८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क

उदयपुर - गाईघाटमा अन्तर्राष्ट्रिय मापदण्डको नमुना बसपार्क बन्ने भएको छ। त्रियुगा नगरपालिका–१२ मा सञ्चालित साविक बसपार्कलाई नै स्तरोन्नति गरी चालू आर्थिक वर्षभित्रै थाल्ने तयारी भइहेको बसपार्क प्रदेशकै नमुना बसपार्क हुने सघन सहरी विकास तथा भवन निर्माण डिभिजन राजविराजले जनाएको छ।

बसपार्क निर्माणका लागि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीको समेत टुंगो लगाइसकेको डिभिजन प्रमुख रमेश थिङले बताए। उनका अनुसार तिहारलगत्तै निर्माण सुरु हुने बसपार्क अत्याधुनिक, सुविधासम्पन्न, यातायात व्यवसायीमैत्री र यात्रुमैत्री हुने प्राविधिक इस्टिमेट छ। उनका अनुसार गाईघाट–कदमाहा सडकखण्डसँग जोडिएको बसपार्कमा गाडीहरू पूर्वी नाकाको उत्तर–दक्षिण द्वारबाट प्रवेश र बाहिर जानेछन्।

गाडी पार्किङका लागि दायाँ–बायाँ पूmलबारीयुक्त फराकिला कालोपत्रेयुक्त ‘पार्किङ लट’ बनाइनेछ, जसमा ‘फलामे सेड’ हालिनेछ। भित्री सडक पनि सबैतिर पूmलबारीयुक्त र कालोपत्रे हुनेछन्। बसपार्क भित्रिएका, पार्किङ गरिएका र बाहिरिएका हरेक गाडीको अभिलेख राख्न, नियन्त्रण गर्न र परिचालनको निगरानी गर्न बसपार्कबीच सुविधायुक्त कार्यालय भवन (टर्मिनल बिल्डिङ) बनाइनेछ। जसमा बुकिङ काउन्टर, बस छुट्ने तथा आइपुग्ने समयबारे यात्रुलाई जानकारी गराउन माइकिङसहितको ध्वनि बडापत्र सेवा सञ्चालन गरिनेछ।

त्यस्तै बसपार्कभित्र यात्रु प्रतीक्षालय, घण्टाघर, आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर), खाजा घर, उपभोग्य सामानका ‘सपिङ कवल’हरू र महिला–पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय पनि निर्माण गरिने प्रमुख थिङले जानकारी दिए। बसपार्कभित्र अवैधानिक गतिविधि हुन नदिन तथा सुरक्षार्थ प्रहरी बिट स्थापना गरिनेछ। पाकेटमारी, चोरी, डकैती र अवाञ्छित क्रियाकलापबाट मुक्त राख्न बसपार्कभर क्लोज सर्किट (सिसी क्यामेरा) जडान गरिनेछ, जसको नियन्त्रणकक्ष टर्मिनल भवन र प्रहरी बिटमा राखिनेछ। त्रियुगा नदीकिनारको नदी उकास जमिनमा बन्ने सो बसपार्कको दक्षिणतर्फ तटबन्धसँगै आकर्षक पूmलबारी बनाइनेछ।

५ बिघा क्षेत्रफलमा बन्ने सो बसपार्कको गत वर्षदेखि नै काम थाल्नेगरी प्राविधिक इस्टिमेट तयार गरिए पनि ठेक्का प्रक्रियामा ढिलाइ भएकाले चालू आवदेखि मात्र काम सुरु गर्न लागिएको प्रमुख थिङले बताए। कुल लागत २४ करोडमध्ये बसपार्कको संरचना निर्माणमा मात्र मूल्य अभिवृद्धि करबाहेक १९ करोड २५ लाख रुपैयाँ खर्च हुने प्राविधिक इस्टिमेट बनेको थियो। तर, झन्डै ३४ प्रतिशत कम वा १२ करोड ६१ लाख रुपैयाँमा रमण÷आइएसएनडी जेवीले निर्माणको जिम्मा लिएको डिभिजन कार्यालयले जनाएको छ।

प्रमुख थिङले निर्माण कम्पनीबीच प्रतिस्पर्धामा झन्डै आधा मूल्यमा बनाउने टेन्डर परेपछि नियमानुसार त्यही छनोटमा परेको बताए। ‘हामीले प्रदेशकै नमुना र व्यवस्थित बसपार्क बनाउने गरी बनाएको इस्टिमेटमा भ्याटबाहेक १९ करोड २५ लाख रुपैयाँको संरचना निर्माण गर्ने भन्ने थियो,’ प्रमुख थिङले भने, ‘तर निर्माण कम्पनीहरूबीचको प्रतिस्पर्धामा सबभन्दा कम मूल्य १२ करोड ६१ लाखमा काम सक्छु भन्ने कम्पनीलाई नियमानुसार कामको जिम्मा दिइएको हो।’

त्रियुगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बन्न लागेको बसपार्कले यात्रुलाई सुविधासँगै गाईघाटलाई ‘स्मार्ट सिटी’ बन्न मद्दत गर्ने बताए। गाईघाट बजार सहरी विकास मन्त्रालयद्वारा दुई वर्षअघि घोषित देशभरका २५ व्यवस्थित सहर (स्मार्ट सिटी)मध्ये एक भएको बताउँदै उनले डिभिजनले त्रियुगामा ‘एक सहर एक पहिचान कार्यक्रम’ अन्तर्गत ७५ करोड लगानीमा गत वर्षदेखि विभिन्न संरचना निर्माण थालेको बताए।

‘यो बसपार्क त्रियुगालाई सभ्य र व्यवस्थित सहरको पहिचान दिलाउने प्रमुख प्रोजेक्ट हो,’ प्रमुख प्रशासकीय अधिकृत थापाले भने, ‘सहरको मुख्य चिनारीमध्ये बसपार्क प्रमुख हो, त्यसैले यो अत्याधुनिक बसपार्कले हामी र हाम्रो परिचय बदल्ने अपेक्षा गरेका छौं।’ सहरी विकास मन्त्रालयले एक सहर एक पहिचान कार्यक्रमबाट गाईघाटलाई नमुना सहर बनाउने अभियानमा नगरपालिकाले समन्वय गरिरहेको भन्दै थापाले उदयपुरलाई प्रदेशकै नमुना र सभ्य जिल्लाको पहिचान बनाउन बसपार्क सहयोगसिद्ध हुने विश्वास गरेका छन्।

प्रकाशित: ९ कार्तिक २०७६ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App