coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'कलेजाेकाे तुलना उपहारसँग हुन सक्दैन'

कलेजो दिएर जीवन बचाउने दिदी सानुमैया लागेजुसँग भाइ बलराम नागा(बायाँ) भूकम्पको समयमा ११ घन्टासम्म पुरिएर उद्धार गरिएकी शान्ति भाइ प्रज्वलसँग। तस्बिर : उपेन्द्र/नागरिक

काठमाडौं – कलेजो काम नलाग्ने भएपछि भक्तपुर सूर्यविनायकका बलराम नागा जीवनमरणको दोसाँधमा परे। काम नलाग्ने कलेजोको ठाउँमा २०७३ मंसिर २२ गते दिदी सानुमैया लागेजुको कलेजोको केही भाग सफल प्रत्यारोपण गरेसँगै बलरामले नयाँ जीवन पाए। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कोरियाली विशेषज्ञको सहयोगमा नेपाली चिकित्सक टोलीले कलेजो प्रत्यारोपण गरेको थियो।

अहिले बलराम र सानुमैया दुवै स्वस्थ छन्। आउँदै गरेको तिहारको उमंगमा अरुजस्तै यी दिदीभाइ पनि निकै रमाएका छन्। परिवारका सदस्यका मृत्युका कारण विगत तीन वर्षदेखि टीका लगाउन नपाएका उनीहरूले कलेजो प्रत्यारोपणपछि पहिलोपटक तिहार मनाउन पाउने भएका छन्। कलेजो दिएर जीवन बचाएका भाइका निधारमा टीका लगाउँदै मखमली माला लगाइदिने कुराले मात्र पनि सानुमैया फुरुंग छिन्।
०००

२०७२ वैशाख १२ गते भक्तपुरको दत्तात्रयमा रहेको मको गलीस्थित पाँचतले पुख्र्यौली घरको तेस्रो तलामा शान्ति छुस्याबाग टिभी हेर्देै थिइन्। अचानक भूकम्प आयो र घर भत्कन थाल्यो। उनी भागेर दोस्रो तलामा ओर्लिन्। त्यसपछि पहिलो तला भासियो। उनी भुइँतलामा खसिन्, माटोले पुरिइन्।

भूकम्पको समयमा परिवारका १२ सदस्य घरमै थिए। उनको भाइ प्रज्वल भने बाहिर थिए। प्रज्वल काका र गाउँलेको सहयोगमा उद्धारमा जुटे। झन्डै चार घन्टाको प्रयासपछि बा–आमाको उद्धार गरे। तर दिदीको अत्तोपत्तो थिएन। उनका दुई काकी र काकाको एक छोराको मृत्यु भयो। दिदी नभेटिँदा उनी उदास बने।

जब साँझ प-यो, शान्तिको आवाज उनकी बहिनी अञ्जनाले सुनिन्, भाइलाई बताइन्। काकाको विशेष सहयोगले भग्नावशेषमा सुरुङ खन्दै उनले रातको ११ बजे दिदीलाई उद्धार गरेर अस्पताल पु-याए। ११ घन्टासम्म अँध्यारोमा पुरिएकी दिदीलाई नयाँ जीवन उपहार दिए।

शान्ति र प्रज्वललाई पनि तिहारले छोएको छ। शान्ति माला र मसलाको तयारीमा छिन्। प्रज्वल उपहारको जोहो गर्दैछन्।

०००
तिहार भन्नेबित्तिकै दिदीभाइको सम्बन्ध, मिलन, साथ र सहयोगका पौराणिक कथा जोडिएर आउँछन्। दिदीले भाइको जीवन जोगाएको अनि भाइले दिदीको जीवन बचाएको माथिका दुई घटना भक्तपुरवासीले अझै बिर्सेका छैनन्। तिहारको समयमा त यी घटना धेरैले सम्झन्छन्।

बलराम नागालाई दिदी सानुमैयाले कलेजो दिएर बचाइन्। वैशाख १२ को भूकम्पमा शान्ति माटोले पुरिइन्। भाइ प्रज्वल, काका र गाउँलेको सहयोगमा उनले नयाँ जीवन पाइन्। यी दुवै दिदीभाइ भाइटीका मनाउन उत्साहित छन्।

‘दिदीको हातबाट टीका लगाउने दिन आउँदैछ, खुसी छु,’ बलराम भन्छन्, ‘मलाई जीवन दिने दिदीले फेरि मलाई मखमली माला लगाइदिनेछिन्। दिदीले दिएको ‘कलेजो’को तुलना मैले दिने कुनै पनि उपहारसँग हुन सक्दैन।’

भाइलाई टीका लगाउने दिन आउँदै गर्दा सानुमाया पनि हर्षित छन्। उनी भन्छिन्, ‘सानैदेखि काखमा बोकेर हुर्काएको भाइलाई नयाँ जीवन दिन पाएँ। उसको बाँकी जीवनका लागि सधैं प्रार्थना गरिरहन्छु।’ भाइको हँसिलो अनुहार देख्दा आफूलाई खुसी लाग्ने उनको भनाइ छ।

भक्तपुरको जगातस्थित घरमा भेटिएका शान्ति र प्रज्वल पनि तिहारको आगमनसँगै हर्षित छन्। तिहार नजिकिँदै गर्दा शान्तिलाई भाइको झनै माया बढेर आउँछ। ‘मेरो जीवन जोगाउन मेरो काकासँगै भाइको योगदान छ,’ उनले भनिन्, ‘जीवन जोगाउने भाइको जीवनरक्षाको प्रार्थना गर्ने पर्व मनाउन पाउँदा खुसी लाग्छ।’

बलराम परिवारका कान्छा छोरा हुन् भने सानुमाया कान्छी छोरी। भाइका लागि अन्य दिदीहरू पनि कलेजो दिन तयार थिए, सानुमायाले नै दिन्छु भनिन्। ‘मेरो श्रीमान्ले पनि मलाई साथ दिनुभयो,’ उनी भन्छिन्, ‘भाइका लागि यति गर्न पाएकोमा निकै खुसी छु।’

दिदीभाइको माया यति गाढा थियो कि कलेजोको प्रत्यारोपणपछि होस आउनेबित्तिकै दिदीले भाइको खबर सोधेकी थिइन् भने भाइले पहिलो बोलीमै दिदी भनेका थिए। ‘मनभरि दिदीमात्र याद आउँथ्यो,’ बलराम भन्छन्, ‘मलाई त दिदी देवताजस्तो लाग्छ।’

शान्ति पनि आफ्नो भाइप्रति असाध्यै अनुगृहित छन्। ‘प्रहरीले समेत उद्धार गर्न डराएको समयमा भाइले प्रहरीको टर्च लाइट, हेलमेट र पिक मागेर उद्धार गरेको सुन्दा मन निकै छोयो,’ उनले भनिन्, ‘आफन्तको त्यो समर्पणसँग रगतको नाताको महत्व कति ठूलो रहेछ भन्ने बुझें।’ भाइ, काका र अन्यको सहयोगले आफ्नो जीवन जोगिएको सम्झिँदैै उनले आफन्तहरु आफूलाई भगवान्जस्तै लाग्ने गरेको बताइन्।

नजिकिँदै गरेको तिहारमा भाइलाई मखमली माला, लाखामरी र अन्य मिठाइ दिने दिदीहरूको योजना छ। भाइले पनि दिदीलाई कपडालगायत उपहार दिने योजना बनाएका छन्। ‘आफ्नो जीवन जोखिममा राखेर भाइले चार वर्षअगाबै नयाँ जीवन उपहार दिइसकेको छ,’ ‘शान्तिले भनिन्, ‘अब त्योभन्दा ठूलो उपहार के हुन सक्छ र ?’
त्यस्तै धारणा राख्छन् बलराम पनि। दिदीको उपहारको तुलना अरु केहीसँग हुन नसक्ने उनको भनाइ छ। ‘दिदीले कलेजो दिएर मलाई तीन वर्ष अगाबै जोगाइसक्नुभयो,’ उनले भने, ‘अब यही जीवनमा दिदीलाई सधैं खुसी राख्नेछु।’

प्रकाशित: ९ कार्तिक २०७६ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App