coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कलाकारको तिहार

काठमाडौं - तिहार नजिकिँदै छ। कतिपय कलाकार तिहारमा सांगितिक कार्यक्रम गर्नका लागि देश बाहिर जाँदै छन् त कतिपय आफ्नै देशमा परिवारसँग तिहार मनाउने योजनामा छन्। झिलिमिली बत्तीसँगै देउसी भैलो खेल्ने साथै नाचगान पनि गर्न पाइने भएकाले अधिकांश कलाकारले तिहार बढी मन पर्ने बताउँछन्।

चर्चित नायक आर्यन सिग्देलले यस वर्षको तिहार आफ्नै निवास थानकोटमा मनाउने योजनामा रहेको बताए। ‘तिहारको लागि बहिनी विदेशबाट आइसकेकी छन्,’ उनले भने, ‘बहिनीको आगमनसँगै नजिकिँदै गरेको रमाइलो पर्वले मन प्रफुल्ल छ, त्यसमाथि तिहार आफूलाई मन पर्ने चाड भएकाले यस वर्षको सपरिवारसहित मनाउने तयारीमा छु।’

भर्सटाइल नायकको उपमा पाएका विपिन कार्कीले पनि आफ्नै घर काठमाडौंमा यस वर्षको तिहार मनाउने तयारीमा रहेको बताए। विराटनगर पुख्र्यौली घर भएका उनले आफूलाई तिहार बच्चैदेखि मन पर्ने बताए। ‘यसपालीको तिहार दिदीसँग काठमाडौंमा मनाउनेछु,’ कार्की भन्छन्, ‘झिलिमिली बत्ती र नाचगानले गर्दा पनि तिहार निकै मन पर्छ।’ बाल्यकालमा जस्तै देउसीभैलो खेल्नका लागि अहिले सोचे जस्तो साथीको समूह नभएकाले देउसी भैलो खेल्न छोडेको उनको भनाइ छ।

लोक गायक बद्री पंगेनीले भने यस वर्षको तिहार दक्षिण कोरियामा मनाउँदै छन्। ‘तिहार सबैलाई मन पर्ने पर्व हो,’ गायक पंगेनी भन्छन्, ‘म यसपालि सांगितिक कार्यक्रमको लागि बाहिर जाँदै छु, समयमै कार्यक्रम सकियो भने टिका थाप्न नेपाल आउँछु नभए कोरियाकै दिदीबहिनीको हातबाट टिका लगाउँछु।’ त्यस्तै गायक खुमन अधिकारी तिहार मनाउन आफ्नै जन्मथलो स्याङजा जाँदै छन्। गायक पशुपति शर्माले पनि तिहार आफ्नै घरमा परिवारसँगै बसेर मनाउने योजनामा रहेको जानकारी दिएका छन्।

नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान ओगट्न सफल नायिका केकी अधिकारीले यसपालिको तिहार काठमाडौंमा मनाउने छिन्। दशैंभन्दा बढी तिहार मन पर्ने बताउने उनले भाइ टीकाको लागि दाजुभाइ पनि काठमाडौंमै रहेको र टीका पनि यही लगाइदिने बताइन्। ‘तिहारमा गाई, कुकुर र कागको पूजा सम्मानपूर्वक गर्ने भएकाले मलाई सबै पर्वमध्ये तिहार असाध्यै मन पर्ने चाड हो,’ उनले भनिन्, ‘झिलिमिली बत्ती, रंगोलीसँगै देउसीभैलो खेलेको हेर्दा बढी रमाइलो लाग्छ।’ त्यस्तै नायिका निता ढुंगानाले यसपालिको तिहार आफ्नै जन्म ठाउँ हेटौंडामा तामझामका साथ मनाउने योजनामा रहेको बताइन्।

तारागाउँ म्युजियमका प्रमुख रोशन मिश्रले बौद्धस्थित आफ्नै घरमा दिदीसँग तिहार मनाउँदै छन्। दशैंको तुलनामा तिहार बढी मन पर्ने बताउँदै उनले भने, ‘मेरो तिहार मनाउने तरिका अलिक फरक छ, हरेक वर्षको तिहारमा म लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइ टीकाको दिनको बेलुका सहरमा घुम्न निस्किन्छु र चिनेका साथीभाइसँग भेटघाट गरी रमाइलो गर्ने गर्छु।’ तिहारको तीन दिनमात्रै साथीभाइसँग भेटघाट हुने र घुम्न निस्किने मिश्रको यसपालि पनि तिहार मनाउने योजना यहि नै छ। देउसीभैलोको आवाज र लाइटले तिहारको रौनक बढाउने उनी बताउँछन्। आफ्नो स्वर्गीय बुवाले सधैं रङसँग खेल्ने गरेकाले तिहारको समयमा प्रयोग हुने रङ रोगनले आफूलाई बढी छुने उनको भनाइ छ।

कौशी थिएटरकी प्रमुख आंकाक्षा कार्कीले पनि यस वर्षको तिहार काठमाडौंमा मनाउँदै छिन्। आफ्नो भाइ देशबाहिर भएकाले मामाको छोरालाई टीका लगाइदिएर तिहार मनाउने योजना उनको छ। आफूले मासु नखाने भएकाले दशैंभन्दा बढी तिहार मन पर्ने उनी बताउँछिन्। ‘मलाई दशैंको समयमा पशुको हत्या गरी मासु खाएको पटक्कै मन पदैन,’ कार्की भन्छिन्, ‘तिहारका समयमा हुने भेटघाट, रमझम, सेलरोटी पकाउँदा साथै सहर नै झिलिमिली हुँदा तिहार आत्मीय लाग्छ।’ तिहारका बेला भाइ साथमा नहुँदा भने नरमाइलो लागेको उनले बताइन्।

प्रकाशित: ८ कार्तिक २०७६ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App