६ वैशाख २०८१ बिहीबार
कला

भाइरल हुन अश्लील गीतकाे सहारा

काठमाडौं – सस्तो लोकप्रियता र भाइरल हुने मनपरी शैलीमा म्युजिक भिडियो बनाउने कलाकारहरूलाई प्रहरीले धमाधम कारबाही थालेको छ। प्रहरीले गालीगलौच गरेको भन्दै ‘हामी यस्तै त हो नी ब्रो’ गीत गाउने -यापर भिटेन (समीर घिसिङ)लाई शुक्रबार पक्राउपछि सचेत गराएर छाडेको छ।

-यापर भिटेनको गीतमा प्रहरीलाई ‘डन्ठे’ भनेर अश्लील गाली गरेपछि उनी पक्राउ परेका थिए। उनी पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएका थिए।

यसअघि अश्लील र अपाच्य शब्द प्रयोग गरेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत गाएका गायक दुर्गेश थापालाई पक्राउ गरेर प्रहरीले छाडेको थियो। गत वर्ष गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ भाइरल भएका थियो।

नेपाली समाजप्रति कलाकारहरू जिम्मेवार नभएको भन्दै प्रहरीमा उजुरी पर्ने क्रम बढ्दो छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता केदार ढकालका अनुसार सस्तो लोकप्रियताका लागि कलाकारहरु नेपाल समाजप्रति गैर–जिम्मेवार भएर गीत र संगीतमार्फत् विकृति फैलाउन लागि परेका छन्। ‘नेपाली संस्कृति र मौलिकतालाई जोगाउने नाममा कलाकारहरुले सस्तो लोकप्रियता कमाउन अश्लीलतालाई प्राथमिकता दिनु अपराध हो। मनपरी शैलीमा गीत संगीत र सिर्जना गर्ने कलाकारलाई कानुनी रुपमा कारबाही हुन्छ,’ उनले भने।

युवा पुस्तालाई भड्काउन प्रेरित गर्ने तयार भएका गीत संगीत परिवारसँग बसेर सुन्न नसकिने तर्क उनले गरे। ‘यस्तो गीत समाजको लागि अपाच्य हुने भएकाल कलाकार सचेत हुन आवश्यक छ। यसबारे कलाकारले सोच्न पर्ने समय आइसकेको छ। समाजलाई असर गर्ने खालका गीत गाउनु हुँदैन,’ उनले भने।

गीत र संगीत नेपाली समाजका सूचक मानिन्छ। यस क्षेत्रमा लागेका कलाकारहरु जिम्मेवार हुन नसक्दा समाजमा नकारात्मक असर पर्दै गएको तर्क उनले गरेका छन्। पछिल्लो समय नेपाली समाजमा अश्लीलता फैलाउन विभिन्न गीतका भिडियोहरु सामाजिक सञ्जालबाट हटाउन प्रहरी सक्रिय हुँदै गएको छ।

राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीका अनुसार सरकारले वेवास्ता गरेका कारण मनपरी शैलीमा तयार भएका गीत संगीतले समाजमा विकृति फैलाउँदै लगेको छ। ‘सरकारले गीत संगीतको भविष्यबारे वेवास्ता गर्दा मनपरी र अश्लीलतालाई प्राथमिकता दिएका गीत संगीतको संख्या बढेको हो,’उनले भने, ‘गीत संगीतको सेन्सरको व्यवस्था गरिनु अत्यावश्यक भइसकेको छ।’ संस्कृतिविद् हरिराम जोशीले गीत संगीत समाजको चिनारी भएकाले यसलाई सभ्य बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: १० कार्तिक २०७६ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App