coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यसरी मनाइयो काग तिहार

काठमाडौं- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइएको छ।

काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शुक्रबारदेखि नै यमपञ्चक सुरु भएको छ। कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाइन्छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा–मीठा खान दिई खुशी पार्ने गरिएको पनि उनले बताए। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ।

'काकेन दधि भक्षितम्' अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ। दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ।

यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिने क्रम आज साँझ पनि जारी रहन्छ। यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ।

शुक्रबार अपराह्नदेखि नै कात्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई मीठा–मीठा चिजबिज खान दिएर सम्मान गरिएको छ। यसैगरी आजै आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मजयन्ती पनि मनाइँदैछ। देवता र दानवबीच समुद्र मन्थन हुँदा कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत घडासहित धन्वन्तरि पृथ्वीमा अवतरण भएको पौराणिक मान्यता छ।

प्रकाशित: ९ कार्तिक २०७६ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App