८ वैशाख २०८१ शनिबार
राजनीति

अठारौँ नाम सम्मेलन सुरु : प्रमले सम्बोधन गर्ने

file photo

अजरबैजान- असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औँ शिखर बैठकको उद्घाटन सत्र राजधानी बाकुको कङ्ग्रेस सेन्टरमा आरम्भ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सत्रमा भाग लिएका छन्।

बाकु कङ्ग्रेस केन्द्रमा आइपुग्दै प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि थिइन्।

प्रधानमन्त्री ओलीले नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्णसत्रलाई सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनहरुका प्रतिनिधि सहभागी छन्।

शिखर बैठकको उद्घाटन गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकाृलस मदुरोले गरेका थिए। उद्घाटनपछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियभलाई सदस्य मुलुकका सहभागी प्रतिनिधिमण्डलका अध्यक्षहरुले सर्वसम्मतिका आधारमा आउँदो तीन वर्षका लागि नयाँ अध्यक्ष चुनेका छन्।

संयुक्त राष्ट्र सङ्घको महासभाका अध्यक्ष तिजानी मुहम्मन बान्देले पनि उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए। उनले असंलग्न अभियानलाई आधुनिकीकरणको आवाज बन्न तथा अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा प्रवद्र्धन गर्न आग्रह गरे।

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि राष्ट्र सङ्घका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन्। रासस

प्रकाशित: ८ कार्तिक २०७६ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App