८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेद्वार छान्दै राजनीतिक दल

खाँदबारी- आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सङ्खुवासभाका राजनीतिक दल उम्मेदवार छान्न होमिएका छन्। रिक्त रहेको मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि उम्मेद्वार छान्न दलहरु व्यस्त छन्।

स्थानीय तहमा उपनिर्वाचन हुने भएपछि राजनीतिक दल चुनावी मैदानमा होमिएका हुन्। आसन्न उपनिर्वाचनका लागि राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिन थालेका छन्। मकालुका अध्यक्षको गाडी दुर्घटनामा निधन भएको थियो भने खाँदबारी–३ का वडाध्यक्षको हृदयघातबाट मृत्यु भएको थियो।

मकालुका अध्यक्ष खड्गबहादुर कटुवाल २०७४ माघ २९ गते र खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको २०७४ फागुन १३ गते मृत्यु भएको थियो। गाउँपालिका अध्यक्ष र वडाध्यक्षको पद रिक्त भएपछि अहिले कार्यवाहकका भरमा चलेको छ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काङ्ग्रेस उम्मेदवार टुङ्ग्याउने तरखरमा छन्।

काङ्ग्रेस उम्मेदवारका लागि छलफलमै जुटिरहेको छ। नेकपाले वडाध्यक्षका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। नेकपाको सर्वसम्मत निर्णयले भरत घिमिरेलाई उठाउने निर्णय गरेको वडा समितिका अध्यक्ष भानु पराजुलीले बताए। काङ्ग्रेसले भने तिहारलगत्तै उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको छ।

चाडबाडलगत्तै सर्वसम्मत उम्मेदवार चयन गरेर नाम सार्वजनिक गर्ने काङ्ग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताए। यसअघिको निर्वाचनमा दुवै पदमा नेकपा सम्बद्धले जितेको थियो। रासस

प्रकाशित: ८ कार्तिक २०७६ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App