८ वैशाख २०८१ शनिबार
समाज

सीमामा तस्करी बढ्यो

रौतहट – नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्डतिर गएको बेला नेपाल–भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण–पश्चिम नाकामा तस्करी बढेको हो।

राजपुरमा भएको बमकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरी मुख्य गरी सुरक्षा व्यवस्था मिलाउन र अनुसन्धानमा व्यस्त रहेको मौकामा रौतहटका विभिन्न नाका हुँदै पटका, कपडा र किराना सामानको तस्करी बढेको देखिएको छ। सबैभन्दा बढी रौतहटको बेलबिछवा, गौर, महादेवपट्टी, बन्जरहा, औरैया र बंकुल नाकाबाट अत्यधिक मात्रामा तस्करी फस्टाएको देखिएको हो। यसै गरी तस्करले रामपुर खाप र मठिया महुलिया नाकाबाट पनि तिहार र छठका बेला बिक्री हुने बस्तुको तस्करी गरिरहेका छन्।

तराई–मधेसका क्षेत्रमा छठका बेला पटका तथा कपडाको माग बढी हुने भएकाले संगठित तस्करले सीमामा रहेका दुवै प्रहरी चौकीलाई प्रभावमा पारेर तस्करी सुरु गरेका हुन्। बुधबार सशस्त्र प्रहरीको बेलबिछवा बोर्डर आउट पोस्टले एक लाखभन्दा बढीको पटका बरामद गरेपछि पटका तस्करीको रहस्य सार्वजनिक भएको हो।

नेपालबाट भारततर्फ हरियो मटर, मरिचलगायत चाइनिज सामानको तस्करी भइरहेको छ भने भारतबाट तयारी कुखुरा र चल्ला, इलेक्ट्रोनिक्स, कपडा, खाद्यान्नलगायत वस्तु व्यापक रूपमा तस्करी भइरहेको छ। विगत सात महिनाको अवधिमा नेपाल प्रहरीले ३ करोड रुपैयाँभन्दा बढीको मालसामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ भने १ सय १७ जनालाई पक्राउ गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यसैगरी तीन महिनाको अवधिमा सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटले झन्डै १ करोड रुपैयाँ बराबरको मालसामान बरामद गरेको छ।

प्रकाशित: ८ कार्तिक २०७६ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App