coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तिहारमा व्यापार बढ्यो

काठमाडौं – भाइटीका आउन अब ६ दिनमात्रै बाँकी छ। भाइटीकाको दिन नजिकिएसँगै तिहारका लागि आवश्यक सामान किनमेल गर्नेको भीड लाग्न थालेको छ। अघिल्ला वर्षको तुलनामा तिहारका लागि आवश्यक पर्ने सामग्रीको मूल्य बढे पनि लगनखेल, इन्द्रचोक, न्युरोड, असनलगायत ठाउँका ठूला पसलसँगै फुटकर व्यापारीसँग सामान किन्नेको घुइँचो नै देखिन्छ।

तिहारका लागि आवश्यक सामान बिक्री गर्ने व्यापारीले भाइमसला (काजु, बदाम, किसमिस, ओखर) को मूल्य अघिल्लो वर्षको जति नै भएको बताए पनि उपभोक्ता भने महँगो भएको गुनासो गर्छन्। काजु, किसमिस, बदाम, ल्वाङ, सुकुमेल, ओखर लगायत सामग्री किन्न खोटाङबाट काठमाडौं आएकी शर्मिला घिमिरे भन्छिन्, ‘गाउँमा भन्दा सस्तो पाइनुपर्ने ठाउँमा यहाँ त झन् छोइनसक्नु रहेछ।’

उनले तिहारका लागि चाहिने दाँते ओखर प्रतिकेजी तीन सय ५० रुपैयाँमा किनेकी थिइन्। उनीसँगै तिहारको लागि किनमेल गर्न आएका फणिन्द्र घिमिरेले तिहारको सामान सस्तो मूल्यमा पाएको भए छोरीचेलीलाई सहज हुने बताए।

ललितपुरस्थित लगनखेल चोकमा व्यापार गर्दै आएका प्रदिप स्टोरका प्रदिप श्रेष्ठले अन्य सामग्रीको बजार भाउ अघिल्लो वर्षकै भए पनि सुकुमेलको भाउ दोब्बर नाघेको बताए। ‘एक वर्षअघि प्रतिकेजी १८ सयमा बेचेको सुकुमेलको भाउ अहिले ४२ सय ५० पुगेको छ,’ प्रदिप भन्छन्, ‘सुकुमेल तिहारका लागि आवश्यक हुनाले ग्राहकले थोरै मात्रामा भए पनि किन्ने गर्छन्।’

उनका अनुसार ल्वाङको मूल्य प्रतिकेजी ११ सय र नरिवलको मूल्य चार सय ५० रुपैयाँ छ। आफूले बिक्री गर्दै आएको काजु, पेस्ता, बदाम, छोडा, पान मिश्री लगायत सामानको मूल्य भने पुरानै भएको उनले दाबी गरे।

ललितपुरको इमाडोलबाट तिहारको सामान किन्दै गरेकी कमला घिमिरेले अघिल्लो वर्षभन्दा सामान महँगो भएको र तिहारको चहलपहल पनि कम भएको बताइन्। लगनखेलमा सामान किन्दै गरेकी उनले अघिल्लो वर्षभन्दा भीडभाड कम भएकाले आवश्यक सामग्री सजिलै पाएको बताइन्।

तिहारलाई लक्ष्य गरेर ढाका टोपी, भादगाउँले टोपी, रुमाल, मफलर लगायत सामान बिक्रीका लागि बसेका इमाडोलका देविन विष्टले पनि यस वर्ष खासै चहलपहल नभएको दाबी गरे। तिहारको समयमा अलिकति मूल्यमा कटौती गरेर टोपी बेच्ने गरेको उनले बताए। उनले पसलमा एक सय २५ रुपैयाँदेखि तीन सय ५० रुपैयाँसम्म पर्ने टोपी बिक्रीमा राखेका छन्।

तिहारसँगै म्ह पूजाका लागि कटुस, कालो भटमास, ओखर लगायत सामान अनिवार्य चाहिन्छ भन्दै किन्दै गरेकी सरिता श्रेष्ठले पनि अघिल्ला वर्षमा जस्तो यस वर्ष चहलपहल नभएको र म्ह पूजाका लागि आवश्यक सामग्री सुपथ मूल्यमा पाएको बताइन्। ललितपुरको टंगल बजारमा कपडाको माला बेच्न बसेकी गीता चित्रकारले मालाको व्यापार सन्तोषजनक भएको बताइन्। उनले एक सयदेखि ६ सय रुपैयाँसम्मका कपडाका माला बिक्रीमा राखेकी छन्। तर गत वर्ष जत्तिको व्यापार नभएको उनले बताइन्। न्युरोडमा सप्तरंगी टीकाको व्यापारका लागि बसेका रामशरण मगरले मानिसको भीडभाड बढे पनि खासै व्यापार नभएको बताए।

बजारमा बिहान ९ बजेदेखि नै भीड सुरु हुन थालेको छ। असनका सडकछेउका स्थायी रुपमा राखिएका पसल मात्र होइन, सडकमा उभिएर, ठेलामा राखेर, टाउकामा राखेर, साइकलमा राखेर बिक्री गर्नेको भीड पनि थामिनसक्नु छ। मान्छेको भीड सडक र पसलमा उस्तै छ। तिहारका लागि किनमेल गर्न डल्लुबाट असन बजार आएकी लक्ष्मी श्रेष्ठले लाइनमा बसेर सामान किनेको बताइन्। उनले पनि तिहारमा आवश्यक सामानको मूल्य अघिल्लो वर्षको तुलनामा केही मात्रामा बढेको बताइन्। तिहारका लागि अधिकांश सामग्री भारतबाट ल्याउने हुँदा भन्सारका कारण पनि मूल्य बढेको असनका व्यापारी बताउँछन्।

प्रकाशित: ८ कार्तिक २०७६ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App