६ वैशाख २०८१ बिहीबार
राजनीति

नौ बुँदे सहमति कार्यान्वयन नगरी बजेट पारित हुन दिन्नाैं: शर्मा

काठमाडौं-सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालीन एओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘नौ बुँदे सहमति कार्यान्वयन गर्न एमाले पार्टी इमान्दर भएन। संसदीय दलको बैठकमा मैले नौ बुँदे सहमति कार्यान्वयन नभई बजेटको पक्षमा मतदान गर्न नहुने प्रस्ताव पेश गरेको छु। त्यो पारित हुन्छ हामी सहमति कार्यान्वयन नभई बजेट पारित हुन दिदैनौं। सहमति कार्यान्वयन गरेर मात्रै बजेट पारित गर्नुपर्छ।’

शर्माले  भूकम्पपछिको पुर्ननिर्माण, संविधानप्रति असन्तुष्ट हरुको माग सम्वोधन गर्न, संविधान कार्यान्वयन र निर्वाचनकालागि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क गर्दै त्यसकालागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए।

उनले भने,  ‘कांग्रेसपनि सहमतिको सरकारमा आउने वातावरण बन्दैछ। हामीले कांग्रेस र एमालेसँग छलफल गरिरहेका छौं। प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा सहमतिको सरकार बनेपनि ठिक छ, कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बने पछि ठिक छ, होइन भने हाम्रा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन पनि तयार छौं।’

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको सबै समस्या हल गर्न नसक्ने दाबी गर्दै मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताए।

नौ बुँदे सहमति कार्यान्वयन नगरे नेकपा एमालेसँगको सम्बन्ध पनि टुट्ने  चेतावनी दिदै सरकारले एक्लै मुलुकको समस्या समाधान गर्छु भनेर सोच्नु उचित नभएको उनले दाबी गरे। उनले सरकारका उपप्रधानमन्त्रीले राष्ट्रको मर्यादा नराखी केटाकेटी कुरा गर्दै हिडेको आरोप समेत लगाए।

 

प्रकाशित: १६ असार २०७३ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App