७ वैशाख २०८१ शुक्रबार
समाज

५ नम्बर प्रदेशमा अनिश्चितकालीन बन्द

बुटवल- पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गराउने गरी सरकारले संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलन उग्र बन्दै गएको छ। सर्वदलीय आन्दोलन समितिले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पालगायत जिल्लामा अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन कष्टकर बन्दै गएको छ।

आन्दोलनकारीले सहिदको सम्झनामा माओवादीले बुटवलमा बनाएको सहिद  स्मारक तोडफोड गरेका छन्। पहिले राजा महेन्द्रको सालिक रहेको महेन्द्र पार्कमा २०६२-६३ को आन्दोलनमा महेन्द्रको सालिक तोडफोड गरिएपछि माओवादीले सहिद स्मारक बनाएको थियो। सहिद स्मारकको बाहिरी पर्खाल र रेलिङ तोडफोड गर्दै स्मारक तोडफोड गर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले तितरबितर पारेको थियो।

दिउँसो २ बजेतिर सहिद स्मारक तोडफोड भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो। त्यसपछि आन्दोलनकारी र प्रहरीबीच पटकपटक झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो।

आन्दोलनकारीले बिहान बुटवल अस्पताल लाइनमा रहेको कस्तुरी होटलमा ढुंगा प्रहार गरे। होटलको काउन्टरलाई लक्षित गरी हानिएको ढुंगा लागेर काउन्टरको सिसा फुटेको छ। उनीहरूले आधा दर्जन मोटरसाइकल र केही बसमा पनि ढुंगा हाने। उनीहरूले अपराह्न सिद्धार्थ रोडमा रहेको विप्लव नेतृत्वको नेकपा माओवादी कार्यालयमा समेत ढुंगा हानेका थिए।

आन्दोलनकारी उग्र बन्दै गए पनि बिहीबार प्रहरी संयमित देखिएको थियो। प्रहरी–आन्दोलनकारी झडप भए पनि दुवैतर्फ कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए।

बिहानैदेखि युवा विद्यार्थीले सरकारविरोधी चर्का नारा लगाउँदै बुटवल बजार परिक्रमा गरे। प्रदर्शनकारीले सडकमा टायर बालेर गाडी पनि चल्न दिएनन्। ५ नम्बर प्रदेशलाई टुक्र्याउने सरकारी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने अनेरास्ववियु, रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए।

रोल्पा-प्युठानको संयुक्त विरोधसभा

प्युठान संवाददाता एलबी थापाका अनुसार संस्थागत बनिसकेको संघीय संरचना संविधान संशोधनमार्फत टुक्र्याइने भएपछि यहाँका जिल्लाबासी आक्रोशित बनेका छन्। पूर्वघोषित प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई टुक्र्याएर ४ नम्बरमा गाभ्ने प्रस्तावबाट आक्रोशित रोल्पा र प्युठान जिल्लाबासीले स्वर्स्फूत आन्दोलन गरिरहेका छन्। बिहीबार प्युठान र रोल्पाको संगमस्थल चतुर्भुजमा संयुक्त विरोध सभा गरियो। सभामा१० हजारभन्दा बढी सहभागी थिए।

सभामा एमालेका उपसचेतक गोकुल घर्तीले संविधान संशोधन विधेयक प्रस्ताव असफल गराएरै छाड्ने बताए। आफ्नै पार्टीको सरकार नेतृत्वमा रहे पनि जनभावनाविपरीतको कदम सह्य नभएको रोल्पा माओवादीका नेता आशबहादुर पुनले बताए। सबै दललाई एकताबद्ध गर्न संविधान संशोधनको विकल्प नरहे पनि सर्वस्वीकार्य ५ नम्बर प्रदेशको सीमांकन हेरफेर कच्चा प्रस्ताव साबित हुने उनको जिकिर छ। माओवादी कार्यकर्ता पवनकुमार पुनले सिंगो समस्या हल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः रोल्पा–प्युठानलाई हतियार बनाएको आरोप लगाए। 'हिजो प्रचण्डले अन्यायबाट निस्कने बाटो सिकाए,' उनले भने, 'अहिले हामीमाथि नै अपराध गरेका छन्।'

आफ्नै पार्टी नेतृत्वको सरकार भए पनि जिल्लावासीको हितमा आफूले अडान नछाड्ने माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीले बताए। 'पार्टी होस् वा सरकार, प्रदेश परिवर्तनको विषयमा कसैको दबाब मान्ने छैनौं', उनले भने। नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष खटकबहादुर खत्रीले सीमांकन संशोधन प्रस्तावको विरोध गरे।

बन्दले जनजीवन प्रभावित

पाल्पा संवाददाता मुक्तिप्रसाद न्यौपानेका अनुसार प्रदेश सीमांकन हेरफेर प्रस्तावविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन समितिले आह्वान गरेको बन्दका कारण बिहीबार पाल्पाको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण जिल्लाबाट लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेनन्। कार्यालय, शैक्षिक संस्था तथा उद्योगधन्दासमेत बन्द भए। आन्दोलनकारीले दिनभर र्‍याली निकालेर संशोधन प्रस्तावमा विरोध जनाए। प्रस्ताव फिर्ता नभएसम्म संघर्ष जारी रहने समितिका सदस्य विद्यार्थी नेता केशव बस्यालले बताए।

अर्घाखाँची संवाददाता अर्जुन भुसालका अनुसार सन्धिखर्कमा बिहीबार  विशाल विरोध प्रदर्शन गरिएको छ। सन्धिखर्क बजार परिक्रमा गरी टुँडिखेलमा आयोजित कोणसभालाई नेपाली कांग्रेसका जिल्ल्ाा सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कान र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले सम्बोधन गरे। जिल्ल्ााका गाउँ–गाउँमा पनि विरोध जुलुस निस्किरहेका छन्।

प्रकाशित: १७ मंसिर २०७३ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App