४ वैशाख २०८१ मंगलबार
अर्थ

पेट्रोल र ग्यास पाइप लाइनमा पिल्लर गाडियो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पाइपलाइन बिछ्याउने रुटमा औपचारिक प्वाइन्ट पिलर गाडेर शुभारम्भ गर्दै। तस्बिर : नागरिक

बारा – अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपिजी ग्यास ल्याउने पाइपलाइनको निर्माण गर्ने ठाउँमा पिल्लर गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शनिबार पिल्लर गाडेर शुभारम्भ गरेका हुन्।

अमलेखगन्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर दुरीको पेट्रोलियम पाइपलाइन र मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपिजी ग्यास पाइपलाइन निर्माण गर्ने योजना अन्तर्गत पहिलो चरणमा उक्त काम गरिएको हो। एलपिजी ग्यास पाइप नेपालतर्फ ९८ किलोमिटर लामो हुनेछ।

अमलेखगन्जमा आयोजित कार्यक्रममा मन्त्री यादवले पाइपलाइन बिछ्याउने रुटमा औपचारिक प्वाइन्ट पिलर गाडेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले पेट्रोलियम पदार्थ र एलपिजी ग्यास ढुवानीको लागत घटाउन पाइपलाइन निर्माण गर्न प्रक्रिया अगाडि बढाएको बताए।

पाइपलाइन निर्माण भएपछि यसले वार्षिक अर्बौं रुपैयाँ ढुवानी ढुवानी खर्च जोगाउने र देशलाई समृद्धिको दिशामा अगाडि बढाउने कार्यमा मद्दत पुग्ने मन्त्री यादवले बताए।

अमलेखगन्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न पाँच अर्ब ६७ करोड लाग्ने अनुमान छ। वास्तविक लागत भने सर्भे गरेर यसको डिपिआर तयार भएपछि मात्रै पत्ता लाग्ने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

भारतको मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपिजी ग्यास पाइपलाइन निर्माण गर्दा नेपालतर्फ वीरगन्जदेखि चितवनसम्म ९८ किलोमिटर हुनेछ। यसको अनुमानित लागत ११ अर्ब १९ करोड रहेको भट्टराईले बताए।

अमलेखगन्ज–चितवन पेट्रोलियम पाइप र मोतीहारी–चितवन एलपिजी ग्यास पाइप निर्माणमा लाग्ने लागत पाँच वर्षको ढुवानी भाडाबाट असुलउपर हुने निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।

ग्यास र पेट्रोलियम पाइप चितवनसम्म विस्तार गर्ने सहमति इन्डियन आयल कर्पोरेसनसँग भएको तथा निगम र कर्पोरेसनले संयुक्त रुपमा विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने प्रक्रिया अगाडि बढेको पौडेलले बताए।

ठूलो परिमाणमा पेट्रोलियम पदार्थ राजधानी काठमाडौंसहित पोखरा, भैरहवालगायत क्षेत्रमा खपत हुने भएकोले ढुवानी लागत घटाउन चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण गर्न लागिएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ।

मोतीहारी–अमलेखगन्ज ग्यास पाइप पेट्रोलियम पाइप गाडेकै ठाउँबाट आउने र अमलेखगन्जदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन एकसाथ बिछ्याउने योजना रहेको निगमको भनाइ छ।

प्रकाशित: १० कार्तिक २०७६ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App