८ वैशाख २०८१ शनिबार
समाज

यस्तो छ नेताको तिहार तयारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख राजनीतिक दलका नेताले सर्वसधारणले जस्तै आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाउने तयारी गरेका छन्। दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वाससहित मनाइने भाइटीकाका लागि नेता पनि सर्वसाधारण जस्तै तयारीमा जुटेका हुन्।

कामका लागि टाढा पुगेका सर्वधारण आफ्नो गाउँठाउँ फर्कने क्रम चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको भाइटीका पनि विगत वर्षमा जस्तै राष्ट्रपति भवन शीतल निवासमा मनाउने छिन्। भण्डारीका भाइ टीकाका लागि शीतल निवास नै आउने छन्। नेपाल पञ्चांग निर्णायक समितिले तय गरेको समयमै टीका लगाइदिने उनको तयारी रहेको छ। राष्ट्रपति भण्डारीले शीतल निवासमै तिहार मनाउने जानकारी दिंदै राष्ट्रपतिका सचिव जीवछ साहले भने, ‘उहाँ बाहिर जानुहुन्न, भाइहरू राष्ट्रपति भवनमै आउनुहुन्छ।’

उपराष्ट्रपति नन्दबहादुर पुन भाइटीका लगाउन यस वर्ष रोल्पा पुगेका छन्। उनको घर रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीको डाँडागाउँ हो।पहिलो कार्यकाल उपराष्ट्रपति भएको बेला घर आएका पुनको दोस्रो कार्यकाल पछि पहिलो पटक पुगेका हुन्। गत वर्ष काठमाडौंमै चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाको हातबाट टिका लगाएका पुनले आफ्नै दिीको हातबाट भने टीका लगाउन पाएका थिएनन्।

त्यस्तै,प्रधानमन्त्री केपी ओलीले पनि सरकारी निवास बालुवाटारमै भाइटीका लगाउने भएका छन्।असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागि भएर आइतबार स्वदेश फकर्ने प्रधानमन्त्री ओलीलाई बहिनीहरूले भाइटीका लगाइदिने छन्। प्रधानमन्त्री ओलीको आफ्नै (एउटै आमाको काखबाट जन्मेका) दिदीबहिनी नभए पनि निकट बहिनी विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट टीका लगाउँदै आएका छन्।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आफ्नै बहिनी दुर्गादेवी चन्दको यस वर्ष जुठो छ। बहिनीको हातबाट टीका लगाउन नहुने भएपछि सभापति देउवाले नेतृ मीना पाण्डेसँग टीका लगाउने उनको स्वकीय सचिव भानु देउवाले जानकारी दिए। देउवाले पाण्डेको हातबाट पहिला देखि नै टीका थाप्दै आएका छन्। उपसभामुख शीवमाया तुम्बाहाम्पेको यस वर्ष तिहार छैन। विगत वर्षहरुमा टीका लगाउने गरेपनि यसवर्ष जुठो भएकाले टीका नलगाउने उनले जानकारी दिइन्।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका दिदीबहिनी काठमाडौं र चितवनमा छन्। गत वर्ष शोकका कारण भाइटीका नलगाएको जानकारी दिँदै दाहाल प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्ष दाहालले यस वर्ष टीका लगाउने नलगाउने टुंगो भइनसकेको जानकारी दिए। कांग्रेस नेता रामचन्द्र पौडेल भाइटीका लगाउन यसवर्ष चितवन जानेछन्। चार दिदीबहिनीसहित सबै दाजुभाइ चितवनमै भेला भएर टीका लगाउने तयारीमा रहेका पौडेल कात्तिक ११ गते त्यसतर्फ जाने उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए।

उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव तिहारका समयमा गृहजिल्ला मोरङमा रहनेछन्। भाइटीका लगाउने प्रचलन नरहे पनि यादव तिहारको समय पूरै जिल्लामै रहने उनले जानकारी दिए।

दलका अन्य नेता पनि भाइटीकाको तयारीमा जुटेका छन्। कतिपय नेताहरुले आफ्नो परम्पराअनुसार टीका नलगाए पनि अरुसरह यसलाई मनाउने गर्न थालेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले तराई÷मधेसमा भाइटीको त्यति प्रचलन नभए पनि अहिले सबैले यसलाई मनाउन थालेको सुनाए। आफूले पनि टीका लगाउादै आएको र यसवर्ष पनि लगाउने बताए।

भाइटीकाको दिन दिदी बहिनीले मार्कण्डेय, अश्वत्थामा, बली, व्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर ओखर फुटाएर टीका लगाउने प्रचलन छ। यसो गर्दा दाजुभाइको दीर्घायु हुने धार्मिक विश्वाछ।

प्रकाशित: १० कार्तिक २०७६ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App