६ वैशाख २०८१ बिहीबार
अर्थ

तिहारका लागि भेंडाच्यांग्रा भित्रिए

रसुवा सदरमुकाम धुन्चे ल्याइएका भेंडाच्यांग्रा। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट तिहारको लागि भेंडाच्यांग्रा आयात गरिएको छ। तिहार आउन केही समय बाँकी रहँदा नाकाबाट ६० वटा भेंडाच्यांग्रा भित्रिएका हुन्। गएको दसैंमा चीनको स्वशासित क्षेत्र तिब्बतबाट दुई सयभन्दा बढी भेंडाच्यांग्रा आयात गरिएको थियो।

दसैंका लागि दुई सय ३० वटा भेंडाच्यांग्रा आयात गरिएको भए पनि तिहारमा कम खपत हुने भएकाले कम ल्याइएको व्यापारी दिवाकर न्यौपानेले बताए। पछिल्लो समय भेंडाच्यांग्राको भाउ बढेको कारण आयात घट्दै गएको उनले बताए।

विगत २० वर्षदेखि रसुवागढी नाका हुँदै भेंडाच्यांग्राको आयात हुँदै आएको छ। ‘सुरुमा प्रतिभेंडा तथा च्यांग्रा सात सय रुपैयाँमा आउथ्यो,’ उनले भने, ‘अहिले भाउ पनि अकासिएको छ।’ पछिल्लो समय मूल्य बढेको र आयात घटेको उनको भनाइ छ। उनले एक पटकमा एक हजारसम्म भेंडाच्यांग्रा आयात गरेका थिए।

नेपाली व्यापारीले केरुङसम्म पुगेर आयात गर्ने गरेका छन्। केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउँछन्। नेपाली व्यापारी भेंडाच्यांग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्छन्। आयात गरिएको भेंडाच्यांग्रा रसुवामा नै बिक्री गरिने छ।

जिल्लाको माथिल्लो क्षेत्रमा धेरै खपत हुन्छ। गत वर्षतिर तल्लो क्षेत्रमा लैजाँदा हावापानीका कारणले भेंडाच्यांग्रा बिरामी पर्ने हुँदा कम मूल्यमै बिक्री गर्नुपरेको थियो। रसुवामा खपत नभए नुवाकोटसम्म पु-याउने गरिएको व्यापारी बताउँछन्।

गत वर्षको तुलनामा आयात बढेसँगै मूल्य पनि बढेको व्यापारी न्यौपानेले बताए। प्रतिभेंडाच्यांग्रा २३ हजारदेखि २६ हजारसम्म मूल्य परेको उनले बताए। यसअघि मुस्ताङबाट ल्याइने गरेकामा गत वर्षदेखि यही नाका हुँदै ल्याउन थालिएको उनको भनाइ छ।

गत वर्षको भन्दा बढी मूल्य परेको, गाडीको चाप र झन्झटिलो भएका कारण समस्या भएको उनले बताए। ०७० मा दुई सय दुई, ०७१ मा एक सय ८० र ०७३ मा दुई सय ५० र ०७४ मा ५५ तथा ०७५ मा चार सय ७० भेंडाच्यांग्रा आयात गरिएको थियो। ०७० अघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेंडाच्यांग्रा आयात हुने गरेको थियो।

प्रकाशित: १० कार्तिक २०७६ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App