४ वैशाख २०८१ मंगलबार
विचार

अखण्ड नेपालको मार्गचित्र

नयाँ संविधान जारी भएसँगै देशमा राष्ट्रियता र देशभक्तिको नयाँ युग सुरु भएको भनिँदैछ। राष्ट्रवाद र देशभक्तिका आधार र व्याख्यानहरू संविधान तथा नेपाली जनतामा टेकेर होइन प्रधानमन्त्री खड्ग ओली र उनका सत्ता सहयोगी पुष्पकमल दाहालको वाणीबाट निःसृत हुँदैछ। के नेपालमा यी दुई कम्युनिस्ट नेताले भनेजस्तै अहिले राष्ट्रवाद र देशभक्तिको अभ्यास भैरहेको हो? अथवा विश्वभरि देखिएको कम्युनिस्टहरूको जातिवादी रूपान्तरणको नयाँ थालनी नेपालमा पनि सुरु भएको हो? के यस्तो राष्ट्रवादले नेपाल र नेपालीको हित गर्छ?

कम्युनिस्ट नेताहरूले दिएको राष्ट्रवादसँग सहमत हुने भनेको नेपालको पहाडी सांस्कृतिक समूह हो भनी चर्चा गरिन्छ अहिले। पहिलो कुरो, पहाडी सांस्कृतिक समूहलाई भारतसँग यी नेताहरूले घुँडा टेकेनन्, अडान लिए भन्ने सन्देश प्रवाह गर्न खोजिँदैछ। दोस्रो, मधेसीको प्रदेशको सीमांकनको मागलाई यी दुई कम्युनिस्ट नेता टेर्नेवाला छैनन् र तेस्रो, चीनसँगको सम्बन्धमा नयाँ आयाम थपी भविष्यमा भारतसँगको निर्भरता घट्नेछ । यिनै ती मुद्दाका जगमा अहिले राष्ट्रवाद र देशभक्तिको नारा घन्केको छ। तर, के नेपालको भूराजनीतिक अवस्था र नेपाली समाजको लागि राष्ट्रवादका यी तिन आधार हितकारी छन्? के एक्काइसौँ शदाब्दीमा पनि उल्लिखित विषयहरू नै राष्ट्रवाद हुन् भनी हामीले गौरव गर्ने सन्दर्भ हुन सक्लान्?

नेपाली जनताले कम्युनिस्टबाट जातिवादी राजनीतितर्फ रूपान्तरित ओली र दाहालले भनेको कुरा मन पराएका छन् भन्ने कुनै सर्वेक्षण नभएकोले यो एउटा अनुमान र राजनीतिक नारामात्र पनि हुन सक्छ। किनकि, म पनि पहाडी सांस्कृतिक समूहमा पर्ने भएकोले म प्रधानमन्त्री ओली र दाहालको राष्ट्रवादसँग असहमत छु। यी दुईको तथाकथित देशभक्तिसँग मलाई कुनै लगाव छैन। म त्यसमा जोडिन चाहन्न। नेपालको एकता र अखण्डतामा यी दुईको उग्रराष्ट्रवादले किमार्थ हित गर्दैन भन्ने मलाई थाहा छ। हो, यी कम्युनिस्ट नेताको राजनीतिलाई जातिवादी आवरणवाट अल्पकालमा भने केही फाइदा हुनसक्ला। त्यसो भए के नेपाल र नेपाली आफ्नो राष्ट्रवादी पहिचानको गौरवगान गर्न सक्तैनन्? यो प्रश्न स्वभाविकरूपमा उठ्छ। सक्छन्, तर अहिले गौरवगान गर्ने विषय हामीसँग केही पनि छैन। कम्तीमा पनि हाम्रो भूगोल र हामी यहाँ जन्म लिएका कारणमात्र हामीले गर्व गर्ने हो भने त्यो मिथ्या राष्ट्रवाद हो। तसर्थ, हामीले वर्तमान र इतिहासमा गौरव गर्ने विषय अहिले निर्माण गर्नुपरेको छ। यो सुनौलो अवसर नेपालको गणतान्त्रिक लोकतन्त्रले हामीलाई दिएको छ। अब नेपाली जनता हिन्दुत्वको भाग्यवाद र राजाको अवतारवादबाट मुक्त भएका छन्। यी दुवैबाट मुक्त भएर अगाडि बढेको नेपाली राष्ट्रवाद र विचार नै नेपालीका निम्ति गौरवको विषय हुन सक्छ। यसमा सबैभन्दा ठूलो अवसर हात पार्न हाम्रो देशको विविधतामा एकता खोज्दा नै सम्भव छ।

मलाई राष्ट्रवाद धेरै ठूलो विषय हो जस्तो लाग्दैन। कुनै समय 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष, प्राणभन्दा प्यारो छ' भन्ने नेपाली राष्ट्रवाद थियो। अब फेरि नयाँरूपमा यो नारा उचालेर नेपाली राष्ट्रवादको गौरव स्थापित गर्न सम्भव छैन। आजको नेपालमा यस्तो राष्ट्रवाद आवश्यक छैन। राजा महेन्द्रले यो कार्य नेपाली सेनाको दुरूपयोग गरेर केही वर्ष चलाए, तर त्यो टिकेन। महेन्द्रको उग्रराष्ट्रवादले आजको मितिमा देशलाई जोड्ने होइन विघटन गर्ने थियो भनी हामी सहजै अनुमान लगाउन सक्छौँ। त्यस्तै, ओली र दाहालले लिएको राष्ट्रवादले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई 'विविधतामा एकता' होइन विखण्डन गर्ने म बुझ्छु। म विराटनगरको मधुमारामा जन्मेँ, हुकर्ें र त्यहाँको समाजसँग जोडिएँ। स्वाभाविक छ जन्मले म नेपाली भएँ। सांस्कृतिकरूपले म पहाडी समुदायको भएँ। म जन्मेको र बढेको ठाउँसँग मेरो प्रेम र अपनत्व छ, भावनात्मक सम्बन्ध पनि छ। तर, यो जन्मसँग जोडिन पुगेको अवस्थालाई गौरव म कसरी गर्न सक्छु र ? किनकि, यो मेरो छनोट होइन। मैले निवेदन दिएर नेपालमा जन्मेको दाबी म गर्दिनँ। यो तत्कालीन समयको चिन्तन 'सन्तानले डाँडाकाँडा ढाकून्' भन्ने सिद्धान्तका कारणमात्र म नेपाली भएर जन्मेँ। आजको मितिमा सम्भवतः मेरो जन्म कुनै मध्यमवर्गीय परिवारको रूचिको विषय हुने थिएन, किनभने म मेरो बुवाआमाको चौथो सन्तान हुँ। भन्न खोजेको केमात्र हो भने, जन्म वा भूगोलका कारणमात्र म नेपाली हुने गर्व गर्न सक्तिनँ। अझ अगाडि बढेर भन्दा, मेरो देश नेपालसँग भूगोलले र जन्मले दिएको विषयबाहेक अरु कुनै विषय छैन, जसमा म गौरव गर्न सकूँ! हो, भावना छन् मसँग प्रशस्त। भावना बेचेर कतिन्जेल राजनीति गर्ने? कतिन्जेल देश र जनतालाई गरिब राख्ने? अभावमा बाँच्न बाध्य पार्ने?

भावना राजनीतिमा बिक्छन्। बीपीको भावना नेपाली कांग्रेसको राजनीतिमा बिक्छ। र, मदन भण्डारीको भावना एमालेमा बिकिरहेको छ। उता, युरोपमा भाषा र जातिको भावना बिक्छ, बिकिरहेको छ। युरोपको सैकडौँ वर्षको इतिहास हेर्ने हो भने, त्यहाँ विपरीत सांस्कृतिक समूहसँग एकता र मेलमिलाप गरेर बस्ने संस्कार नै छैन। अर्थात्, विविधतामा एकता युरोपको संस्कार होइन, त्यहाँको राजनीति पनि होइन। त्यसैले त एक्काइसाँै शताब्दीमा पनि एउटा युगोस्लाभिया टुक्रिएर पाँच वटा देश बनेको छ, जाति र धर्मको आधारमा। चेक र स्लोभाक पनि जातिकै आधारमा पृथक देश भए । भाषागतरूपमा फरक भएकोले क्यानडाजस्तो देश दुई टुक्रा बनाउने भनी जनमतसंग्रह हुन्छ। अर्थात्, सभ्य भनिएका गोरा जातिहरूमा विविधतामा बाँच्ने अभ्यास नै छैन। त्यहाँ सांस्कृतिक आधारमा राजनीतिक सीमाहरू निर्माण हुनु र नयाँ राष्ट्रको जन्म हुनुलाई अत्यन्त स्वाभाविक ठानिन्छ।

नेपाली जनता सैकडाँै वर्षदेखि विविध जाति, संस्कृति र भाषाबीच पनि एक भएर बसिरहेका छन्, बस्न चाहन्छन्। तसर्थ, नेपालीले गौरव गर्ने विषय विविधतामा पनि हामी एकतावद्ध भएर बस्न सक्छौँ भन्ने नै हो। अर्थात्, हामीले 'डाइभर्सिटीलाई' स्वीकारेर सँगै बस्ने सोच राखेका छौँ। हामी विविधतामा पनि एकतावद्ध भएर बस्न सक्तैनौं भने लोकतान्त्रिक देशहरूमा हुने गरेका अभ्यासजस्तै जनमतसंग्रह गराँै र छुट्टै देश बनाउन चाहनेलाई त्यो बाटो सहज गरौँ भन्ने अवस्था आउँछ। त्यस्तो अवस्था हाम्रो छैन, कमसेकम अहिलेसम्म। यहीँनेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अवसर हो की होइन भनी मनन् गर्नुपर्ने हुन्छ।

संविधानसभाबाट जारी नेपालको संविधानले विविधतायुक्त नेपालमा हामी एकतावद्ध भएर बस्ने कुरा स्वीकारेको छ। तर, अपूरो छ र केही जातीय श्रेष्ठताको गन्धले प्रदेशको सीमांकन गरिएको देखिन्छ। प्रदेश निर्माणका आधारमा बेइमानी भएको छ, यो बेठीक काम हो। यसलाई सुधार नगरी नेपाललाई दीर्घकालसम्म अखण्ड राख्न सक्छु भनी सोच्नु मुर्खतामात्र हो। सम्भवतः यही मुर्खतापूर्ण कामलाई सच्याएर अगाडि बढ्न मूलधारका राजनीतिक नेताहरू अन्तर्राष्ट्रिय समुदायबीच प्रदेशको सीमासम्बन्धी समस्या समाधान गर्ने सहमति जनाउँछन्, तर व्यवहारमा अलमल गर्दा त्यही अन्तर्राष्ट्रिय समुदायबाट आएका व्यक्तव्यबाट रिसाउँछन् अनि तातो प्रतिक्रिया दिन्छन्!

मधेसीले सांस्कृतिक र भाषिक कारण देखाएर छुट्टै देश मागेका छैनन् अहिलेसम्म किनकि नेपाल युरोप होइन। र, हामी अहिले सभ्य भनिने विकसित गोरा जाति पनि होइनौँ। एउटै धर्म, तर भाषा र संस्कृति केही फरक भएर पृथक देश निर्माण गरेको बंगलादेशी जनताजस्ता पनि नेपालका मधेसी होइनन्। श्रीलंकामा तमिलले सिंहाली जातिसँग लडेर नयाँ देश बनाउन खेलेको खुनीयुद्धजस्तो पनि नेपालको तराईको आन्दोलन होइन। प्रदेश निर्माणको सीमामा सुधार गर्नुपर्ने माग यिनको छ। यहाँनेर कम्युनिस्ट सत्तामा बस्नेहरूले गम्भीर भएर नसोच्दा दीर्घकालमा नेपालको अखण्डता र सार्वभौमसत्तामाथि ठूलै चुनौती आउने अनुमान गर्न सकिन्छ।

भारतलाई पहाडी सांस्कृतिक समूहबाट गाली गर्नुपर्दा हामी अन्धो राष्ट्रवादबाट ग्रसित हुन पुग्छौँ। तर, भारतबाट के सिक्ने भन्ने चिन्तन पनि यतिखेर अत्यन्त जरुरी छ। विगतमा हामीले भारतबाट प्रजातन्त्र सिक्यौँ र त्यहीअनुरूपको अभ्यास अहिले गर्दैछौँ। गरिब देशमा पनि लोकतन्त्रबाट अगाडि बढ्न सकिन्छ भनी भारतले विश्वलाई चकित पार्दै आएको छ। यद्यपि, भारत र नेपालको लोकतन्त्रले त्यो सिमान्त व्यक्तिको जीवनमा खुसियाली ल्याउन सक्नेखालको अनुभूति गराउन सकेन। अर्थात्, बीपीले किसानको फोटो हेरेर योजना बनाउ भनी 'विकासको बिम्ब'लाई अगाडि सारे, तर नेपालको लोकतन्त्रलाई सञ्चालन गर्नेहरूले त्यसलाई बु‰न सर्वथा असफल रहे, भारतमा महात्मा गान्धीलाई बुझ्न विकासविद्हरू असफल भएझैँ। लोकतन्त्र र विकासतन्त्र असफल हुँदा देश अखण्ड रहन पनि सक्छ, यो हामीले बुझेको र भोगेको कुरा भयो। तर, विविधतामा एकता खोज्न पनि असफल हुँदा अनर्थ हुन्छ र अखण्ड नेपालमा धक्का लाग्दा आश्चर्य नमाने हुन्छ।

तसर्थ, भारत कसरी विविध जाति, भाषा, संस्कृति र सभ्यता भएर पनि अखण्ड रहँदै अगाडि बढिरहेको छ भनी सिक्ने कि नसिक्ने? नेपाललाई अखण्ड कसरी राख्ने भन्ने विचार र दृष्टिकोण हामी भारतबाटै सिक्न सक्छौँ, पाकिस्तान र युरोपबाट होइन। महेन्द्रबाट पनि होइन। भारतीयहरू विविध सांस्कृतिक समूह भएर पनि एउटै राजनीतिक सीमाभित्र बस्न अभ्यस्त हुँदैछन्। नेपालको संविधान यहाँनेर केही चुकेको छ। नयाँ संविधानले विविधतालाई संकोच र संशयसहित स्वीकार गरेको छ। यो संकोच र संशयलाई त्यागेर खुला र ठूलो छातीबाट अगाडि बढ्न प्रदेशको सीमाबारे छलफल र बहस चल्नुपर्छ।

नेपालको वर्तमान राजनीतिक पुस्तालाई संविधान जारी गरेर चुनौती थपिएको छ। चुनौती विविध सांस्कृतिक समूहलाई एकतावद्ध राख्दै अखण्ड नेपालको भावधारामा बगाउने भन्नेमात्र छैन। यी सांस्कृतिक समूहलाई राजनीतिक मूलधारमा कसरी समायोजन गरेर विकासको बाटोमा देशलाई अगाडि बढाउने भन्ने पनि छ। त्यसका लागि विविध जाति र भाषिक समुदायलाई स्वीकार्ने मात्र होइन, सम्मान पनि गर्न सक्नुपर्छ। तबमात्र नेपाल र नेपाली भनी भावीपुस्ताले गौरव गर्नेछन्। अमेरिकी चिठ्ठा 'डीभी' बाट आफ्नो भाग्य निर्धारण होस् भनी देवीदेवताको मन्दिर जान छाड्नेछन्।

प्रकाशित: ८ वैशाख २०७३ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App