coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई विद्यालयको खाता रोक्का

सिञ्जा- चन्दननाथ नगरपालिका जुम्लाले दुईवटा विद्यालयकोे खाता रोक्का गरेको छ।

विद्यालय व्यवस्थापन समिति गठनको लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुईवटा विद्यालयको खाता रोक्का गरेको हो।

चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा प्रमुख कान्तिका सेजुवालको आदेशमा रोक्का गरिएको छ। गएको साउन महीनाको ३ गते नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको भन्दै नयाँसमिति गठन गर्न परिपत्र गरेको थियो।

नगरपालिकाभित्र रहेका १९ वटा विद्यालयमध्ये चन्दननाथ र कर्णाली माविले समिति गठन गर्न अटेर गरेको भन्दै नगरपालिकाले विद्यालयको खाता रोक्का गरेको छ। नगरपालिकाले खाता रोक्का गरेका कारण चन्दननाथ माविका ३० जना शिक्षक र ४० जना ज्याला मजदूरले यस वर्षको दसैँ मनाउन पाएनन्।

जिल्ला बाहिरका शिक्षकलाई ३० देखि ५० हजार रुपैयाँ विद्यालयको आन्तरिक खाताबाट दिएर दसैँ मनाउने वातावरण सिर्जना गरिएको चन्दननाथ नमूना मावि जुम्लाका प्रधानाध्यापक टङ्क महतले जानकारी दिए।

शिक्षकमाथि नगरपालिकाले अमानवीय व्यवहार गरेको भन्दै उनले तिहारसम्म तलब निकासा नभए अदालत जाने उनको भनाइ छ। श्रम गरी जीवन जीउने शिक्षकलाई दसैँमा नगरपालिकाले हालत विजोग बनाएको महतले बताए। विद्यालयमा कार्यरत शिक्षकले तलब भत्ता नपाउँदा यस वर्षको दसैँ ऋण गरी मनाएको उनको भनाइ छ। विद्यालय व्यवस्थापन समितिको विषयलाई जोडेर विद्यालयको खाता रोक्का गर्नु नगरपालिकाले गैरजिम्मेवार काम गरेको उनको आरोप छ।

यसैगरी कर्णाली मावि अनामनगरमा कार्यरत १९ जना शिक्षकले तलब पाएका छैन भने विशेष कक्षाका ३४ र फिडर छात्रावासका २० जना छात्राका लागि चाहिने रकम नहुँदा उनीहरुलाई समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन बुढ्थापाले बताए। विद्यालय व्यवस्थापनको विषयलाई लिएर नगरपालिकाले दसैँमा शिक्षकलाई निरास र ऋण निकालेर मनाउने अवस्था सिर्जना गरेको उनको भनाइ छ।

अध्यक्ष बुढ्थापाले शिक्षा ऐन २०२८ को नवौँ संशोधनको नियम १२ अनुसार गठित विव्यसको पदावधि तीन वर्ष रहने र नगर शिक्षा कार्यविधि २०७५ मा पनि सोही व्यवस्था भएकाले चन्दननाथ नमूना माविका अध्यक्ष र आफ्नो कार्यकाल नसकिएको जानकारी गराए। २०७४ सालमा गठन भएको विव्यसको समयवधि अझै एक वर्ष बाँकी रहेको बुढ्थापाले बताए तर नगर शिक्षा समितिले सिधै विव्यस भङ्ग गरी नयाँ गठन गर्न साउन ३ मा परिपत्र गरेको थियो।

शिक्षा ऐनको व्यवस्था र परिपत्रबीच कुरा बाँझिदा विव्यस गठन गर्न नसकिएको उनको भनाइ छ। आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेकाले तत्काल नयाँ समिति गठन नहुने बुढ्थापाले बताए। न्यायका लागि अदालतमा जाने भन्दै उनले स्थानीय सरकार आइसकेपछि अप्ठ्यारो बनाएको आरोप लगाए।

प्रमुख कान्तिका सेजुवालका अनुसार भदौ मसान्तसम्म सबै विद्यालयमा नयाँ विव्यस गठन गर्न पनि परिपत्र गरिएको भन्दै १९ विद्यालयमध्ये दुई विद्यालयले तीन पटकसम्म ताकेता गर्दा पनि विव्यस गठन नगरेको बताए।

नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नभएको भन्दै उनले दुई वटा विद्यालयको खाता रोक्का गरिएको बताए। नगरपालिका एक संवैधानिक अङ्ग हो। उनले भने, नगर शिक्षा समितिको निर्णयलाई अवज्ञा गरेका कारण बाध्यात्मक अवस्थामा खाता रोक्का गरिएको जानकारी गराए।

कार्यपालिकाको निर्णयलाई कार्यान्वयन नगर्नु विद्यालयले अटेरी गरेको उनको भनाइ छ। अदालतको बाटो खुला रहेको भन्दै उनले अदालत जान पाउने अधिकार रहने बताए। रासस

प्रकाशित: ८ कार्तिक २०७६ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App