coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

विश्व घुमिरहने नेपाली

तस्बिर : कृष्पा श्रेष्ठ

आङछिरिङ शेर्पा अर्थात् पर्वतीय पर्यटनका हस्ती । उनको ‘एस ट्रेक ग्रुप’ले पदयात्रा, पर्वतारोहण, चेन होटल, अस्पताल, रक क्लाइम्बिङ वाल लगायत पर्यटनका विविध क्षेत्रमा काम गरिरहेको छ । नेपाल पर्वतारोहण संघको दुईपटक अध्यक्ष भैसकेका शेर्पा दिगो पर्यटनका चिन्तक एवं अभियन्ता हुन् । बेल्जियमका लागि नेपालका कन्सुलरको जिम्मेवारी निर्वाह गरिरहेका आङछिरिङसँग नेपालको हिमाल, पर्यटन व्यवसायलगायतका विषयमा नागरिक परिवारका लागि विश्वमणि पोखरेलअमृत भादगाउँलेले गरेको वार्ता ।

तपाईको परिवारको पृष्ठभूमि नै पर्वतारोहण हो ?
हाम्रो परिवारमा पर्वतारोहणमा लागेको म चौंथो पुस्ता हुँ । जतिखेर नेपालबाट हिमाल चढ्न बन्द थियो त्यतिखेर तिब्बतबाट आरोहण खुलेको थियो । मेरा बाजेहरू सन् १९२० देखि एडविन र म्यालोरीको समूहमा सहभागी भएर सगरमाथा हिमालमा जानु भएको थियो । एडविन र म्यालोरी माथि उकालो लाग्दा मौसम बिग्रेपछि उनीहरू कहिल्यै फर्केनन् ।  

मेरा बाजे हिला थर्के शेर्पा आम्ची हुनुहुन्थ्यो । हिमाली भेकमा जडिबुटीबाट उपचार गर्ने हिमाली डाक्टरलाई आम्ची भनिन्छ । उहाँ सोलुखुम्बुमा मात्र होइन, दार्जिलिङ र कालिम्पोङसम्म पुगेर उपचार गर्नु हुन्थ्यो । बुबा कोन्छोम्बी शेर्पा तेन्जिङ नोर्गे शेर्पाको मिल्ने साथी हुनुहुन्थ्यो । तेन्जिङ तिब्बतको सीमा थामेमा जन्मनुभएको थियो । तर उहाँ हुर्के/बढेको मेरै गाउँ खुम्जुङमा । बुबा गाउँको तालुकदार हुनुहुन्थ्यो ।  

मेरा बाजे र बुबा नेपाली भाषा बोल्न र लेख्न जान्नु हुन्थ्यो । गाउँका मान्छे हिमाललाई देवता मान्छन् । विदेशीहरू हिमाल चढ्न आउँदा गाउँलेलाई मनाउन गाउँका ठूलाठालुको सहयोग लिन्थे । त्यसमा मेरा बाजे र बुबाले सघाउनु हुन्थ्यो । बुबा आरोही नभए पनि विभिन्न पर्वतारोहण समूहमा सहभागी हुनु भयो । उहाँ सर एडमन्ड हिलारीसँग वल्र्ड टुर गर्ने पहिलो शेर्पा पनि हो । खुम्जुङ भएको ‘यतिको टाउको’ को वास्तविकता बुझ्न भनेर हिलारीले बुबालाई लिएर युरोप तथा अमेरिका टुर गराउनु भएको थियो ।

तपाईलाई हिमालको किरो भनिन्छ, पर्वतारोहणमा कसरी आकर्षित हुनु भयो ?
पारिवारिक विरासतले नै पर्वतारोहण क्षेत्रमा आइपुगेँ । परिवारै पर्वतारोहणसँग सम्बद्ध थियो । हाम्रा आफन्त पनि धेरैले हिमाल चढिसकेका थिए । म सोलुखुम्बुको खुम्जुङमा हिलारीले खोलेको स्कुलमा पढ्थेँ । अँग्रेजी राम्रो थियो । एउटा जापानी समूहले नेपालभरका हिमालको फोटो खिच्ने अभियान चलायो । त्यो टोलीमा सरदार हाम्रै गाउँका थिए । यसरी सन् १९६० तिर स्कुलको छुट्टीमा अंग्रेजी अनुवाद गर्न म उनीहरूसँग हिँडे । कञ्चनजंघादेखि अपि हिमालसम्मको बेस क्याम्प पुगेँ । पछि हामीले एसियन एयरलाइन्समार्फत एमआई १७ हेलिकोप्टर ल्यायौं । त्यो हेलिकोप्टर हिमालको बेसक्याम्प बेस क्याम्पमा झार्न टेष्ट ल्याण्डिङ गर्नु पथ्र्यो । त्यसका लागि फेरि हामी १ सय २५ वटा हिमालको बेस क्याम्पमा पुग्यौं ।

सानैदेखि हिमालतिर मोह बढेको हो । पहिला हिमालको अध्ययन गरियो पछि विदेशीलाई पर्वतारोहण गराउन पनि थप पढियो, अध्ययन गरियो । काम गर्दै जाँदा धेरै कुरा सिकियो ।  

तपाई त डाक्टरी पढ्न भारत जानु भएको थियो, हैन र ?
बुबा र काकाहरूले पर्वतारोहण भनेको एकदम कठिन काम हो, तिमीहरू यो पेशामा काम नगर भन्नु भयो । आमा बुबाको सपना थियो–छोरो डाक्टर बनोस् भन्ने । काठमाडौंको अस्कल क्याम्पसमा आइएस्सी पढेपछि सन् १९६३ मा भारतबाट छात्रवृत्ति पाएँ । दरभंगा मेडिकल कलेजमा पुगेँ । त्यहाँ तीन वर्ष पढेँ । जसरी लो अल्टिच्युडको मान्छे हाइ अल्टिच्युडमा जाँदा लेक लाग्छ त्यस्तै अल्टिच्यूडको मान्छे लो अल्टिच्युडमा जाँदा लो लाग्दो रहेछ । त्यहाँ म लगातार बिरामी भएँ । त्यहाँका प्रोफेसरले मलाई भने, ‘मिस्टर शेर्पा तिमीलाई यहाँको हावापानी फाप्दैन ।

तिमी डाक्टर भएर गयौ भने पनि रोगी हुनेछौं । मेरो विचारमा एउटा रोगी डाक्टर भएर निस्कनु भन्दा निरोगी मान्छे हुनु राम्रो हो । तिमी हिल्ली मेडिकल कलेजमा ट्रान्सफर हुन सक्छौ भने पढ नत्र काठमाडौं फर्कनु राम्रो ।’  त्यतिबेला पहाडी भुगोलका चण्डीगढ र मसुरीमा मात्र मेडिकल कलेज थिए । तर, त्यहाँ ट्रान्सफर हुन सकिँन । काठमाडौं फर्केर पर्यटनमा लागेँ । परिवार त डाक्टर बन्नै जोड गरिरहेको थियो । तर, म पर्यटनमै रमाएँ । अहिले जुन पेशामा छु, यसमै सन्तुष्ट छु ।

हिमालमा के छ त्यस्तो चुम्बकीय आकर्षण ?
नेपालको सबैभन्दा बहुमूल्य सम्पत्ति भनेकै हिमाल हो । पर्वतीय पर्यटनमा हामीसँग संसारका कुनै देशले प्रतिस्पर्धा गर्न सक्दैनन् । सिर्फ हाम्रोमा पूर्वाधार विकास भैसकेको छैन । नीति नियम बनिसकेका छैनन् । अस्थिर राजनीतिले समस्या भएको छ । हाम्रो ठूलो दुर्भाग्य भनेको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु हो । नेपाल एरयरलाइन्स कहिले पनि मजबुत हुन नसक्नु नेपालका लागि अर्को ठूलो दुर्भाग्य हो ।
तिब्बतले पर्वतारोहण र पदयात्रा सिकेको नेपालबाटै हो । तिब्बतमा सन् २००६ मा ३ लाख ६० हजार पर्यटक थिए, त्यहाँको सरकारले पर्यटन नीति पर्यटक, व्यवसायी, समुदाय र मजदुर मैत्री बनायो । पूर्वाधार विकास गर्‍यो । सन् २०१७ मा तिब्बतमा एक करोड १० लाख पर्यटक भित्रेका थिए । त्यसैले नेपालले तिब्बतबाट सिक्न सक्छ ।

बल्ल २० लाख पर्यटक भित्र्याउन नेपाल भ्रमण वर्ष २०२० मनाउँदैछौं । सरकारले पर्यटक बढाउन के–के काम गर्नुपर्छ ?
पहिलो कुरा, नेपाल सरकारले सुरक्षित पूर्वाधार विकासमा जोड दिनु पर्छ । सडक, यातायात, हवाई यात्रा, उपचार सुविधा, होटल, लजको व्यवस्था गर्नुपर्छ । नेपाल वायुसेवा निगमसँग १२ वटा वाइड बडी जहाज हुने हो भने वार्षिक ५०–६० लाख पर्यटक सजिलै भित्र्याउन सक्छौं । र, हाम्रोमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल पनि हुनु पर्छ । विदेशीले राष्ट्रिय ध्वजावाहकलाई विश्वास गर्छन् । डाइरेक्ट फ्लाइट हुँदा भाडा पनि सस्तो हुन्छ । दिगो पर्यटनका लागि राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छ । अन्य विमानस्थल पनि चाँडै बन्नु पर्छ । अर्को कुरा पर्यटनका लागि अत्यावश्यक पूर्वाधारमा लगानी गरेर सरकारले आक्रामक बजारीकरण गर्नुपर्छ ।

तपाईहरूले जहाज थप्न सुझाव दिँदा सरकार के भन्छ ?
हाम्रो सरकार हामीले भन्दा विदेशीले भनेका कुरा छिटो सुन्छ । आफूले पनि जानेको छैन, अरुको पनि सुझाव नसुन्ने पवृत्ति व्युरोक्रेसीमा छ । अहिले त बुढो हाकिम भन्दा युवा हाकिम ट्यालेन्ट छन् । तर, तिनले मौका पाएका छैनन् ।

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्दा के हुन्छ ?
निजीकरण गर्‍यो भने धेरै सुधार हुन सक्छ । नेपाल एयरलाइन्सको बोर्डमा म डेढ वर्ष बसेको थिएँ । मेरो अनुभवमा त्यहाँ जाने बुझेको मान्छे बोर्डमा आयो भने त्यहाँको व्यवस्थापनमा बस्नेहरूले असजिलो मान्छन् । मैले ट्वीनवेटर पनि चलाएँ, अरु एयरक्राफ्ट पनि चलाएँ । हामी अपरेटर्स भएपछि कुन कम्पनीको कुन पार्टस कति मूल्य पर्छ भन्ने थाहा हुन्छ । तर, उनीहरू त्यो पार्टसको त यति मात्र पर्नुपर्ने हो यहाँ त यति धेरै लेखिएको छ सोध्दा रिसाउँछन् । त्यहाँ त्यतिखेरै तीन–चारवटा युनियन रहेछ । उनीहरू यसो हुन दिन्न भनेर दिनरातै फोन गर्छन् । त्यहाँ क्रोनिक रोग छ । त्यसको उपचार गर्नुपर्छ ।

यसको म्यानेजमेन्ट विदेशी एयरलाइन्सलाई दियो भने धेरै सुधार आउँछ । सन् १९७० मा नेपाल वायुसेवा फ्रेन्चहरूले चलाउँदा यसले प्रगति गरेको थियो । तिनले छाडेपछि यसको व्यवस्थापन भताभुंग भयो ।  

अहिले तपाईं के–के गरिरहनु भएको छ ?
६७ वर्षको भएँ । बेल्जियमको कन्सुलर पनि छु । सधैं व्यस्त हुन्छु । कहिले हिमालको विषयमा, कहिले पर्यटनको विषयमा बोल्नु पर्छ । कार्यपत्र पेश गर्नुपर्छ । नेताहरू पनि हिमालको प्रतिवेदन लेखिदिनु पर्‍यो भनेर आउँछन् । कहिलेकाहीँ उनीहरू रिसाउँछन् पनि । एकपटक लोकेन्द्र विष्ट पर्यटनमन्त्री हुनुहुन्थ्यो, रुकुमको । उहाँकै आग्रहमा मैले काठमाडौंको मनाङ होटलमा सिस्ने हिमालबारे प्रस्तुति दिएँ । तर, उहाँले बोल्ने बेला रिसाउनु भयो । मैले मुगु र जुम्लाको बीचमा रहेको सिस्ने हिमालको कुरा गरेँ । मन्त्रीजीले भन्नु भयो, ‘मेरो झ्यालबाट देखिने हिमाललाई मुगु पुर्‍याउने ?’ उहाँको रुकुमबाट देखिने हिमाल  त सिस्ने रेन्ज मात्र हो ।

तपाईको कम्पनीमा कति रोजगार छन् ? कसरी चलाइरहनु भएको छ ?
पञ्चायत कालमा ट्रेकिङ कम्पनी खोल्न गाह्रो थियो । कि त राजपरिवारसँग सम्बद्ध हुनु पर्‍यो कि त मन्त्री सचिव हुनु पर्‍यो । सर्वसाधारणले खोल्नै सक्दैनथे । एसियन ट्रेकिङ स्याङ्जाका एक जना माननीय र अर्का एक गुरुङले दर्ता गरेका रहेछन्, त्यो लाइसेन्सका कागज २ लाख २५ हजार रुपैयाँमा किनेको हुँ ।

आज कम्पनी धेरै ठूलो भैसक्यो । करिब ४ सय ५० जना रोजगार छन् । नेपाल र तिब्बतमा पर्वतारोहण गर्छौं । त्यसबाहेक पर्वतारोहणमा सिजनअनुसार हायर गरिन्छ । अहिले छोराहरूले हयाण्डल गर्छन् । हामीले परम्परागत हिसाबले चलाएका थियौं । अहिलेका युवाको सोचाइ नै फरक छ । उनीहरूसँग नयाँनयाँ आइडिया छ । आधुनिक प्रविधिको प्रयोगले उनीहरू काम गरिरहेका छन् । अर्को महत्वपूर्ण कुरा, हामीले कर्मचारीलाई आफ्नो सम्पत्ति मानेका छौं । खुसी राखेका छौं । कर्मचारीलाई जति खुसी राख्यो, त्यति हाम्रो व्यापार बढ्छ ।

नेपालका सबै पिक खुल्ला गर्नुपर्छ भन्ने माग सुनिन्छ, यसमा तपाईको भनाइ ?
नेपालले ५ हजार ८ सय मिटर माथिका चुलीलाई पिक मानेको छ । त्यस हिसाबले नेपालमा १७९२ वटा पिक छन् । तीमध्ये ४ सय ३ वटा खुला गरिएको छ । अब १३९९ पिक खुला हुन बाँकी छन् । पर्वतारोहीको मागअनुसार खुल्ला गर्दै जानु पर्छ भन्ने मलाई लाग्छ । यसबाट राज्यलाई फाइदा पुग्छ ।  

यसपाला सगरमाथामा जाम भएको खबर आयो नि ?
हिमाल चढ्ने समय एप्रिल र मे महिना हो । आरोहणका लागि सगरमाथाको टुप्पोसम्म डोरी टाँगिन्छ । यसपाला हिउँ परेको पर्‍यै भयो । समयमै क्याम्प खडा गर्न नसक्दा एक हप्तासम्म ढिलो भयो । सबै आरोही एकैचोटी माथि जान खोज्दा मान्छेको लाइन लामो भयो । ट्राफिक जाम हुँदा नेपाल लज्जित हुन पुग्यो । सबै कम्पनीसँग राम्रो समन्वय भएको भए यस्तो अवस्था आउन सक्ने थिएन । यसबाट हामीले पाठ सिक्नु पर्छ ।

हिमालमा फोहोर थुप्रिएको गुनासो सुनिन्छ नि ?
हामी सन् २००८ देखि इको एभरेष्ट एक्सपिडिसन सफाइ अभियान चलाइरहेका छौं । हामीले पर्वतारोहीहरू फर्कँदा जति फोहोर लिएर बेस क्याम्प आउँछन्, त्यसलाई जोखेर किन्छौँ । २० किलो फोहोर लिएर आए भने तीन हजार रुपैयाँ दिन्छौं । हामीले फोहोर सफा गरेका छौं, अरु हिमाल पनि सफा गर्दै जानु पर्छ । अर्को कुरा सरकारले खटाउने लियाजो अफिसर हिमालमै पुगेर निरीक्षण गरिदिएमा फोहोर नै हुने थिएन ।

समृद्ध नेपालको नारा चलिरहेको छ, पर्यटन बाहेक नेपालले केबाट फाइदा लिन सक्छ ?
नेपालको प्रमुख सम्भावना पर्यटन हो । त्यसबाहेक हाइड्रो र कृषि हो । सरकारले सन् २०१८ मा नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । तर, त्यसको वर्ष दिनपछि समिति गठन भयो । त्यो कमिटी गठन भएको ४ महिनापछि मात्र बजेट आयो । अब कसरी काम गर्ने ? भ्रमण वर्षका लागि १० करोड छुट्टयाएको सुनिन्छ । यति रकम विदेशी टिभीमा विज्ञापन गर्न पनि पुग्दैन । अनि कसरी प्रचार हुन्छ ? यस्तो पाराले कसरी समृद्धि हासिल गर्न सकिन्छ ?

अब पारिवारिक कुरा, परिवारका बारेमा बताइदिनुस् न ?
छोराहरू तीनजना ङिमा, दाबा र तेन्जिङ । दाबा पर्यटनमा लागेको छ । उसले सगरमाथा पनि चढिसकेको छ । ङिमा गार्मेन्टको व्यापार गर्छ र तेन्जिङ भने डाक्टर हो । तर ङिमाको पनि पर्यटनमा रुचि बढेको छ । श्रीमती जो शेर्पा कन्सुलर कार्यालय सम्हालिन्छन् ।

तपाईको दैनिकी कसरी चलिरहेको छ ?
बेलुकी १० बजे सुत्छु । बिहान ४ बजेतिर उठ्छु । उठेपछि व्यायाम गर्छु । दिनभर व्यस्त हुन्छु । धेरै विदेशी साथी हुन्छन् । दिनको ४–५ जना पुराना साथीसँग भेटघाट हुन्छ । ३–४ घण्टा उनीहरूसँगै बित्छ । मैले व्यवसायमा सल्लाह दिन्छु । परिवारले आफ्नै ढंगले काम गर्छन् । तीन पुस्ता भो हाम्रो परिवारले जाँडरक्सी छाडेको । बाजे आम्ची भएकाले खानु भएन । हामीले पनि खाएनौं ।

अब गर्न बाँकी काम के–के छन् ?
हामी जलवायु परिवर्तनसम्बन्धी काम गरिरहेका छौं । म हिमाली क्षेत्रमा सामाजिक काम गर्न चाहन्छु । हिमाली जनजीवनको उत्थान र विकासमा समर्पित हुने रहर छ । जति बाँच्छु सक्रिय भएर बाँच्छु ।

प्रकाशित: ८ कार्तिक २०७६ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App