुङले अहिलेको अभियान सांस्कृतिक अभियान भएकाले आदिवासी संस्कार र संस्कृति जोगाउने खालका फिल्म बनाउन आग्रह गरे। 'त्यस्ता संस्कार र संस्कृतिमा विदेशी अतिक्रमण परेको छ,' उनले फिल्मकर्मीलाई हौस्याए, 'नेपालको असली संस्कृति स्थापित गरी तिनलाई विस्थापित गर्न जरुरी छ।'

त्यस्तै समाजमा व्याप्त अन्याय अत्याचारलाई फिल्मका माध्यमबाट देखाएर सचेत पार्ने प्रयत्न कलाकारले जारी राख्नुपर्नेमा उनले जोड दिए। लिङ्देन फिल्मस्का सल्लाहकार रामकुमार लिङ्देनले बजारमा चल्ने फिल्म बनाउन सबैको सहकार्य आवश्यक रहेको औंल्याए।

लिङदेन युवा समाजका अध्यक्ष विजय लिङ्देनले फिल्म चलाउने सशक्त हातहरुले समाजको गलत तŒवबीच लडिरहेका डा. गोबिन्द केसीजस्ता कर्मशीललाई सहयोग गर्न आग्रह गरे। उनले सचेत नागरिकको हैसियतले समूहगत पहिचानभन्दा खतरामा परेको सिंगो राष्ट्रिय पहिचानका बारेमा सोच्नुपर्ने बेला आएको उल्लेख गरे।

फिल्मकर्मी उदय सुब्बा, महिला उद्यमी कल्पना योङहाङ, उद्यमी राजेन्द्र लिङ्देन लगायत पनि कार्यक्रममा उपस्थित थिए।

प्रकाशित: १७ मंसिर २०७३ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App