७ वैशाख २०८१ शुक्रबार
कला

किरण र 'नयाँ किरण' सँगसँगै

काठमाडौं- चित्रकार किरण मानन्धर र सागर मानन्धर बाबुछोरा हुन्। उमेरले यी दुईबीच ३७ वर्षको अन्तर छ। किरण मानन्धर ब्रस बोकेर रङसँग खेलेरै हुर्किए। उका छोरा सागर पनि बाबुले बनाएका चित्रका रंगीचंगीमा रमाउँदै बढे। किरणले चित्र बनाउन थालेकै ६ दशक नाघ्यो। सागरको पनि उनले ब्रस चलाउन जानेदेखिकै समय चित्रकलामा बित्दैछ।

यी दुईले एउटा बाबु र छोराको सम्बन्धभन्दा पनि पहिलो र दोस्रो पुस्ताका कलाकारबीचको दूरी मेटाउँदै एकै थलोमा आफ्ना चित्रकला प्रदर्शनी गरेका छन्। नेपाल कला परिषदमा चलिरहेको 'दुनुगःया स्यापु' र 'भैरव' नामको संयुक्त प्रदर्शनीले उनीहरुको भौतिकभन्दा कलात्मक अन्तरसम्बन्ध व्यक्त गर्छ।

'म आफूलाई छोराभन्दा अब्बल ठान्दिनँ,' किरण भन्छन्, 'उसलाई राम्रो स्टुडियो अनि राम्रा सामग्री दिएरै म आफू चाहिँ कामचलाउमा चित्त बुझाउँछु।' यो प्रदर्शनी भने नयाँ पुस्तालाई देखाएको एउटा मार्गदर्शनका रुपमा रहेको उनले बताए।

'मैले कला कसैले सिकाएर सिकेको होइन,' उनी थप्छन्, ‘त्यस्तो कसैले सिकाइदिएको भए दसगुणा अझ अब्बल हुन्थेँ होला, त्यही अरुले नसिकाएको पीडा छोराले भोग्न नपरोस् भन्ने चाहन्छु।'

उनका छोरा सागर पनि बुबाको नाताभन्दा पर एउटा अग्रज कलाकारको सम्मान किरणलाई दिन चाहन्छन्। ‘उहाँसँग मेरो पहिलो संयुक्त प्रदर्शनी कक्षा १० मा पढ्दा भएको थियो,' सागर सुनाउँछन्, ‘त्यो बेला उहाँले मलाई यो बाटोमा डोहोर्‍याउनु भएको थियो। अहिले मैले उहाँले भनेजस्तो गरेँ भनेर गर्व र सम्मानको अनुभूति दिलाउन उहाँसँगैको कला प्रदर्शनी गरेको हुँ ।'

आधुनिक कलामा लागेका नयाँ पुस्ताले प्रायःजसो पुराना कलाकारलाई यथास्थितिवादी र परम्परावादी कलाकार ठानेर हेयको दृष्टिले हेर्ने गरेको उनको अनुभव छ।

‘तर पुराना कलाकारले अभावैअभावमा पनि कति जोश र आत्मपरक भएर चित्र कोर्थे, त्यो देख्दैनन्,' उनी थप्छन्, ‘मैले सानैदेखि त्यो देखेको छु, महसुस गरेको छु। त्यसैले ती सबै पुस्ताप्रति मेरो बाबालाई जत्तिकै सम्मान गर्छु।'

उनले भनेझैं उतिबेलाका कलाकारले अहिलेको पुस्ताले जस्तो कला विषय न स्कुल–कलेजमा पढ्न पाए, न त उनीहरुलाई सिकाउने कुनै अग्रज गुरुहरुकै लाम उनीहरुका पछि हुन्थे।

त्यही छनक अहिले पनि किरणका चित्रमा देखिन्छन्। ‘मेरो चित्र कहिले पूरा हुँदैनन्,' उनी प्रदर्शनीमा रहेका चित्रसँग जोड्दै भन्छन्, ‘हरेक चित्र बनाएपछि एउटा प्रश्न चिह्न त्यहाँ छाड्ने गर्छु।' त्यसो गर्नुको कारण उनी पहिले कसैबाट सिक्न नपाएको पीडा पोखेको बताउँछन्।

तर चित्र बनाउँदा उनी सारा संसारबाट पर रहेर चित्र कोर्न मन पराउँछन्। पहिलो दिन कोरेको चित्रको दोस्रो दिन हेरेर आत्मसमीक्षा गर्छन्। अनि तेस्रो दिन थप्न मन लागेका रंगरुप थप्छन्। उनी जबसम्म हातसँग रंग चलाउने क्षमता रहन्छ तबसम्म आफू जीवित रहेको ठान्छन्।

जुन दिन क्यानभासमा रंग भर्न हात अक्षम हुन्छन्, त्यो दिन एउटा कलाकार मर्छ। त्यसैले पनि नयाँ पुस्तालाई आफूले जानेका कुरा सिकाएर छाड्नुपर्ने धारणा उनी व्यक्त गर्छन्। पुराना पुस्ताले दम्भ छाडेर नयाँ पुस्तालाई आफ्नो सीप हस्तान्तरण गर्नुपर्ने सुझाव उनी दिन्छन्।

उनका विगत पाँच वर्षदेखि हालसम्म कोरेका १९ वटा चित्रको संकलन प्रदर्शनीमा छन्, जसमा उनले आफ्ना अन्तर्मनका भावहरु व्यक्त गरेका छन्। उनी अमूर्तकलाका लागि प्रख्यात छन्। उनका चित्रहरुको मूल्य तीन लाखदेखि दशलाख रुपैयाँ राखिएको छ।

छोरा सागरले भने आफ्नो मनसँग नजिक रहेको भैरवका विम्बात्मक चित्रहरु कोरेका छन्। ‘मलाई भैरव निकै मनपर्छ,' सागर भन्छन्, ‘उसको रुप डरलाग्दो र विकराल छ, तैपनि मान्छेहरुको आस्था उनीप्रति प्रगाढ छ, त्यही आस्था मन पर्छ।' उनले भैरवसँग जोडिएका कोइला, कालो, रातो, पहँेलो लगायतका रंको विम्बात्मक संयोजन चित्रमा गरेका छन्। उनका ३९ वटा चित्रको मूल्य १० हजारदेखि डेढ लाख रुपैयाँसम्मका छन्। प्रदर्शनी मंसिर २२ गतेसम्म चल्नेछ।

प्रकाशित: १७ मंसिर २०७३ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App