coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रमदानबाटै सडक मर्मत

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन्। एक दशकअघि निर्माण गरिएको सडक मर्मतमा स्थानीय सरकारको ध्यान नपुगेको भन्दै खार्मीका युवाको अगुवाइमा दसैंतिहारको अवसर पारी खार्मी–तापखोला ७ किलोमिटर खण्ड मर्मत गरेका हुन्।

सडक मर्मतमा वडा कार्यालय तथा नगरपालिकाको ध्यान पुग्न नसकेपछि साविकको खार्मी–९ का युवाको संस्था ‘सेवा साहारा युवा समाज’को पहलमा दिक्तेल–खार्मी–बाँसपानी–बाक्सिला सडकखण्डको सडक मर्मत गरिएको छ।

दसैं तथा तिहार मनाउन गाउँ भित्रिएका तुर्खा, कुम्देल, बिखर्कु र लम्बाका युवाले दुई दिन लगाएर तापखोलादेखि कालिका माविसम्मको सडक मर्मत गरेका छन्। बाइकसम्म हिँड्न नसक्ने सडकको झाडी र पहिरो पन्छाएर जिपजस्ता साना सवारीसाधन गुडाउन मिल्नेगरी मर्मत गरिएको सेवा साहारा युवा समाजका अध्यक्ष हेमन्त राईले बताए।

दिक्तेल–बाक्सिला जोड्ने सबैभन्दा छोटो दूरीको सडक भए पनि हालसम्म स्थानीय सरकारले दिक्तेल–खार्मी–बाँसपानी–बाक्सिला सडकलाई बेवास्ता गरिरहेको स्थानीयको गुनासो छ। हाल सडक तथा बाटोघाटो मर्मत गर्न पनि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका समयमा खार्मीका युवाले भने अवरुद्ध सडक आफै मर्मत गरेका स्थानीय बुद्धिजीवी अगुवा देवकुमार राईले बताए। सावेल, गैंती, झम्पाल, हम्मरलगायत साधन बोकेर सडक मर्मतमा जुटेका ४५ भन्दा बढी युवालाई स्थानीय समाजसेवी इखबहादुर राईले खाजा व्यवस्थापन गरिदिएको साहारा युवा समाजले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७६ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App