६ वैशाख २०८१ बिहीबार
समाज

गरिबीले उपचार नपाउँदा तीन वर्षदेखि घरमै थलिए तुलबहादुर

जाजरकोट– कुशे गाउँपालिका वडा नम्बर ५ जहरगाउँका  तुलवहादुर वली आफ्नै घरमा बन्धक जस्तै भएको तीन वर्ष भयो। छाला सम्बन्धी रोग र चरम गरिबीले आक्रान्त भएर दिनदिनै भगवान पुकार्दै रातदिन रुँदै घरभित्रै बन्धक छन् ६० वर्षीय विपन्न तुलबहादुर। जीवन रक्षाको लागि वलीले हात फैलाउन लागेको पनि तीन वर्ष भयो। तर, अहिलेसम्म उनको रोदन सुन्ने कोही भेटिएका छैनन्। 

गाउँघरमा दशैं आयो तिहार आयो। तर तुलबहादुरको घरमा कुनै उत्साह र खुसी आएन। तुलबहादुरको उपचारका लागि उनकी श्रीमती पशुपति वली र उनका छोराहरु विर्खवहादुर वली र कालीवहादुर वलीले छिमेकी र स्थानीय सहकारीवाट ४ लाख वढी क्रण लिएका छन्। ‘न बुढा निको हुने, न यत्रो क्रण तिर्न सकिन्छ। के गर्ने हजुर हाम्रो जस्तो दुःख अरु कसैलाइ नहोस्’, तुलबहादुरकी श्रीमती पशुपतिले रुँदै भनिन्, ‘हामी गरिव भएरै त होला यस्तो आपत परेको।’

गरिबको त कोही भगवान, कोही सरकार, कोही नेता पनि हुने रहेन्छन्’, उनले अगाडि थपिन्। विरामी तुलबहादुर मात्र होइन उनकी श्रीमती र छोराछोरीले गत तीन वर्षदेखि रौएरै दिन काटिरहेका छन्। 

२२ वर्ष अघि छालामा देखिएको रोग बल्झेपछि घरबाहिर आफ्नो शरीर र अनुहार देखाउन नसकेर घरमै कैदी बनेका तुलबहादुर गरिवीका कारण आफूले उपचार पाउन नसकेको गुनासो गर्छन्। ‘गोजीमा पैसा भएको भए राम्रो अस्पतालमा गएर उपचार पाउने थिए, अब के गरि बाँच्ने?’ दुखेसो पोख्दै वलीले नागरिकसँग भने, ‘हामी गरिबको भागमा दुःख र अभाव मात्रै लेखेको हुने रहेछ।’

गाउँ घरका छिमेकीले कुष्टरोग अर्थात स्थानीय भाषामा कोर भनेपछि झन मानसिक तनावले पीडित भएका वलीको उपचारका लागि उनका दुई छोराले गरेको कमाइले केही नपुगेको स्थानीय कालीप्रसाद थापाले बताए। उनले तुलबहादुरको रोग निको  बनाउन उनका कान्छा छोरा कालीबहादुर वली भारततिर काम गर्न गएको र जेठा छोराले घरको धन्दा धानेको र वलीको परिवार निकै अप्ठेरोमा परेको बताए। 

तुलबहादुरको उपचार सहयोगका लागि कुशे गाउँपालिकामा पनि निवेदन दिएको र अध्यक्ष हरिचन्द्र बस्नेतले केही सहयोग गर्ने वचन दिएको पीडितहरुको भनाइ छ।

प्रकाशित: ९ कार्तिक २०७६ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App