८ वैशाख २०८१ शनिबार
समाज

अनशन टुंग्याउन उपकुलपति बाधक

डा. गोविन्द केसीको मागप्रति एक्यबद्धता जनाउँदै विहीबार राजधानीको माइतीघरमा धर्ना दिँदै चिकित्सक र सर्वसाधारण। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न त्रिवि उपकुलपति र आइओएम डिनसमेत बाधक बनेपछि डा. गोविन्द केसीको १९ दिन लामो अनशन सहमतिमा टुंग्याउने प्रयास फेरि असफल भएको छ। बिहीबार वार्ता जारी रहँदा डा. केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको खबर आइरहेपछि सरकारी उच्च अधिकारीले पटकपटक आग्रह गर्दा पनि त्रिवि उपकुलपति तीर्थ खनियाँले अटेरी गर्दा सहमति हुन सकेन।

बुधबार रातिदेखि नै डा. केसीको मुटुको चालमा अस्थिरता सुरु भएपछि उपचारमा संलग्न चिकित्सक बढी चिन्तित भएका छन्। जीवन रक्षाका लागि दबाब दिन सरकारी चिकित्सकलगायत अन्य संघसंस्थाले देशव्यापी रुपमा स्वास्थ्य सेवा बन्दका कार्यक्रमसमेत घोषणा गरिसकेका छन्।

यसअघि बिहीबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई बोलाएर निकास निकाल्न निर्देशन दिएपछि सहमति खोज्ने प्रयास बढेको थियो। राति अबेरसम्म स्वास्थ्य र शिक्षामन्त्री एकै ठाउँमा बसेर उपकुलपति खनियाँ र आइओएम डिन केपी सिंहलाई समेत डा. केसीको जीवन रक्षाका लागि सम्झौताको बाटो खोज्न आग्रह गरे पनि दुवैको अटेरीका कारण सम्झौता हुन नसकेको सरकारी वार्ताकारले बताएका छन्। राति अबेरसम्म बस्दा पनि औपचारिक वार्ता सुरु नै नभएको डा. केसीका तर्फबाट वार्ताका लागि गएका चिकित्सक डा. रञ्जन सापकोटाले बताए।

शिक्षामन्त्री पौडेल र स्वास्थ्यमन्त्री थापाले दिनभरि नै सहमति जुटाउने प्रयास गरेका थिए। साँझ दुवै मन्त्री शिक्षा मन्त्रालयमा बसेर त्रिवि पदाधिकारी र आइओएम डिनलाई समेत बोलाएका थिए। उपकुलपति खनियाँलाई हटाउन कांग्रेस तयार नहुने र डिन हटाउन खनिया तत्पर नहुँदा समस्या जटिल बनेको छ। प्रधानमन्त्रीले भने डिनलाई राजीनामा गराएर सहमतिको बाटो खोज्न स्पष्ट निर्देशन दिइसकेका छन्। डा. केसी पक्षीय चिकित्सक सहमति हुने आशमा राति अबेरसम्म मन्त्रालयमा पर्खेर बसे पनि छुट्टै कक्षमा बसेका मन्त्रीसहितको सरकारी वार्ताटोलीले निकास दिन सकेन। 'राति अबेरसम्मको कुरा सुन्दा चार दिनअघि जहाँ थियौं त्यहीं पुगेको अवस्था छ,' वार्तामा सहभागी चिकित्सक जीवन क्षेत्रीले भने, 'वार्ता भंग भयो भन्नमात्रै बाँकी छ'

१० बुँदे माग राखेर अनशन थालेको १९ दिन पुग्दा डा. केसीको स्वास्थ्यमा जोखिम बढ्दै गएपछि कतिपय बुँदामा सम्झौताका लागि केसी पक्षधर चिकित्सक लचिलो भए पनि डिन र उपकुलपतिले निरन्तर अटेरी गरेका थिए। स्रोतका अनुसार त्रिवि आफैंले गठन गरेको डिन नियुक्ति मापदण्ड सिफारिस समितिले दिएको प्रतिवेदनका केही बुँदामा उपकुलपति खनियाँलगायतले असहमति जनाएका थिए। डिन सिंह भने नयाँ मापदण्डका आधारमा नयाँ डिन आउने पक्का भएपछि मात्रै आफूले छोड्ने भन्दै केही लचिलो देखिएका थिए।

खनियाँलगायत त्रिविका पदाधिकारी भने वरिष्ठताका आधारमा आउने उम्मेदवारलाई मान्न तयार भएनन्। स्रोतका अनुसार वरिष्ठताका आधारमा आउने डिनले सम्बन्धन दिन नमान्ने देखेर खनियाँ मापदण्डसमेत आफू अनुकुलको व्यक्ति आउनेगरी बनाउने पक्षमा देखिएका छन्।

गत शनिबार गठित सरकारी वार्ता समितिले निरन्तर केसी पक्षधर चिकित्सकसँग वार्ता गरिरहेको छ। १० बुँदे मागमध्ये न्यायिक छानबिन आयोग गठन, ऐन नआउँदासम्म सम्बन्धन रोक्ने, आइओएमका पादधिकारीमाथि छानबिन बढाउनेलगायतका बुँदामा सहमति भइसकेको छ।

सरकारी टोलीले डा. केसीका बटमलाइनमा तत्काल सहमति नहुने भन्दै अधिकारी समितिले मापदण्ड तोकेपछि डिन बनाउने वचन दिएको थियो। केसी पक्षले नमानेपछि अधिकारी समितिले वार्ता सहजताका लागि बिहीबारै प्रतिवेदन दिएको थियो।

'स्वास्थ्य चिन्ताजनक'

डा. केसीको ज्यानै जोखिममा पर्ने अवस्था आइपुगेको छ। बुधबार बेलुकादेखि अचानक र बारम्बार मुटुको चालमा गढबढी भएपछि चिकित्सक बढी चिन्तित भएका छन्। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा एनएभिटी भनिन्छ। मुटु सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम नुनको मात्रासमेत कम हुँदा यस्तो समस्या आइपर्ने डाक्टर बताउँछन्।

रोग प्रतिरोधात्मक क्षमताको सूचक सेता रक्तकोषको मात्रा अत्यधिक घटेको समयमा डा. केसीको हातमा संक्रमण सुरु भएको छ। स्लाइन र रगत जाँचका लागि नमुना निकाल्न प्वाल पारिएका ठाउँमा संक्रमण भएर सुन्निएपछि चिकित्सकले खुट्टाको नशाबाट स्लाइन दिन थालेका छन्। खुट्टाको नशाबाट समेत पर्याप्त स्लाइन नगएपछि शुक्रबार घाँटीमै नशा खोल्ने तयारी चिकित्सकको छ।

चिकित्सकले रोगप्रतिरोधात्मक क्षमता कम भएको समयमा हातको संक्रमण फैलिएर सेप्सिस हुनसक्ने त्रासमा छन्। पछिल्लोपटक छातीको दुःखाइ र श्वासप्रश्वासमै समस्या बढ्दै गएको छ।

सर्वसाधारण सडकमा

डा. केसीको स्वास्थ्य गम्भीर बन्दा समेत सरकार संवेदनशील नभएपछि दबाबका लागि डा. केसी ऐक्यबद्धता गठबन्धनको आह्वानमा आयोजित कार्यक्रममा सयौं सर्वसाधारण सरिक भएका छन्। गठबन्धन निकट व्यक्ति र आवासीय चिकित्सकले माइतीघरमा धर्ना सुरु गर्नासाथ ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएर ऐक्यबद्धता जनाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

देशभरका चिकित्सक आन्दोलनमा

डिन र उपकुलपति जोगाउने तयारीमा सरकार रहँदा अनशन लम्बिएसँगै देशभरका चिकित्सक हडतालमा गएका छन्। सरकारी चिकित्सक संघले शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सेवा छोड्ने घोषणा गरेको छ। त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले गत शुक्रबारदेखि नै ओपिडी सेवा दिएका छैनन् भने बिहीबारदेखि वीरका आवासीय चिकित्सकले पनि काम छोडेका छन्।

बुधबारदेखि एक घण्टाका दरले ओपिडी सेवा छोडेको नेपाल चिकित्सक संघले शुक्रबार दुई घन्टा सेवा अवरुद्ध गर्न देशभरका चिकित्सकलाई आह्वान गरेको छ।

यसैगरी सरकारी चिकित्सक संघका महासचिव विष्णुरथ गिरीले मंसिर १७ र १८ गते आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिए।

सम्पादकको ऐक्यबद्धता

अनशनको १९औं दिन बिहीबार विभिन्न पत्रिका तथा अनलाइनका सम्पादकले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाएका छन्। अनशनस्थल पुगेर फर्किएपछि सामूहिक ऐक्यबद्धता जनाउँदै सम्पादकहरूले डा. केसीका मागलाई सञ्चार माध्यमले बचाइराख्ने प्रतिबद्धतासमेत व्यक्त गरे। सम्पादकहरूले डा. केसीका मागप्रति सरकार उदासीन देखिएको भन्दै एकजना जिम्मेवार नागरिक १० पटकसम्म अनशन बस्दा पनि टुंगो नलाग्नु आफैंमा लज्जाको विषय भएको उल्लेख गरेका छन्। 'प्रत्येक पटक डा. केसी अनशनमा बसेपछि वार्ता हुने, मागमा सहमति गर्ने र कार्यान्वयन नगर्ने प्रवृत्ति छ,' ऐक्यबद्धता पत्रमा उल्लेख छ, 'सरोकारवाला पक्षले उहाँको मागको चाँडोभन्दा चाँडो सुनुवाइ गरुन्।' सम्पादकहरूले भविष्यमा समेत केसीको जीवनलाई संकट पार्ने खालको आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्न आग्रह गरेका छन्।

ऐक्यबद्धता जारी गर्ने सम्पादकहरूमा नागरिक दैनिकका गुणराज लुइँटेल, रिपब्लिका दैनिकका सुवास घिमिरेसहित अखिलेश उपाध्याय, प्रकाश रिमाल, प्रतीक प्रधान, नारायण वाग्ले, प्रशान्त अर्याल, सुधीर शर्मा, दिलभूषण पाठक र किरण नेपाल छन्।

प्रकाशित: १७ मंसिर २०७३ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App