coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कास्की–२ मा नेकपाबाट विद्या

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । नेकपा कास्कीको शुक्रबार बसेको बैठकले संघीय प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतबाट गरेको हो । बैठकमा नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ ले भट्टराईलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । भट्टराई पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । रवीन्द्रको मन्त्री भएकै बेला गत फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

यसअघि नेकपाले कास्की २ मा पार्टी नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । तर अध्यक्षद्वयको प्रस्तावलाई अस्वीकार गर्दै गौतमले स्थानीय नेतालाई नै उम्मेदवार बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए । गौतमले पूर्वपर्यटनमन्त्री अधिकारीकी पत्नी भट्टराईलाई उम्मेदवार बनाउँदा ठिक हुने धारणा व्यक्त गरेका थिए ।

गौतमले उम्मेदवार नबन्ने घोषणा गरेपछि कास्कीमा नेकपाबाट उम्मेदवार बन्न धेरैलाई रुचि देखाएका थिए । आकांक्षीमा नेकपा पोलिटब्युरो सदस्य सोमनाथ अधिकारीदेखि केन्द्रीय सदस्यहरु राजकाजी गुरुङ, श्रीनाथ बराल, भीम कार्कीलगायत थिए । पार्टी एकताको सन्देशसहित पूर्वपर्यटनमन्त्री अधिकारीकी पत्नी भट्टराईलाई न्याय गर्न उनलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा कास्की इन्चार्ज करणले बताए ।

कास्की २ मा नेकपाको बलियो स्थिति छ । यसअघि अधिकारीले यो निर्वाचन क्षेत्रबाट लगातार तीनपटक चुनाव जितेका थिए । अघिल्लो निर्वाचनमा अधिकारीले प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत र चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए ।

प्रकाशित: ९ कार्तिक २०७६ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App