६ वैशाख २०८१ बिहीबार
समाज

थप तीनजनाविरुद्ध मुद्दा दर्ता

बैतडी - ग्रामीण सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानसमेत थालेको छ ।

जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताए । उनीहरूलाई लागेको आरोप प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

यसअघि डोजर चालक किशोर बोहरालाई मंगलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । ग्वाल्लेकमा सडक निर्माणका क्रममा सोमबार दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीयवासी गौरी जोशीलाई हुत्याएको थियो । डोजरले हुत्याउँदा घाइते भएकी गौरी कोहलपुरमा उपचारपछि ‘डिस्चार्ज’ भएकी छन् । चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबर्जस्ती गर्दा घटना भएको जग्गाधनी पक्षले आरोप लगाएको छ । तर निर्माण पक्षले भने जग्गाधनी पक्षले पहिला ढुंगामुढा गरेको आरोप लगाएको छ । दुई पक्षबीच झडप हुँदा गौरीसहित सातजना घाइते भएका थिए ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले छानबिन टोलीसमेत गठन गरेको छ । समितिले दुई दिनभित्र प्रतिवेदन बुझाउने बताएको छ । समितिले बुधबार स्थलगत अध्ययनसमेत गरिसकेको छ । यस्तै नेपाली कांग्रेसले पनि घटनाको अध्ययन गर्न स्थलगत टोली खटाएको थियो । कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह थापाको संयोजककत्वको टोलीले स्थलगत अनुगमन गरेको हो । टोलीले पत्रकार सम्मेलन गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै सत्ता र शक्तिको आडमा डोजर काण्ड भएको बताएको छ ।

नगरपालिकाले वा कुनै निकायले बजेट बिनियोजित नगरी स्थानीयको सहमतिविपरीत जबर्जस्ती सडक खन्दा यस्तो घटना भएको बताएको छ । घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको जिकिर गरिएको छ । डोजर मालिक आफैंले दबाबमा परेर डोजर चलाउन बाध्य भएको भनेकाले यसबाट उनलाई सत्ताकै मान्छेले डोजर चलाउन दबाब दिएको बुझिएको छानबिन समितिका संयोजक थापाले जानकारी दिए । घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको कांग्रेसको आरोप छ ।

पत्रकार सम्मेलनमा संयोजक थापाले जग्गाधनी असोज २७ गते प्रशासनमा आएर ‘हाम्रो गाउँमा समस्या छ, मिलाइदिनू’ भनेर आएका तर प्रशासनले यो कुरालाई ध्यानमा नराखेको पाइएको थापाको भनाइ छ । सडक निर्माणका लागि कुनै बजेट र योजनाबिना दुवै पक्ष सहमत नभएरै सडक खन्न खोज्दा झडपको स्थिति आएको बताइएको छ ।

प्रकाशित: ९ कार्तिक २०७६ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App